काठमाडौं । करिब १० महिना अर्थात् ३१० दिनदेखि विवादमा रहेको अफ्रिका कप अफ नेसन्स (एएफकन) को उपाधि विवादमा सेनेगलले पुनः जित हासिल गरेको छ । खेलकुदको सर्वोच्च मध्यस्थ निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले सेनेगललाई च्याम्पियन घोषणा गर्ने मैदानको नतिजा पुनः कायम गरेपछि मोरक्कोको उपाधि खोसिएको छ । कासले अफ्रिकी फुटबल महासंघ (काफ) को अपिल बोर्डले यसअघि गरेको निर्णय उल्टाउँदै सेनेगलको १–० को जितलाई मान्यता दिएको हो । यससँगै सेनेगलले सन् २०२५ को अफ्रिका कपको उपाधि पुनः प्राप्त गरेको छ । गत जनवरी १८ मा मोरक्कोको राजधानी रबातमा भएको फाइनलमा सेनेगलले अतिरिक्त समयमा गोल गर्दै मोरक्कोलाई पराजित गरेको थियो । खेलको अन्तिम समयमा मोरक्कोले पेनाल्टी पाएपछि विवाद चर्किएको थियो । त्यसको विरोधमा सेनेगलका खेलाडी केही समय मैदानबाट बाहिरिएका थिए । करिब १४ मिनेटपछि खेल पुनः सुरु भएको थियो । मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीमा गोल गर्न सकेनन् भने अतिरिक्त समयमा पापे गुएयेले निर्णायक गोल गर्दै सेनेगललाई १–० को जित दिलाएका थिए । तर, खेलपछि मोरक्कोले सेनेगलले मैदान छाडेर खेल अवरुद्ध गरेको भन्दै काफ र फिफासमक्ष उजुरी गरेको थियो । त्यसपछि काफको अपिल बोर्डले मार्च १७ मा सेनेगलले फाइनल गुमाएको ठहर गर्दै मोरक्कोलाई ३–० को जितसहित च्याम्पियन घोषणा गरेको थियो । सेनेगलले उक्त निर्णयविरुद्ध मार्च २५ मा कासमा अपिल गरेको थियो । कासको तीन सदस्यीय इजलासले रेफ्रीले खेल पुनः सुरु गर्ने निर्णय आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ठहर गरेको छ । दुवै टोली मैदानमा फर्किएर खेल जारी राख्न सहमत भएपछि रेफ्रीले खेल सुरु गराएको भन्दै कासले त्यसमा कानुनी त्रुटि नभएको निष्कर्ष निकालेको हो । यद्यपि, उपाधि विवाद भने पूर्ण रूपमा टुंगिएको छैन । मोरक्को फुटबल महासंघले कासको निर्णयप्रति असन्तुष्टि जनाउँदै मध्यस्थताको प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ । विशेषगरी निर्णय आउनुभन्दा ४८ घण्टाअघि कासका मध्यस्थकर्ता उलरिख हास र सेनेगल फुटबल महासंघका अध्यक्ष अब्दुलाये फलबीच सम्पर्क भएको दाबी गर्दै मोरक्कोले थप कानुनी बाटो अपनाउने जनाएको छ । तर सेनेगल फुटबल महासंघले यस्तो सम्पर्क भएको आरोप अस्वीकार गरेको छ । कासले पनि मध्यस्थकर्ता हासले विवादका पक्षहरूसँग कुनै प्रत्यक्ष सम्पर्क नगरेको स्पष्ट पारेको छ । कासको निर्णयलाई स्विट्जरल्यान्डको संघीय सर्वोच्च अदालतमा चुनौती दिन सकिने भए पनि त्यसका लागि सीमित कानुनी तथा प्रक्रियागत आधार आवश्यक पर्नेछ । त्यसैले मोरक्कोले थप कानुनी प्रक्रिया अघि बढाए उपाधि विवाद अझै लम्बिन सक्ने देखिएको छ । यससँगै सेनेगलले दोस्रोपटक अफ्रिका कपको उपाधि जितेको छ भने सन् १९७६ यता उपाधि जित्न नसकेको मोरक्कोको प्रतीक्षा थप लम्बिएको छ ।
अफ्रिका कपमा तमासाः मोरक्कोले उपाधि खोसेको ३१० दिनपछि फेरि सेनेगललाई फिर्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






