अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यस विषयबारे जानकारी भएका तीन व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेअनुसार, यो घटनाले संवेदनशील रणनीतिक, कर्मचारीसम्बन्धी र लजिस्टिक तथ्याङ्कको ठूलो हिस्सालाई जोखिममा पार्न सक्छ। उक्त घटनाबारे जानकारी राख्ने दुई व्यक्तिका अनुसार, प्रणाली स्तरोन्नति गर्ने क्रममा गत महिनाको आसपासमा ‘क्लाउड वान’ मा भएको यो अनधिकृत प्रवेश पत्ता लागेको थियो। उनीहरूले यो घटनाका कारण सम्पूर्ण प्लेटफर्ममा अवरोध सिर्जना भएको बताएका छन्। ह्याकरहरू को हुन्, उनीहरूको पहुँच कति व्यापक थियो वा कुनै तथ्याङ्क चोरी भएको छ कि छैन भन्ने यकिन नभएको रिपोर्टले उल्लेख गरेको छ। एक विज्ञप्तिमा वायुसेनाले भनेको छ, “हामी विशिष्ट नेटवर्क र प्रणालीहरूको सुरक्षा अवस्था, तिनमा रहेका कमजोरी वा तिनको सञ्चालन स्थितिका बारेमा कुनै टिप्पणी गर्दैनौं। हामी वायुसेना विभागको सूचना, प्रणाली र मिसन क्षमताहरूको सुरक्षाका लागि निरन्तर रूपमा सावधानीपूर्ण उपायहरू अपनाउँदै आएका छौं।” सन् २०१७ मा सुरु गरिएको ‘क्लाउड वान’लाई अमेरिकी वायुसेनाको सूचना प्रविधि सम्बन्धी आवश्यकताहरू पूरा गर्ने एकद्वार प्रणालीको रूपमा विकास गरिएको थियो। यसले माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेट गरी चारवटा प्रदायकका स्रोतहरूलाई एकीकृत गरेर वायुसेनाका विभिन्न एप्लिकेसनहरू सञ्चालन गर्न सघाउँछ। यस अन्तर्गत वायुसेनाको ‘क्लाउड-आधारित कमान्ड एन्ड कन्ट्रोल’ प्रणाली पर्छ, जसले उत्तर अमेरिकाभरिबाट हवाई प्रतिरक्षा राडार र अन्य तथ्याङ्कहरू संकलन गर्छ। साथै, यसमा ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसेन्स सिस्टम’ पनि समावेश छ, जसले विश्वभर रहेका अमेरिकी वायुसेनाका २०० भन्दा बढी स्थानहरूमा रहेका बम र क्षेप्यास्त्रहरूको ट्र्याकिङ गर्ने सीएनबीसीले रिपोर्ट गरेको छ। सन् २०२६ सम्म ‘क्लाउड वान’ को मुख्य ठेकेदार एसएआईसी थियो, तर त्यसपछि ‘लीडोस’ ले यसको जिम्मेवारी लियो। स्रोतहरूका अनुसार, ‘क्लाउड वान’ अमेरिकी सेनाको सबैभन्दा ठूलो क्लाउड प्लेटफर्महरूमध्ये एक हो। The post ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट appeared first on Technology Khabar.
ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






