काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौँमा मंगलबार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिए । करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उनको भनाइ छ । कर्मचारीको पारिश्रमीक वृद्धि हुँदा पनि करको भार कम हुनेगरी व्यवस्था गरिएको उनले बताए । पाँच लाख रूपैयाँको सीमालाई बढाएर १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए । भन्सार तथा अन्तःशुल्कलगायतका क्षेत्रमा पनि सुधार प्रक्रिया शुरु गरिएको बताउँदै अघिल्लो वर्ष बजेट तयारीका लागि चार हप्तामात्र समय उपलब्ध भएकाले पर्याप्त तयारी हुन नसकेको उनकाे भनाइ छ । उनले यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै तयारी गरेर थप नीतिगत सुधार अघि बढाइने जानकारी दिए । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई अझ फराकिलो र गहिरो बनाउने सरकारको योजना रहेको उनले बताए । पूर्वाधार सम्मेलनको सन्दर्भमा सरकारले ठूलो स्तरको समग्र कानुनी सुधार (ओम्निबस रिफर्म) अघि बढाइरहेको जानकारी दिँदै उनले यस क्रममा ५० देखि ६० वटा ऐनका करिव ५०० वटा दफा संशोधन गर्ने तयारी भइरहेको उल्लेख गरे । सरकारले अघि बढाएको सुधार प्रक्रिया निरन्तर जारी रहने उनको भनाइ थियो । भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइसकेको र सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम सार्वजनिक गरिएको उनले बताए । विगतमा विकृति र अनियमितताका कारण समस्याग्रस्त बनेको सेयर बजारलाई नियामकीय दायरामा ल्याएर दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको उनले उल्लेख गरे । समग्र अर्थतन्त्रलाई लक्षित गरी सरकारले आर्थिक प्याकेजमा पनि काम गरिरहेको उनले जानकारी दिए । आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुधार एकपटकको निर्णयबाट पूरा नहुने उल्लेख गर्दै उहाँले यसलाई निरन्तरको प्रयासका रूपमा लिनुपर्ने बताए । सुधारका क्रममा गल्ती हुन सक्ने, आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने वा अपेक्षित सुधार अपुग हुन सक्ने स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा आवश्यकताअनुसार नीतिगत परिमार्जन गर्दै जाने उनले स्पष्ट पारे ।
आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छः अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on टक्सार





_fjmgjrlinx_3nsOLt5xpc.jpg)
