माटो संरक्षणदेखि विषादी न्यूनीकरणसम्म, दिगो कृषि प्रणाली विकास गर्न सरोकारवालाको जोड

काठमाडौं । विश्व खाद्य दिवस २०८३ को अवसरमा आयोजित ‘खाना र खेतीपातीका यक्ष प्रश्नहरू’ विषयक छलफलमा सहभागी सरोकारवालाहरूले माटोको संरक्षण, विषादीको प्रयोग न्यूनीकरण, प्रकृतिमैत्री खेतीपाती र दिगो कृषि प्रणाली विकासमा जोड दिएका छन्। खाद्यका लागि कृषि अभियानको आयोजना तथा खाद्य दिवस मूल समारोह समिति र कृषि विभागको सहकार्यमा आयोजित कार्यक्रममा कृषि उत्पादन बढाउनेसँगै माटोको उर्वराशक्ति जोगाउन, किसानलाई आवश्यक तालिम दिन र कृषि नीतिमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको हो। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको संयोजनमा भएको छलफलमा खाद्य प्रणाली र खेतीपातीसँग जोडिएका समस्या, कृषि उत्पादनको दिगोपन, वातावरण संरक्षण तथा खाद्य सुरक्षाका विषयमा चर्चा गरिएको थियो। छलफलले कृषि उत्पादन बढाउने प्रयाससँगै माटोको स्वास्थ्य, प्राकृतिक स्रोतको संरक्षण र किसानको हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई उजागर गरेको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुजता तामाङले बालबालिकालाई सानैदेखि माटो र प्रकृतिसँग जोड्नुपर्ने बताइन्। आफूले पनि आफ्ना बच्चालाई माटोसँग खेल्न दिएको प्रसंग उल्लेख गर्दै उनले सहरमा बस्ने अभिभावकले गमला वा अन्य उपयुक्त माध्यमबाट भए पनि बालबालिकालाई माटो र खेतीपातीको महत्त्व सिकाउनुपर्ने बताइन्। विद्यालयमा समेत यस्ता गतिविधि सञ्चालन गर्न उनले आग्रह गरिन्। तामाङले माटोको गुणस्तर बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भावी पुस्तालाई स्वच्छ माटो हस्तान्तरण गर्न वर्तमान पुस्ताले के प्रयास गरिरहेको छ भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताइन्। सबै समस्या एकैपटक समाधान गर्न नसकिए पनि माटो संरक्षणका लागि व्यक्तिगत, सामुदायिक र सरकारी तहबाट प्रयास गर्नुपर्ने उनको भनाइ थियो। कृषि क्षेत्रका कानुनमा सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले वातावरण विनाशका कारण पहिचान गर्न र रसुवा तथा बुढीगण्डकी क्षेत्रमा बाढीबाट देखिएका समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्। प्रतिनिधिसभा सदस्य डा. गंगालक्ष्मी अवालले वातावरणलाई क्षति नपुर्याई कृषि उत्पादन बढाउने प्रणाली विकास गर्नुपर्ने बताइन्। उनले नेपाललाई विषादीमुक्त बनाउने विषयमा आफूहरू २०४६ सालदेखि नै लागिपरेको उल्लेख गर्दै महिला किसानलाई दिगो कृषिसम्बन्धी तालिम देशभर विस्तार गर्न सके विषादीको प्रयोग घटाउन सहयोग पुग्ने बताइन्। नेपालको कृषि क्षेत्र महिलाको श्रममा आधारित रहेको उल्लेख गर्दै उनले महिला किसानलाई दिगो खेतीपातीका अभ्यासबारे प्रशिक्षित गर्नुपर्नेमा जोड दिइन्। पछिल्लो समय विषादी प्रयोग नगरी खेती गर्न सकिँदैन भन्ने सोच विकसित हुँदै गएको बताउँदै उनले अत्यधिक विषादी प्रयोगले माटोको गुणस्तरमा समेत नकारात्मक असर पारेको उल्लेख गरिन्। विषादीको प्रयोग एकैपटक रोक्न सम्भव नभए पनि वैकल्पिक अभ्यासलाई प्रोत्साहन गर्दै क्रमशः न्यूनीकरण गर्नुपर्ने उनको धारणा थियो। राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले ‘पोषण सुरक्षाका लागि नवप्रवर्तन’ भन्ने नारालाई महत्त्वपूर्ण र सान्दर्भिक रहेको बताए। कृषि अर्थतन्त्रको मेरुदण्ड भए पनि जलवायु परिवर्तन र जलवायुजन्य विपद्ले कृषि क्षेत्रमा गम्भीर असर पुर्याइरहेको उनको भनाइ थियो। यस्तो जोखिम न्यूनीकरण गर्न नयाँ सोच र प्रविधिको खोजी गर्नुपर्ने उल्लेख गर्दै उनले प्रकृतिमैत्री र समावेशी कृषि प्रणाली विकासमा ध्यान दिनुपर्ने बताए। पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए। गाउँगाउँमा कृषि उपज राम्रो उत्पादन भइरहेको उल्लेख गर्दै उनले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढे पनि बीउबिजनको उपलब्धता र गुणस्तरमा देखिएको असन्तुलन समाधान गर्न आवश्यक रहेको बताए। माटोको उर्वराशक्ति जोगाउन प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले कृषि बीमामा सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराइरहेको जानकारी दिए र किसानलाई बीमाको दायरामा आउन आग्रह गरे। कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालासहित कृषि क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलले खाद्य सुरक्षा सुनिश्चित गर्न उत्पादन वृद्धि मात्र पर्याप्त नभई माटोको स्वास्थ्य संरक्षण, विषादीको प्रयोग न्यूनीकरण, किसानको क्षमता विकास र जलवायु परिवर्तनअनुकूल खेती प्रणालीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...


