काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरमा नेपाली खेलाडीको नाम समावेश गरिएको हो । आगामी सिजनको अक्सनका लागि विश्वभरबाट कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमध्ये ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन् । विदेशी खेलाडीको सूचीमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बाट समान १०-१० खेलाडीले नाम दर्ता गराएका छन् । नेपालभन्दा बढी खेलाडी दर्ता गराउने एसोसिएट राष्ट्रमा अमेरिकामात्रै छ । अमेरिकाबाट १३ खेलाडीले नाम दर्ता गराएका छन् । यस्तै, नेदरल्याण्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्याण्डबाट समान दुई खेलाडी अक्सनका लागि दर्ता भएका छन् । समग्रमा अक्सन रजिस्टरमा ४२ एसोसिएट राष्ट्रका खेलाडी समेटिएका छन् । अक्सनअघि विभिन्न फ्रेन्चाइज टोलीले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन् । त्यसपछि बाँकी रहेको स्थानका लागि अक्सन हुनेछ । उपलब्ध विवरणअनुसार अक्सनबाट अधिकतम ६६ खेलाडी छनोट हुनेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । नेपालबाट १० खेलाडीले नाम दर्ता गराए पनि उनीहरूमध्ये कति जना अन्तिम अक्सन सूचीमा समावेश हुन्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ । अन्तिम सूचीमा परेपछि मात्रै नेपाली खेलाडीले आइपिएलका विभिन्न फ्रेन्चाइज टोलीबाट छनोट हुने अवसर पाउनेछन् ।
आइपिएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






