काठमाडौं । हिमालयन जुनियर चेस च्याम्पियनसिपमा सुहानी सिंह र एल्बिक अधिकारी च्याम्पियन हुनुभएको छ । सुहानी यू-१२ गर्ल्स र एल्बिक यू-१२ ब्वाइजमा च्याम्पियन हुनुभएको हो । हिमालयन चेस एकेडेमीको थापाथालीस्थित चेस हलमा आयोजित प्रतियोगितामा मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी सुहानीले शतप्रतिशत जितसहित चार अंक बटुल्दै पहिलो स्थान हासिल गर्नुभएको हो । सेन्ट मेरिजकी श्रीशा बल्ल तीन अंकसहित दोस्रोमा रहँदा कश्यप एकेडेमीकी प्रसन्ना चौधरी दुई अंक जोड्दै तेस्रो हुनुभयो । यू-१२ ब्वाइजतर्फको उपाधि होड निकै रोचक रह्यो । स्विस लिग प्रणालीका आधारमा १० मिनेट र प्रतिचाल थप पाँच सेकेण्डका आधारमा सञ्चालित र्यापिड चेसमा काठमाडौं वर्ल्ड स्कुलका एल्बिक अधिकारी, माछापुच्छ्रे स्कुलका रियांश महर्जन र बुद्ध इन्टरनेसनल स्कुलका इंगित कोर्मोचाले समान चार अंक जोड्नुभयो । समान अंक भए पनि बुकोल्जका आधारमा एल्बिक पहिलो हुनुभएको हो । बुकोल्जमा एल्बिकले १३.५ अंक बनाउँदै ट्रफी हात पार्नुभयो । बुकोल्जमा १२.५ अंकसहित रियांश उपविजेता हुनुभयो । इंगित बुकोल्जमा ११.५ अंकसहित तेस्रोमा रहनुभयो । विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । एकदिने प्रतियोगितामा १८ स्कुलका १९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जसमा ब्वाइजतर्फ १४ र गर्ल्समा पाँच जना थिए । जुनियर खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन जुनियर चेस च्याम्पियनसिप’मा यू-८, १०, यू-१२ र यू-१४ गर्ल्स र ब्वाइज गरी कुल आठवटा प्रतियोगिता सञ्चालन गरेको हो । अब बाँकी यू-१४ को प्रतियोगिता मंसिर ६ गते हुनेछ । त्यसपछि ‘ग्र्याण्ड फाइनल’ मंसिर १३ गते आयोजना गर्ने एकेडेमीले जनाएको छ । यसअघि सम्पन्न यू-८ ब्वाइजमा जेम्स स्कुलका विरा सारडा, गर्ल्समा काष्ठमण्डप विद्यालयकी सहस्रा क्षेत्री तथा यू-१० ब्वाइजमा रातो बंगलाका शुभांग प्रधान र गर्ल्समा सेन्ट मेरिजकी श्रीशा बल्लले सफलता हात पार्नुभएको थियो ।
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






