काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी तथा हिमतालहरू तीव्र गतिमा पग्लिँदै गएको र त्यसबाट उत्पन्न जोखिम न्यूनीकरण तथा जलवायु न्यायका लागि ‘महादेव हिमालयन रक्षा अभियान’ले ‘हिमालयन रेड फोर्स, नेपाल’ गठन गरेको छ । अभियानका अध्यक्ष देवेन्द्र महेताद्वारा जारी विज्ञप्तिअनुसार जलवायु परिवर्तनविरुद्धको अभियानलाई थप सशक्त, चलायमान, अनुशासित र प्रतिबद्ध बनाउन युवा स्वयंसेवक दस्ताका रूपमा हिमालयन रेड फोर्स गठन गरिएको हो । यसको मूल उद्देश्य ‘आफ्नो हिमालय आफैँ बचाउने’ रहेको जनाइएको छ । विज्ञप्तिमा फोर्सको संयोजकमा सविन चालिने र सहसंयोजकमा सृजना उप्रेती चयन भएको उल्लेख छ । साथै, २५ सदस्यीय केन्द्रीय कमिटीसमेत गठन गरिएको छ । गत नोभेम्बर ९ देखि टर्कीमा सुरु भएको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-३१) को उद्घाटनकै दिन काठमाडौंस्थित संवाद डबलीमा महादेव हिमालयन रक्षा अभियान घोषणा गरिएको थियो । अभियानले उक्त सम्मेलनमार्फत हिमाली तथा पर्वतीय क्षेत्रको जलवायु संकटलाई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न, छुट्टै बहस अघि बढाउन तथा आवश्यक कोष र परियोजना सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको जनाएको छ । विश्वका विकसित राष्ट्रहरूको औद्योगिक तथा अन्य गतिविधिका कारण बढ्दै गएको विश्व तापक्रमको प्रत्यक्ष मार हिमाली र टापु राष्ट्रहरूले भोगिरहेको अभियानको ठहर छ । विशेषगरी हिन्दुकुश हिमालय क्षेत्रका देशहरूमा हिमनदी तथा हिमताल तीव्र रूपमा पग्लिँदा प्राकृतिक विपद्, भौतिक क्षति र मानवीय संकट बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । यसबाट नेपाल अझ बढी प्रभावित भइरहेको अभियानको भनाइ छ । कोप-३१ मा हिमाली तथा पर्वतीय जलवायु संकटलाई छुट्टै औपचारिक एजेन्डाका रूपमा समावेश नगरिएकोप्रति अभियानले दुःख व्यक्त गरेको छ । शक्तिराष्ट्रहरूले हिमाली मुद्दालाई पर्याप्त महत्त्व नदिएको भन्दै अभियानले हिन्दुकुश हिमालय क्षेत्रको संरक्षण र अन्तर्राष्ट्रिय जलवायु न्यायका लागि राजनीतिक, सामाजिक तथा कानुनी संघर्षलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्मित हिमालयन रेड फोर्सले नेपालको संविधान र प्रचलित कानुनको परिधिभित्र रहेर समाजसेवा तथा पर्यावरण संरक्षणका गतिविधि सञ्चालन गर्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । अभियानले हिमालयको अस्तित्व, वातावरणीय सन्तुलन र हिमाली समुदायको भविष्य रक्षाका लागि युवाहरूलाई संगठित गर्दै संरक्षण अभियानलाई देशव्यापी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।
हिमालय संरक्षणका लागि ‘हिमालयन रेड फोर्स’ गठन, २५ सदस्यीय केन्द्रीय कमिटी घोषणा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






