म्याग्दी। हुरीबतासका कारण म्याग्दी हुँदै मुस्ताङमा विद्युत् आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङसम्मको खण्डमा मङ्गलबार आएको हुरीबतासले विद्युत्का पोल ढाल्नुका साथै तार चुडाएपछि ३३ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध भएको हो। विद्युत् आपूर्ति बन्द हुँदा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३ र ४ मा विद्युत् वितरण गर्दै आएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले क्षतिग्रस्त लाइन मर्मतको काम भइरहेको बताए। उनका अनुसार काभ्रेदेखि घाँसा खण्डको जङ्गल क्षेत्रमा मङ्गलबार साँझसम्म मर्मतमा खटिएको प्राधिकरणका प्राविधिक र मजदुरको टोलीले बुधबार बिहानैदेखि कामलाई निरन्तरता दिएको छ। हुरीबतासका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख र घारमा सुन्तलाका दाना झरेर क्षति पुगेको गाउँपालिका–३ का वडासदस्य दुर्गादत्त सुवेदीले बताए। गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार नारच्याङमा एउटा र काभ्रे गाउँमा तीनवटा घरको छानो हुरीले उडाएको छ। जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रकी मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म हावाको अधिकतम गति प्रतिसेकेन्ड ४.१ मिटर मापन गरिएको थियो।
हुरीबतासले मुस्ताङको विद्युत् आपूर्ति अवरुद्ध

Read Complete Original Article
Published originally on नेपालन्युज






