काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । प्रतियोगिताको समापन मङ्सिर २७ गते हुनेछ । खेलकुदको महाकुम्भका रूपमा लिइने राष्ट्रिय प्रतियोगिता पहिलोपटक कर्णालीमा आयोजना हुन लागेकाले प्रदेशभर उत्साह बढेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक, अतिथि तथा दर्शकको स्वागतका लागि वीरेन्द्रनगरका विभिन्न स्थानमा स्वागतद्वार निर्माण र प्रचारप्रसारका कार्यक्रम सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही प्रतियोगिताको तयारी र व्यवस्थापनमा सक्रिय हुनुहुन्छ। उहाँका अनुसार अधिकांश खेलस्थल प्रतियोगिता सञ्चालन गर्न तयार भइसकेका छन् । सामान्य मर्मतसम्भारबाहेक पूर्वाधार निर्माणको काम सम्पन्न भएको र खेल सामग्रीसमेत आउने क्रम जारी रहेको उनले बताए । प्रतियोगिताको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीहरूको बैठकले सुरक्षा व्यवस्था चुस्त बनाउने र सीसीटीभीमार्फत निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । प्रतियोगितास्थल, मुख्य चोक तथा नगरका विभिन्न क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ । खेलाडी तथा अन्य सहभागीको आवास व्यवस्थापनका लागि होटलहरूमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ । प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद्को टोली सुर्खेतमै खटिएको छ । विभिन्न उपसमिति गठन गरेर तयारीका काम अघि बढाइएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिकी संयोजक मोनालिसा खम्बुले जानकारी दिए । ३२ खेलमा ११ टोलीको प्रतिस्पर्धा दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा सबैभन्दा धेरै २३ खेल आयोजना हुनेछन् । नेपालगन्ज र बर्दियामा दुई–दुई तथा सल्यानमा दुई खेल सञ्चालन हुनेछन् । दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल आयोजना हुनेछन् । राखेपले पदक विजेताका लागि नगद पुरस्कारसमेत निर्धारण गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । टोलीगत स्पर्धामा स्वर्ण, रजत र कास्य विजेताले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक परिचालित हुनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी तथा खेल सङ्घका ९६ प्रतिनिधि पनि व्यवस्थापनमा खटिने राखेपले जनाएको छ । लुम्बिनीमा चार खेल सञ्चालन प्रतियोगिताअन्तर्गत चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस प्रतियोगिता आयोजना गरिनेछ । साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भइसकेको छ । नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछ। त्यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिका–भुरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल आयोजना गरिनेछ । कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुदको रौनक नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास २०३८ सालदेखि सुरु भएको हो । पहिलो राष्ट्रिय खेलकुद काठमाडौँमा आयोजना भएको थियो । त्यसपछि २०४० मा पोखरा, २०४२ मा वीरगन्ज, २०५५ मा नेपालगन्ज, २०६५ मा काठमाडौँ, २०६८ मा सुदूरपश्चिम, २०७३ मा पूर्वाञ्चल र २०७५र७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौँ राष्ट्रिय खेलकुद २०७९ सालमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । यसपटक कर्णालीले पहिलोपटक राष्ट्रिय खेलकुदको आतिथ्य गर्ने अवसर पाएको छ । त्यसैले प्रतियोगिता खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नभई कर्णालीको पर्यटन, पूर्वाधार, आर्थिक गतिविधि र राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा समेत हेरिएको छ । प्रतियोगिताको सफल आयोजनाले कर्णालीलाई राष्ट्रिय खेलकुदको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

Read Complete Original Article
Published originally on विश्वखबर






