काठमाडौं । लेखक तथा अनुसन्धानकर्ता खेमराज नेपालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘इलामको नालीबेली’ लोकार्पण गरिएको छ । इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित सम्पन्न कार्यक्रममा शिक्षाविद् एवं पूर्वराजदूत केदारभक्त माथेमा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, सांसद निश्कल राई लगायतका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो । कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि प्रमुख अतिथि माथेमा, सभाध्यक्ष थापा र सांसद राईले गमलामा पानी हालेर समारोहको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा कृतिकार नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले लेखक नेपाललाई बधाई दिँदै इलामको चियाको विशिष्टता र विश्वस्तरमा रहेको उत्कृष्टताबारे चर्चा गर्नुभयो । इलाम नगरपालिकाका प्रमुख थापाले लेखकले सेवानिवृत्त जीवनपछि पनि समाजलाई योगदान पुर्याउने खोज तथा अनुसन्धानमूलक कार्यमा सक्रियता देखाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले ‘इलामको नालीबेली’ को महत्त्वलाई आत्मसात् गर्दै नगरपालिकाले प्रकाशनको जिम्मेवारी लिएको जानकारी दिनुभयो । साथै, इलाममा मेडिकल कलेजको आवश्यकता रहेको धारणा पनि व्यक्त गर्नुभयो । कृतिकार नेपालले इलामको समग्र इतिहास, समाज, संस्कृति र जीवनशैली समेटिएको पुस्तकको अभाव महसुस गरेर आफूले अनुसन्धान गरी कृति तयार पारेको बताउनुभयो । पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा. प्रेमसागर चापागाईंले ‘इलामको नालीबेली’ लाई इलामको इतिहास बुझ्न उपयोगी दुर्लभ दस्तावेजको संज्ञा दिनुभयो । उहाँका अनुसार पुस्तकमा इलामको नामकरण र इतिहासदेखि लिम्बू समुदायको विस्तृत चर्चा, जमिनको वर्गीकरण, भू-उपयोग, तत्कालीन समाज, संस्कृति र धर्मसम्मका विषय समेटिएका छन् । यसका साथै सतीप्रथा, कमारा-कमारी राख्ने व्यवस्था, छुवाछुत तथा श्रम विभाजनजस्ता ऐतिहासिक सामाजिक अभ्यासबारे समेत कृतिमा उल्लेख गरिएको छ । अर्का समीक्षक वरिष्ठ पत्रकार तथा लेखक धर्म गौतमले पनि पुस्तकका विविध पक्षमाथि समीक्षा गर्नुभएको थियो । कार्यक्रममा इतिहासविद् प्राडा. सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुखका रूपमा काम गर्दाको अनुभव स्मरण गर्दै शैक्षिक क्षेत्रको वर्तमान अवस्थाप्रति टिप्पणी गर्नुभयो । उहाँले ‘टिको लगाएर’ प्राध्यापक बन्ने प्रवृत्ति र विद्वान्हरूको प्रशासनमा समेत शिर निहुराउनुपर्ने अवस्थाप्रति व्यंग्य गर्नुभयो । सांसद निश्कल राईले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकारलाई बधाई दिनुभएको थियो । कार्यक्रममा पूर्वसचिवहरू दिनेश थपलिया, भोजराज पोखरेल, लिलामणि पोखरेल, डीबी भट्टराई, विमल वाग्ले र केदार न्यौपाने, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, साहित्यकारहरू डा. तुलसीप्रसाद भट्टराई, धरणीप्रसाद गौतम, डा. शैलेन्दुप्रकाश नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी लगायतको उपस्थिति थियो । इलाम विकास समाजका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेको कार्यक्रममा इलामको वनस्पति तथा विविध प्राकृतिक र सांस्कृतिक सम्पदाबारे समेत चर्चा गरिएको थियो । इलामको इतिहास, समाज, संस्कृति तथा आर्थिक जीवनका विविध पक्षलाई समेटेर तयार पारिएको ‘इलामको नालीबेली’ले जिल्लाको विगत र सामाजिक विकासक्रम बुझ्न महत्त्वपूर्ण सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
‘इलामको नालीबेली’ लोकार्पण

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






