काठमाडौं । यमनमा हुथी विद्रोही अगाडि बढेसँगै साउदी अरेबियाको समर्थन प्राप्त ‘सदर्न आम्र्ड फोर्सेस’ बाब एल–मन्देब जलमार्गक्षेत्रबाट पछि हटेको छ । संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यमनी सरकारसमर्थित सेनाले आइतबार आफ्नो सैन्य अवस्थिति परिवर्तन गरेको जनाएको छ । सेनाका अनुसार पछि हट्नुको उद्देश्य दक्षिणी सहर एडेन र आसपासका प्रान्तको सुरक्षा तथा सेनाको अग्रपंक्ति बलियो बनाउनु हो । सेनाले तेस्रो ठूलो सहर ताइजमाथिको हुथी नाकाबन्दी अन्त्य गर्ने लक्ष्यसमेत राखेको बताइएको छ । करिब २० लाख जनसंख्या रहेको ताइजमा नाकाबन्दीका कारण खाद्यान्न र औषधि अभावको जोखिम बढेको छ । हुथी विद्रोहीहरूले राजधानी सानासहित उत्तरपश्चिम यमनको ठूलो भूभाग नियन्त्रणमा राखेका छन् । इरान समर्थित यस समूहले सेप्टेम्बरमा सरकारी सेनाविरुद्ध आक्रमण तीव्र पार्दै लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने रणनीतिक बाब एल–मन्देब जलमार्गको अधिकांश तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको थियो । उनीहरूले प्रमुख बन्दरगाह सहर मोखा पनि कब्जा गरेका छन् । साउदी समर्थित सेना पछि हड्ने कदमले यस क्षेत्रमा हुथीहरूको प्रभाव थप विस्तार हुने आशंका बढाएको छ । एएफपीका अनुसार हुथी लडाकुहरू अहिले एडेनबाट करिब ६० किलोमिटर टाढा पुगेका छन् । यमनमा सरकार र हुथी विद्रोहीबीच एक दशकभन्दा बढी समयदेखि गृहयुद्ध जारी छ । इरान र साउदी अरेबियाबीचको क्षेत्रीय प्रतिस्पर्धाले पनि द्वन्द्वलाई थप जटिल बनाएको छ । यसैबीच, हुथीहरूले आइतबार साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र वित्तीय जिल्लालाई निशाना बनाएको दाबी गरेका छन् । तर, साउदी अरेबियाले उक्त आक्रमणको पुष्टि गरेको छैन । डीडब्ल्यू
हुथी विद्रोही अगाडि बढेसँगै पछि हट्यो साउदी समर्थित सेना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






