काठमाडौं । मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ‘मानव तथा जैवमण्डल कार्यक्रम’ अन्तर्गत घोषणा गरिएका जैवमण्डल आरक्षको महत्त्वबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । यी क्षेत्रलाई दिगो विकास, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको प्रभाव सामना गर्ने अभ्यासस्थलका रूपमा लिइन्छ । यहाँ प्रकृति संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासलाई पनि प्राथमिकता दिइन्छ । युनेस्कोका अनुसार विश्वभर १४५ देशमा ७९७ वटा जैवमण्डल आरक्ष रहेका छन् । यी आरक्षले लाखौँ वर्ग किलोमिटर क्षेत्र समेट्नुका साथै करोडौँ मानिसको जीविकोपार्जन र जीवनयापनमा सहयोग पुर्याइरहेका छन् । जैवमण्डल आरक्षले मुख्यतः तीनवटा उद्देश्य पूरा गर्छन् । पहिलो, वन, वन्यजन्तु, पारिस्थितिक प्रणाली र जैविक विविधताको संरक्षण गर्नु । दोस्रो, वातावरणीय तथा सामाजिक सन्तुलन कायम राख्दै स्थानीय समुदायको दिगो आर्थिक विकासमा सहयोग पुर्याउनु । तेस्रो, अनुसन्धान, वातावरणीय शिक्षा, अनुगमन र तालिममार्फत ज्ञान तथा सीपको विकास गर्नु । यस्ता आरक्षलाई व्यवस्थापनका लागि तीन क्षेत्रमा विभाजन गरिएको हुन्छ । मुख्य संरक्षण क्षेत्रमा प्राकृतिक स्रोत र जैविक विविधताको कडा संरक्षण गरिन्छ । मध्यवर्ती क्षेत्रमा संरक्षणसँग मेल खाने सीमित गतिविधि सञ्चालन गर्न सकिन्छ भने संक्रमण क्षेत्रमा स्थानीय समुदायको सहभागितामा दिगो रूपमा प्राकृतिक स्रोतको उपयोग गरिन्छ । युनेस्कोले सन् २०२१ मा आफ्नो ४१औँ महासभाबाट हरेक वर्ष नोभेम्बर ३ लाई अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस दिवसले प्रकृति संरक्षण र मानव विकासलाई एकअर्काको विरोधी नभई परिपूरक बनाउने सन्देश प्रवाह गर्छ । युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा भने नेपालको कुनै क्षेत्र अहिलेसम्म परेको छैन । यसअघि कन्चनजंगा कन्जरभेसन क्षेत्र र लाङटाङनेशनल पार्कलाई युनेस्कोको जैवमण्डल आरक्ष सूचीमा राख्ने विषयमा प्रयास भएका थिए । The post अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






