जनकपुरधाम। भारतको अयोध्याबाट प्रस्थान गरेको सरयू–कमला एक्स्प्रेस जनकपुरधाम आइपुगेको छ। रेल जनकपुरधामस्थित रेलवे स्टेसनमा पुग्दा जनप्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। रेलको स्वागतका लागि संघीय सरकारका प्रतिनिधि एवं युवा तथा श्रम रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका मेयर मनोजकुमार साह तथा स्थानीय सुरक्षा निकायका प्रतिनिधि स्टेसन पुगेका थिए। उनीहरूसँगै संघीय सांसद र मधेश प्रदेशसभाका सांसद पनि स्वागतका लागि उपस्थित थिए। अयोध्या र जनकपुरधामबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने रेल सेवाको आगमनलाई दुई क्षेत्रबीचको सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। सोमबार प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत हरियो झण्डा देखाएर सरयू–कमला एक्स्प्रेसको शुभारम्भ गरेका थिए। भारतबाट करिब १ हजार २०० तीर्थयात्री लिएर आएको रेल जनकपुरधाम पुग्दा स्टेसनमा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । स्थानीयले ‘जय श्रीराम’को नारा लगाउँदै तीर्थयात्रीको स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री यादवले रेल सेवा जनकपुरधामका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसले नेपाल–भारत सम्बन्ध विस्तार गर्नुका साथै दुई देशबीचको आत्मीयतालाई थप बलियो बनाउने उनको भनाइ थियो। नेपाल र भारतबीच पौराणिक कालदेखि नै सांस्कृतिक, परम्परागत र धार्मिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले रेल सेवाले त्यसमा नयाँ आयाम थप्ने बताए। मुख्यमन्त्री सरोजकुमार यादवले रेल सेवासँगै हवाई सेवा पनि सञ्चालनमा ल्याउनुपर्ने माग गरे। उनले भारतबाट नेपाल आउने भारतीय सवारीसाधनलाई भन्सार छुट दिनुपर्ने बताउँदै भारतीय सवारीसाधनलाई आवतजावतमा अनावश्यक दुःख दिने गरिएको गुनासो गरे। आवतजावतमा हुने असहजताले विवाहलगायत पारिवारिक सम्बन्धमा समेत असर परेको उनको भनाइ थियो। तीर्थयात्रीमा उत्साह भारतबाट रेलमा आएका तीर्थयात्रीले सेवा सञ्चालनसँगै नेपाल–भारत सम्बन्धले नयाँ उचाइ लिने बताएका छन्। उनीहरूले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप बलियो हुनुका साथै तीर्थयात्रा सहज हुने विश्वास व्यक्त गरे। रेल सेवा सञ्चालनसँगै जनकपुरधाममा पर्यटकीय गतिविधि बढ्ने स्थानीयवासीले अपेक्षा गरेका छन्। उनीहरूले थप पर्यटकीय गन्तव्यको पहिचान र विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। भारतको कोलकाताबाट अयोध्या हुँदै जनकपुरधाम आएकी गंगा शर्माले आफू पहिलोपटक जनकपुरधाम आएको बताइन्। नेपाल र भारतबीच सदियौँदेखि सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले रेल सेवाले त्यसलाई थप मजबुत बनाउने बताइन्। जनकपुरधाम आउन पाउँदा आफू निकै खुसी भएको उनको भनाइ थियो। यात्राका क्रममा शाकाहारी खाना प्रसादका रूपमा उपलब्ध गराइएकाले त्यसबाट पनि छुट्टै आनन्द मिलेको उनले बताइन्। रेल यात्रासमेत सहज र रमाइलो भएको उनको अनुभव थियो। अयोध्याबाट आएका मोहित शर्माले यात्रा निकै आरामदायी रहेको बताए । माता सीताको जन्मभूमि जनकपुरधाममा पहिलोपटक पाइला टेक्दा फरक अनुभूति भएको उनले सुनाए। त्यस्तै, अयोध्याबाट आएकी श्वेताले जनकपुरधाम आउने आफ्नो पुरानो चाहना रेल सेवा सुरु भएपछि पूरा भएको बताइन्। पहिलो रेलबाटै नेपाल आउन पाउँदा आफू उत्साहित र खुसी भएको उनको भनाइ थियो । माता सीताको जन्मभूमिमा पहिलोपटक आउँदाको अनुभूति शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन्। पर्यटन र व्यापार बढ्ने अपेक्षा रेल सेवा सञ्चालनसँगै जनकपुरधाममा पर्यटकीय गतिविधि बढ्ने स्थानीयवासीले अपेक्षा गरेका छन्। उनीहरूले थप पर्यटकीय गन्तव्यको पहिचान र विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। जनकपुरधाम र अयोध्या दुवै धार्मिक सहर भएकाले रेल सेवाले दुई सहरबीच आवतजावत सहज बनाउने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनीहरूको भनाइ छ। जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा विस्तारसँगै जनकपुरधाममा पर्यटकीय गतिविधि र व्यापार बढ्ने बताए। भारतबाट आउने तीर्थयात्री तीनदेखि चार दिनसम्म जनकपुरधाममा बस्दा होटल व्यवसाय र किनमेलमार्फत स्थानीय व्यापारमा समेत लाभ पुग्ने उनको भनाइ थियो। तीर्थयात्रीको आतिथ्य गर्न पाउनु जनकपुरवासीका लागि गर्वको विषय भएको उल्लेख गर्दै उनले यसबाट आर्थिक सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने बताए। जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर बजरङ्गप्रसाद साहले पर्यटन आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम भएकाले रेल सेवाले जनकपुरधामको आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा व्यक्त गरे। तीर्थयात्रीलाई सहज सेवा दिएर स्थानीयले यसबाट लाभ लिन सक्नुपर्ने उनको भनाइ थियो। सामाजिक अभियन्ता दिपु ठाकुरले जनकपुरधाम आउने तीर्थयात्रीलाई स्वागत गर्नुका साथै सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए। विश्व हिन्दु परिषद्सँग आबद्ध जङ्गबहादुर सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको बताए। रेल सेवाले दुई देशबीचको आवतजावत सहज बनाउनुका साथै धार्मिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ थियो।
अयोध्याबाट जनकपुरधाम आइपुग्यो रेल, तीर्थयात्रीको भव्य स्वागत

Read Complete Original Article
Published originally on नेपालन्युज




_yjBXnZhBaP.jpg)

