साठी वर्षको उमेरमा पनि पहिचानको प्रतिक्षा, तीन पुस्ता नागरिकताविहीन

राजविराज । वृद्ध हुँदै गएको शरीर, अनुहारमा चाउरी, आँखामा थकान र मनमा एउटै चिन्ता-आफू मर्नुअघि नागरिकता पाउँछु कि पाउँदिनँ? साठी वर्षको उमेरमा पनि लक्ष्मी रामको जीवन यही अनुत्तरित प्रश्नको वरिपरि घुमिरहेको छ । उनलाई सबैभन्दा बढी पीडा आफ्नो जीवन नागरिकताविहीन बित्नुको मात्रै छैन, आफूले भोगेको अभाव र अपमानको भारी अब छोराछोरी र नातिनातिनाले पनि बोक्नुपरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-७ का लक्ष्मी रामले बाल्यकालमै बुवा गुमाए । चार-पाँच वर्षको उमेरमा टुहुरो बनेका उनले जीवनका अनेक अभावसँग जुध्दै यहाँसम्म आइपुगे । तर, उमेरले साठी वर्ष पार गर्दा पनि राज्यले उनलाई आफ्नो नागरिकका रूपमा चिन्ने एउटा कागज दिएको छैन । उनको जीवनमा वर्षहरू थपिँदै गए, परिवारको आकार बढ्दै गयो, जिम्मेवारीका पहाड अग्लिँदै गए तर नागरिकताको प्रतिक्षा भने जहाँको त्यहीँ छ । लक्ष्मीको हातमा नागरिकता नहुँदा उनकी श्रीमती, दुई छोरा, बुहारी र छ नातिनातिनासहित १२ जनाको परिवार पहिचानको अभावमा अल्झिएको छ । एउटै घरमा तीन पुस्ता छन्, तर राज्यसँग आफ्नो अस्तित्व प्रमाणित गर्ने आधार छैन । परिवारका सदस्यका लागि नागरिकता एउटा कागज मात्र होइन, उनीहरूलाई अरू नागरिकसरह बाँच्न दिने ढोका हो, जुन वर्षौंदेखि बन्द छ । बाढीले बगाएको घर, समयले नफर्काएको पहिचान लक्ष्मीको परिवारको दुःख आजबाट सुरु भएको होइन । करिब पाँच दशकअघि कोशी नदीमा आएको बाढीले उनीहरूको परिवारलाई आफ्नो थातथलोबाट विस्थापित बनायो । त्यसपछि लक्ष्मीका बुवा रामजी राम विष्णुपुर टोलमा आएर बस्न थाले । बाढीले घरबार खोस्यो, तर परिवारले यही भूमिमा पसिना बगाएर जीवन चलाउने आशा छाडेन । करिब ५० वर्षसम्म उनीहरू त्यही टोलमा बसे । परिवार बढ्दै गयो, आवश्यकता थपिँदै गए । अन्ततः उनीहरू कोशी पश्चिमी नहरको डिलमा सरेर बस्न थाले । ठाउँ फेरियो, बसोबासको अवस्था फेरियो, पुस्ता फेरिए, तर परिवारको पहिचानको समस्या फेरिएन । वर्षौंदेखि यही भूमिमा बस्दै आएको परिवारले आफ्नो स्थायी अस्तित्व प्रमाणित गर्न नसक्नुको पीडा उनीहरूको दैनिक जीवनमा देखिन्छ । परिवारको घरमूली नै नागरिकताविहीन भएपछि त्यसको असर अर्को पुस्तामा पुग्यो । छोराहरूले जन्मदर्ता बनाउन सकेनन्, नागरिकता पाएनन्, विवाह दर्तासमेत गराउन सकेनन् । उनीहरूका छोराछोरी पनि जन्मदर्ताविहीन छन् । समय बित्दै जाँदा यो समस्या एउटा व्यक्तिको नागरिकतामा सीमित रहेन। यसले परिवारका तीन पुस्तालाई एकैपटक गाँज्यो। विद्यालयको ढोकासम्म पुगे, तर भविष्यको बाटो खुलेन लक्ष्मीका दुई छोरा दिलिप राम, ३३, र प्रदीप राम, ३०, ले पनि बाल्यकालमा विद्यालय जाने अवसर पाएनन् । आर्थिक अभाव र पहिचानसम्बन्धी समस्याले उनीहरूको शिक्षाको बाटो थुनियो । आज उनीहरूका आफ्नै छोराछोरीको भविष्यमा पनि त्यही अँध्यारो दोहोरिन थालेको छ ।१४, ११, १०, ९, ७ र २ वर्षका छ बालबालिका जन्मदर्ताविहीन छन् । उनीहरूमध्ये तीन जनालाई विद्यालय पठाउने प्रयास गरिए पनि अरू बालबालिकासरह अवसर र सेवासुविधा नपाउँदा उनीहरूको पढाइप्रतिको उत्साह कमजोर हुँदै गएको दिलिप बताउँछन् । ‘तीन जना बालबालिकालाई विद्यालय पठाउँछौँ । तर अरू बालबालिकासरह सेवासुविधा नपाउँदा दुःख लागेर अब विद्यालय जानै मान्दैनन्,’ दिलिप भन्छन् । उनको भनाइमा बालबालिकाले पढ्न नमान्नु केवल पढाइप्रतिको अरुचि होइन । आफूभन्दा अरू बालबालिकाले पाएका अवसरबाट वञ्चित भएको अनुभूति पनि त्यसमा मिसिएको छ । उनीहरूका लागि विद्यालय जाने उमेर बित्दै छ, तर जन्मदर्ता र पहिचानको समस्या समाधान हुने कुनै निश्चित समय छैन । बुवाले जीवनभर भोगेको अभाव छोराहरूले पनि भोगे । अब नातिनातिनाले समेत त्यही नियती सामना गर्नुपरेको छ । पुस्ता फेरिए पनि अभावको कथा भने उस्तै छ । ज्यालामजदुरीले धानेको परिवार, आशाले धानेको जीवन दिलिप र प्रदीप ज्यालामजदुरी गरेर परिवार पाल्छन् । दैनिक काम पाए चुलो बल्छ, काम नपाए घरखर्च जुटाउन कठिन हुन्छ । नागरिकता नहुँदा गाउँबाहिरका सहरमा गएर काम खोज्नसमेत समस्या हुने उनीहरूको अनुभव छ । उनीहरूका लागि नागरिकता सरकारी कागजमा नाम लेखाउने विषय मात्रै होइन । त्यो रोजगारीको अवसरसँग जोडिएको छ, छोराछोरीको शिक्षा र भविष्यसँग जोडिएको छ, परिवारले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अवस्थासँग जोडिएको छ । तर, आफ्नै पहिचानका लागि उनीहरूले वर्षौं खर्चिनुपरेको छ । वडा कार्यालयदेखि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयसम्म धाउँदा धाउँदै डेढ दशक बितेको उनीहरूको भनाइ छ । उनिहरुले नेतादेखि जनप्रतिनिधि र कर्मचारीसम्म गुहारे । आफ्नो समस्या सुनाए, सहयोग मागे, आश्वासन पाए । तर, समस्या समाधान हुने दिन आएन । ‘बुवाआमालाई पहिचानबिनै मर्ने चिन्ताले बेलाबेला रोएको देख्दा मलाई पिरोलिरहेको हुन्छ,’ दिलिप भन्छन्, ‘पहिचान पाउनका लागि अहिलेसम्म दर्जनौँ नेता, जनप्रतिनिधि र कर्मचारीको खुट्टै ढोगेँ, तर ठोस पहल कसैले गरिदिनुभएन ।’ यो भनाइमा वर्षौंको थकान छ । परिवारको भविष्यका लागि दौडिरहेका छोराको विवशता छ । आफूभन्दा अगाडिको पुस्ताले नागरिकता नपाउँदै जीवन बिताउनुपर्ने हो कि भन्ने डर छ । अनि, आफूले पनि त्यही नियति आफ्ना सन्तानलाई हस्तान्तरण गर्नुपर्ने हो कि भन्ने पीडा छ । कार्यालयका पत्र आए, मुचुल्का उठ्यो, नागरिकताको बाटो खुलेन लक्ष्मीको परिवारले नागरिकता पाउन प्रयास नगरेको होइन । उनीहरूकाअनुसार सुरुमा वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयले पनि प्रक्रिया अघि बढाउन चासो देखाएका थिए । तर, पछिल्लो समय नागरिकताका लागि आवश्यक अनुसूची-७ बमोजिमको सिफारिस नपाउँदा प्रक्रिया रोकिएको छ । वडा कार्यालयले २०८२ माघ १९ गते जन्म र बसोबाससम्बन्धी सिफारिस दिएको देखिन्छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले २०८२ फागुन ५ गते चलानी नम्बर ६८४७ को पत्रमार्फत आवश्यक सहजीकरणका लागि वडा कार्यालयलाई पत्राचार गरेको थियो । त्यसैको आधारमा वडा कार्यालयले २०८३ वैशाख ४ गते स्थानीय २८ जनाको उपस्थितिमा सर्जमिन मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो । लामो समयदेखि त्यही ठाउँमा बसोबास गरिरहेको परिवारको अवस्था पुष्टि गर्ने प्रक्रिया पनि पूरा भएको थियो । जिल्ला प्रशासन कार्यालयले पुनः २०८३ जेठ ४ गते चलानी नम्बर १०२११ को पत्रमार्फत नागरिकता बनाउन आवश्यक सिफारिसका लागि सहजीकरण गरिदिन वडा कार्यालयलाई आग्रह गरेको थियो । तर, त्यसपछि पनि अनुसूची-७ अनुसारको सिफारिस नपाएको परिवारको गुनासो छ । कागजपत्र तयार हुँदै गए, कार्यालयबीच पत्राचार भयो, स्थानीयको उपस्थितिमा मुचुल्का उठ्यो । परिवारले आफ्नो बसोबास पुष्टि गर्नुपर्ने प्रक्रिया पूरा गर्न सहयोग गर्यो । तर, उनीहरूको वर्षौंदेखिको प्रतीक्षा अन्त्य भएन । न्याय खोज्न अदालत पुगे, आदेशपछि पनि प्रतिक्षा कार्यालय धाउँदा धाउँदै थाकेका लक्ष्मी र उनका परिवारले अन्ततः अदालतको ढोका ढकढक्याए । दिलिपकाअनुसार वडाध्यक्षले नै अदालतमा मुद्दा गर्न सल्लाह दिएपछि ऋणसापट गरेर उनीहरूले कानुनी बाटो रोजेका थिए । २०८३ जेठ १८ गते उच्च अदालत जनकपुरको राजविराज इजलासमा मुद्दा दायर गरिएको थियो । लक्ष्मीले दिएको परमादेशसम्बन्धी रिटमा सुनुवाइ गर्दै २०८३ भदौ १० गते न्यायाधीशद्वय सुभाष पौडेल र काजीबहादुर राईको संयुक्त इजलासले उचित निकास दिन आदेश गर्यो ।अदालतको आदेशमा वडा कार्यालयले सर्जमिन मुचुल्कामार्फत परिवारको दीर्घकालीन बसोबास पुष्टि गरिसकेको र त्यसैका आधारमा नागरिकता दिँदा फरक नपर्ने भनी लिखित रायसमेत दिइसकेको अवस्थामा अनुसूची-७ बमोजिमको औपचारिक सिफारिस रोक्नुपर्ने कानुनी आधार नदेखिएको उल्लेख छ । परिवारका लागि अदालतको आदेश एउटा नयाँ आशा थियो । वर्षौंदेखि आफूले सुनाएको पीडा अब न्यायालयसम्म पुगेको र त्यसले निकास देखाएको अनुभूति उनीहरूलाई भएको थियो । सायद अब बुवाले नागरिकता पाउनेछन्, त्यसपछि छोराहरू र नातिनातिनाको पहिचानको बाटो खुल्नेछ भन्ने आशा पलाएको थियो । तर, आदेश आएको लामो समय बितिसक्दा पनि वडा कार्यालयबाट आवश्यक सिफारिस नपाएको दिलिपको गुनासो छ । ‘आदेश आइसकेपछि पनि पटक-पटक वडा कार्यालय पुगेँ । तर, वडाध्यक्षले पछि भन्दै टार्दै आइरहनुभएको छ,’ उनी भन्छन्, ‘अब फेरि अवहेलनासम्बन्धी मुद्दा गर्न हामीसँग पैसा छैन ।’ न्याय खोज्ने बाटो पनि खर्चिलो भएपछि परिवार फेरि निरुपाय बनेको छ । नागरिकता बनाउन नसक्नुको पीडा एकातिर छ, त्यसका लागि थप कानुनी लडाइँ लड्न नसक्ने आर्थिक विवशता अर्कातिर । ‘बुवाआमाले पहिचानबिनै मर्नुपर्ने हो?’ लक्ष्मीको उमेर साठी वर्ष पुगिसकेको छ । जीवनको यो चरणमा उनी आफ्ना लागि ठूलो सपना देखिरहेका छैनन् । राज्यले आफूलाई नागरिकका रूपमा स्वीकार गरोस् र परिवारले पहिचानसहित बाँच्न पाओस् भन्ने उनको चाहना हो । तर, त्यो चाहना पूरा हुने दिन अझै निश्चित छैन । दिलिपका लागि सबैभन्दा ठूलो चिन्ता बुवाको उमेर हो । वर्षौंदेखि नागरिकताका लागि दौडधुप गरिरहेका बुवाले पहिचान नपाउँदै संसार छाड्नुपर्ने हो कि भन्ने डरले उनलाई सताइरहन्छ । आफूले भोगेको पीडा छोराछोरीले पनि भोगिरहेको देख्दा मन कुँडिन्छ । लक्ष्मीको परिवारको कथा एउटा नागरिकता बन्न नसकेको घटनामा मात्र सीमित छैन । यो राज्यका कार्यालयमा वर्षौं धाउँदा पनि समाधान नपाएको परिवारको कथा हो । बाढीले विस्थापित बनाएको एउटा परिवारले नयाँ ठाउँमा जीवन त बसायो, तर आफ्नो अस्तित्व प्रमाणित गर्ने आधार जुटाउन सकेन । अभावमा हुर्किएको एउटा पुस्ताले शिक्षाको अवसर पाएन । त्यसपछि आएको पुस्ताले पनि जन्मदर्ता र नागरिकताका लागि संघर्ष गर्नुपरिरहेको छ । वडाध्यक्ष लोचन साहु (तेली) ले अदालतबाट आदेश भएको विषय आफूलाई जानकारी रहेको बताएका छन् । कानुनका जानकारसँग थप स्पष्ट हुन नसकेको उल्लेख गर्दै उनले त्यो परिवारले नागरिकता पाउनुपर्ने आफ्नो बुझाइ रहेको बताए । ‘अब दसैँपछि यसमा पहल गर्छु,’ उनले भने ।वडाध्यक्षको यो भनाइले परिवारमा आशा जगाउन सक्छ । तर, उनीहरूका लागि आश्वासनको नयाँ शृङ्खलाभन्दा आवश्यक प्रक्रिया पूरा भएर नागरिकता बन्ने दिन महत्त्वपूर्ण छ । किनकि, लक्ष्मी रामका लागि दसैँ आउनु र जानु नयाँ कुरा होइन । वर्षौंदेखि चाडपर्व आए, उमेर बढ्यो, सन्तान हुर्किए, नातिनातिना जन्मिए । तर, आफ्नो पहिचानको प्रतीक्षा उस्तै रह्यो । आज पनि उनको परिवारको जीवनमा एउटा प्रश्न अनुत्तरित छ-आफ्नै देशमा जन्मिएर, यही भूमिमा जीवन बिताएर, यही समाजमा पुस्तौँदेखि बसोबास गर्दै आएको परिवारले आफ्नो नागरिकता पाउन अझै कति ढोका ढकढक्याउनुपर्ने हो ? लक्ष्मीको उमेरले साठी वर्ष पार गरिसक्यो । उनका छोराहरूको जवानी संघर्षमै बितिरहेको छ । नातिनातिनाको बाल्यकाल पनि पहिचानको अभावमै गुज्रिरहेको छ । उनीहरूलाई अब अर्को आश्वासन होइन, जीवनमा पहिलोपटक आफ्नो अस्तित्व प्रमाणित गर्ने अवसर चाहिएको छ ।तीन पुस्ताको जीवन एउटै कागजको प्रतिक्षामा अड्किएको छ । त्यो कागज नागरिकता हो तर उनीहरूले खोजिरहेको कुरा केवल नागरिकता होइन-आफू पनि यही देशका नागरिक हौँ भनेर सम्मानपूर्वक बाँच्न पाउने अधिकार हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

खगेन्द्र सुनारले भने : अडिओबारे कठघरामा उभिएर जवाफ दिन तयार छु
काठमाडौं । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप ...

कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ
• कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई दिल्लीमा प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ। • भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाएको छ र अन्य पार्टी समर्थकहरूलाई पनि हिरासतमा लिएको छ। • सिजेपीका संस्थापक अभिजीत दीपकेले घटनाबारे सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै विरोध प्रदर्शन जारी राख्नका लागि भारतीय प्रधानमन्त्रीलाई चुनौती दिएका छन्। ...

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु
मुलतान (पाकिस्तान), असोज २७ गते । मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।रेलवेका प... ...

किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ
पीडितकी आमाको जाहेरीपछि पक्राउ परेका आरोपितमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारमा अनुसन्धान भइरहेको छ। ...


