काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले २०४७ सालपछिको ३५ वर्षमा मुलुकमा केही पनि भएन भन्ने भाष्यको प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। उहाँले विगत ३५ वर्षको सम्पूर्ण जिम्मेवारी एमालेको टाउकोमा थोपर्ने प्रयास भइरहेको भन्दै त्यसको तथ्यसहित प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ। एमालेको राष्ट्रिय भेलाको बन्दसत्रमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष पौडेलले पार्टीले आफ्नो नेतृत्वमा बनेका सरकार र सरकारमा सहभागी भएका अवधिमा गरेका कामको मात्रै जिम्मेवारी लिने स्पष्ट पार्नुभएको हो। ‘४७ सालदेखि यता समयावधि गणना गर्दा ३५ वर्ष भयो होला। तर यो ३५ वर्षको जिम्मा एमालेले लिँदैन। एमालेले आफ्नो नेतृत्वमा बहुमतको सरकारको नेतृत्व गर्दा भएका कामहरूको जिम्मा लिन्छ । अल्पमतको सरकारको नेतृत्व गरेको बेलाको कामको जिम्मा लिन्छ,’ उहाँले भन्नुभयो। उहाँले एमालेले आफ्नो नेतृत्वमा बनेका सरकार, पार्टीको नेतृत्वमा रहेका संयुक्त सरकार तथा अन्य दलको नेतृत्वमा आफू सहभागी भएका सरकारका कामको निश्चित हिस्सासम्म जिम्मेवारी लिने बताउनुभयो। ‘अरू दलहरूको नेतृत्वमा सहभागी भएको छ भने त्यसको पनि निश्चित हिस्सासम्म जिम्मेवारी लिन्छ। ३५ वर्षको समग्र जिम्मेवारी नेकपा एमालेले लिँदैन, लिनुपर्दैन। ३५ वर्षको समग्र जिम्मेवारी एमालेको टाउकोमा थोपर्ने प्रचार हुने गरेको छ। यो प्रचार प्रायोजित प्रचार हो, हामीले प्रतिवाद गर्नुपर्छ,’ पौडेलले भन्नुभयो। उहाँका अनुसार एमालेले २०५२/५३ मा नौ महिना अल्पमतको सरकारको नेतृत्व गरेको थियो भने २०७४ को निर्वाचनपछि बहुमतको सरकारको नेतृत्व करिब तीन वर्ष गरेको थियो। त्यस्तै, एमालेको नेतृत्वमा अन्य दल सहभागी सरकारको नेतृत्व करिब तीन वर्ष ६ महिना र अन्य राजनीतिक दलको नेतृत्वमा बनेका सरकारमा करिब पाँच वर्ष सहभागी भएको उहाँले जानकारी दिनुभयो। यसरी हेर्दा एमालेले करिब १२ वर्ष सरकारको नेतृत्व वा सहभागिता जनाएको उल्लेख गर्दै पौडेलले त्यही अवधिमा भएका काम र त्यसका परिणामको मात्रै पार्टीले जिम्मेवारी लिने स्पष्ट पार्नुभयो। १८ पृष्ठ लामो दस्तावेजमा एमालेका उपलब्धि सार्वजनिक राष्ट्रिय भेलामा उपाध्यक्ष पौडेलले एमालेले विगतमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा भएका काम तथा उपलब्धिहरू समेटिएको १८ पृष्ठ लामो दस्तावेजसमेत प्रस्तुत गर्नुभएको छ। दस्तावेजमा संवैधानिक विकास, आर्थिक तथा सामाजिक रूपान्तरण, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रगतिलाई तथ्याङ्कसहित उल्लेख गरिएको छ। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र ‘परिपूर्ण लोकतन्त्र’ को मान्यताअनुरूप समाजवादउन्मुख आर्थिक तथा सामाजिक विकासको नीति अवलम्बन गरेको दस्तावेजमा उल्लेख छ। गरिबी घटेको र आर्थिक सूचकमा सुधार आएको दाबी दस्तावेजअनुसार २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० सालमा २०.३ प्रतिशतमा झरेको छ। मानव विकास सूचकाङ्क ०.४३७ बाट बढेर ०.६०२ पुगेको तथा प्रतिव्यक्ति आय २०० अमेरिकी डलरबाट २०८२ सालमा १ हजार ५३५ डलर पुगेको उल्लेख गरिएको छ। त्यस्तै, २०४७ सालमा एक खर्ब २० अर्ब रुपैयाँ रहेको कुल गार्हस्थ्य उत्पादन हाल ६६ खर्ब रुपैयाँ पुगेको, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट बढेर २१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट बढेर २६ अर्ब ४८ करोड डलर पुगेको तथ्याङ्क प्रस्तुत गरिएको छ। सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति एमालेले सामाजिक सुरक्षा भत्तालाई आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। दस्तावेजमा २०५२ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता हाल चार हजार रुपैयाँ पुगेको र यसबाट ३६ लाख नागरिक लाभान्वित भएको उल्लेख छ। त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २१ लाख श्रमिक आबद्ध भएको र एक खर्ब २४ अर्ब रुपैयाँ जम्मा भएको जनाइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीको व्यवस्था गरिएको पनि दस्तावेजमा उल्लेख छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय सुधार भएको एमालेको दाबी छ। साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको, औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुगेको तथा बाल र मातृ मृत्युदरमा उल्लेख्य कमी आएको प्रतिवेदनमा उल्लेख छ। स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको पनि पौडेलले प्रस्तुत गर्नुभएको दस्तावेजमा समेटिएको छ। त्यस्तै, तीन तहका जनप्रतिनिधिमूलक संस्थामा करिब ४१ प्रतिशत महिला प्रतिनिधित्व पुगेको, निजामती सेवामा महिलाको सहभागिता २९ प्रतिशत रहेको र ४५ लाख महिलाको नाममा घरजग्गाको स्वामित्व कायम भएको उल्लेख छ। सडक, पुल र ऊर्जा क्षेत्रमा विस्तार भौतिक पूर्वाधार विकासतर्फ देशभरको सडक सञ्जाल ८ हजार ३२८ किलोमिटरबाट बढेर एक लाख १० हजार किलोमिटर पुगेको दस्तावेजमा उल्लेख छ। तुइन विस्थापन गरी एक हजार ४२३ वटा झोलुङ्गे पुल र ९१५ वटा पक्की सडक पुल निर्माण गरिएको, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तथा जयनगर–जनकपुर रेल सेवा सुरु भएको उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। थानकोट, सिद्धबाबा तथा काठमाडौं–निजगढ द्रुतमार्गका सुरुङमार्ग निर्माणका कामले नेपाललाई सुरुङ युगमा प्रवेश गराएको एमालेको दाबी छ। ऊर्जा क्षेत्रमा विद्युत् जडित क्षमता २२७ मेगावाटबाट बढेर चार हजार १२० मेगावाट पुगेको र विद्युत् पहुँच १० प्रतिशतबाट बढेर ९९ प्रतिशत पुगेको दस्तावेजमा उल्लेख छ। लोडसेडिङ अन्त्य हुनुका साथै भारततर्फ तीन हजार ७७७ गिगावाट घण्टा विद्युत् निर्यात भइरहेको पनि प्रतिवेदनमा जनाइएको छ। कृषि, वन र डिजिटल सेवामा पनि उपलब्धि कृषि क्षेत्रमा धान उत्पादन ३० वर्षको अवधिमा ३३ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको एमालेले जनाएको छ। वन क्षेत्र ३९ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको र ८५ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच विस्तार भएको दस्तावेजमा उल्लेख छ। नागरिक एपसहित डिजिटल सेवाको विस्तार, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण, चोभार सुक्खा बन्दरगाह सञ्चालन, दैलेखमा ग्यासखानी परीक्षण तथा निर्यात व्यापार एक खर्ब रुपैयाँ नाघ्नुलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। भूकम्पपछिको पुनर्निर्माण र शान्ति प्रक्रियामा योगदान २०७२ सालको विनाशकारी भूकम्पपछि करिब आठ लाख निजी आवास, सात हजार ५२ विद्यालय र ६४० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको दस्तावेजमा उल्लेख छ। त्यस्तै, २०५२ सालमा सुरु गरिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई स्थानीय विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ। संविधानसँग बाझिएका २०० भन्दा बढी कानुन संशोधन गरी सङ्घीयता संस्थागत गर्न भूमिका खेलेको तथा सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन पहल गरिएको एमालेको प्रतिवेदनमा उल्लेख छ। परराष्ट्र सम्बन्ध र सीमा सुरक्षामा उपलब्धि परराष्ट्र सम्बन्धमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नीतिअनुरूप नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिइएको पौडेलले उल्लेख गर्नुभएको छ। भारतको नाकाबन्दीको सम्मानजनक समाधान, चीनसँग समुद्री बन्दरगाह प्रयोगसम्बन्धी सम्झौता तथा भारतसँग जलमार्गसम्बन्धी सम्झौतालाई एमालेले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। त्यस्तै, सीमा सुरक्षाका लागि २०८ स्थानमा बोर्डर आउट पोस्ट स्थापना गरिएको तथा सङ्घीय संसद्बाट सर्वसम्मत रूपमा संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा प्रकाशन गरिएको विषयलाई पनि दस्तावेजमा प्राथमिकताका साथ समेटिएको छ। प्रतिवेदनमा एमालेले सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण पहल गरेको दाबी गरिएको छ। ‘तथापि, हामीले हाम्रो पार्टी सरकारको नेतृत्वमा रहँदा वा सरकारमा सहभागी हुँदा आर्थिक–सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएका छौँ। त्यस अवधिमा, विशेषगरी पार्टी सरकारको नेतृत्वमा रहेको अवधिमा भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन्,’ प्रतिवेदनमा भनिएको छ। उपाध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको दस्तावेजमार्फत एमालेले विगत ३५ वर्षको राजनीतिक तथा आर्थिक विकासको समग्र जिम्मेवारी एउटै दलमाथि थोपर्न नहुने तर्क गर्दै आफूले सरकारको नेतृत्व वा सहभागिता जनाएको अवधिका काम र उपलब्धिको आधारमा पार्टीको मूल्याङ्कन गर्नुपर्ने धारणा अघि सारेको छ।
आफूले नेतृत्व गरेकाे सरकारका कामको जिम्मा एमालेले लिन्छ : विष्णु पौडेल

Read Complete Original Article
Published originally on जनताटाइम्स






