Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

हिमालयन बैंकको डिजिटल सेवा दुई सातादेखि ठप्प, तिहारमा ग्राहकलाई सास्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालयन बैंकको डिजिटल सेवा दुई सातादेखि ठप्प, तिहारमा ग्राहकलाई सास्ती
Photo / Coverage: विश्वखबर

काठमाडौं – हिमालयन बैंक लिमिटेडको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा करिब दुई सातादेखि अवरुद्ध हुँदा ग्राहक समस्यामा परेका छन् । बैंकले प्रणाली मर्मत तथा स्तरोन्नति (सिस्टम अपग्रेड) भइरहेको भन्दै सेवा बन्द गरेपछि विशेषगरी तिहारको समयमा दैनिक भुक्तानी र वित्तीय कारोबार गर्नुपर्ने सेवाग्राही प्रभावित भएका हुन् । बैंकले सार्वजनिक सूचना जारी गर्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणालीमा आवश्यक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको जनाएको छ । सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको र सेवा सुरु भएपछि आधिकारिक माध्यमबाट जानकारी गराइने बैंकको भनाइ छ । सेवा अवरुद्ध भएको असुविधाप्रति बैंकले ग्राहकसँग क्षमायाचना पनि गरेको छ । तर, झन्डै दुई सातासम्म डिजिटल बैंकिङ सेवा सञ्चालनमा आउन नसक्दा बैंकका ग्राहकले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन् । चाडपर्वको समयमा रकम पठाउन, बिल भुक्तानी गर्न र दैनिक कारोबार गर्न समस्या भएको उनीहरूको गुनासो छ । बैंकिङ क्षेत्रका जानकारहरूले पनि प्रणाली स्तरोन्नतिका लागि यति लामो समय सेवा अवरुद्ध हुनु अस्वाभाविक भएको बताएका छन् । पक्षीविज्ञ हेमसागर बरालले बैंकको सेवा अवरुद्ध हुँदा चितवनमा होटलको बिलसमेत तिर्न नसकेको अनुभव सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् । गुनासो दर्ता गराउँदासमेत समस्या समाधान नभएको उल्लेख गर्दै उनले बैंकका कर्मचारीलाई ग्राहकप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् । त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण घर्ती मगरले प्राविधिक मर्मत तथा प्रणाली स्तरोन्नतिको नाममा पटक–पटक डिजिटल सेवा बन्द हुने र मोबाइल एपमा त्रुटि देखिने समस्या सामान्यजस्तै बनेको टिप्पणी गरेका छन् । उनले आपत्कालीन अवस्थामा उपचार खर्च, अत्यावश्यक भुक्तानी वा व्यापारिक कारोबार गर्नुपर्ने ग्राहकले सेवा अवरुद्ध हुँदा भोग्ने समस्याको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् । यस्तो अवस्थालाई नेपाल राष्ट्र बैंकले गम्भीरतापूर्वक लिएर नियमन तथा अनुगमन गर्नुपर्ने उनको माग छ । स्थानीय तहमा अन्य बैंकको विकल्प नभएका ठाउँका ग्राहकले झन् बढी सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । ‘मर्स्याङ्दी डायरिज’ नामक फेसबुक पेजले हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा १० दिनदेखि नचलेको उल्लेख गर्दै चाडपर्वमा स्थानीयवासीलाई समस्या भएको जनाएको छ । अघिल्लो वर्ष पनि यही समयमा लामो समय सेवा अवरुद्ध भएको स्मरण गराउँदै उसले स्थानीयस्तरमा एउटै बैंकमा निर्भर नागरिकका लागि स्थायी समाधान खोज्नुपर्ने बताएको छ । सेवाग्राही भानु चापागाईंले पनि बैंकको मोबाइल बैंकिङ सेवा भरपर्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । अधिकांश कारोबारमा एपले सहयोग नगर्ने र कहिलेकाहीँ महिनौँसम्म सेवा नचल्ने गरेको उनको गुनासो छ । उषा शाहले चाडपर्वका बेला मोबाइल बैंकिङ बन्द हुँदा घरको किस्ता तिर्न र परिवारको खातामा रकम पठाउन समस्या भएको उल्लेख गरेकी छन् । अर्का ग्राहक राजन चगुठीले अनलाइन बैंकिङ सेवा कहिले सञ्चालनमा आउँछ भन्दै प्रश्न गरेका छन् भने रोशन जोशीले सेवा नियमित नभए बैंकमा रहेको खाता बन्द गर्ने चेतावनी दिएका छन् । ग्राहक तुलसीराम पौड्यालले पनि गत वर्ष चाडपर्वकै समयमा बैंकको एप लामो समय बन्द भएको स्मरण गर्दै यस वर्ष पनि उस्तै समस्या दोहोरिएको भन्दै बैंकको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । ग्राहकबाट आलोचना र गुनासो बढेपछि बैंकले आफ्नो आधिकारिक फेसबुक पेजका अधिकांश पोस्टमा टिप्पणी गर्न नमिल्ने बनाएको छ । यसले ग्राहकका गुनासा सुन्ने र सम्बोधन गर्ने बैंकको तत्परतामाथि थप प्रश्न उठाएको छ । यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलसँग सम्पर्क गर्ने प्रयास भए पनि सम्पर्क हुन सकेन । राष्ट्र बैंककी सहप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठले भने यसबारे आफू जानकार नरहेको प्रतिक्रिया दिएकी छन् । बैंकका सूचना अधिकारीसँग पनि प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । हिमालयन बैंकमा डिजिटल बैंकिङ सेवा अवरुद्ध भएको यो पहिलो घटना होइन । गत वर्ष पनि कोर बैंकिङ सफ्टवेयर स्तरोन्नतिको भन्दै बैंकले झन्डै एक महिनासम्म सेवा प्रभावित पारेको थियो । यसपटक भने सेवा अवरुद्ध भएको भोलिपल्ट अर्थात् नोभेम्बर २ मा मात्र बैंकले सार्वजनिक सूचना जारी गरेको थियो । तर, हालसम्म पनि सेवा लामो समयसम्म अवरुद्ध हुनुको स्पष्ट प्राविधिक कारण र पुनः सञ्चालन हुने निश्चित समय सार्वजनिक गरेको छैन । डिजिटल कारोबारमा निर्भरता बढिरहेका बेला बैंकिङ सेवा लामो समय अवरुद्ध हुनु ग्राहकको सुविधा र विश्वाससँग जोडिएको विषय हो । प्राविधिक स्तरोन्नति आवश्यक भए पनि त्यसको पूर्वसूचना, वैकल्पिक सेवा र अवरोधको समयसीमाबारे स्पष्ट जानकारी दिनु बैंकको जिम्मेवारी हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)
Latest NewsJust now

सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)

सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा... ...

रातोपाटी
डिजिटल विभाजन घटाउन नेपालको पहल
Latest NewsJust now

डिजिटल विभाजन घटाउन नेपालको पहल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी ...

नेपालन्युज
बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब
Latest NewsJust now

बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । […] ...

लोकपथ
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै
Latest NewsJust now

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play