काठमाडौं । नेपाली चलचित्रमा फरक कथावस्तु र प्रस्तुतिको खोजी भइरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘हिमालयन गोल्ड’ले दर्शकको मन जितिरहेको छ । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको हो । चलचित्र हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् । विशेषगरी नेपाली चलचित्रमा कमै देखिने फरक विषयवस्तु र अन्तर्राष्ट्रिय स्तरको मेकिङले आफूहरूलाई प्रभावित पारेको उनीहरूको प्रतिक्रिया छ । दर्शकले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रमा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य, सिनेम्याटोग्राफी र कथालाई प्रस्तुत गरिएको शैलीले फिल्मलाई विशेष बनाएको उनीहरूको भनाइ छ । कतिपय दर्शकले त नेपाली चलचित्रले अब हलिउड र बलिउडको स्तरलाई समेत चुनौती दिन थालेको प्रतिक्रिया दिएका छन् । एक दर्शकले फिल्मलाई आफूले अहिलेसम्म हेरेका नेपाली चलचित्रमध्ये उत्कृष्टमध्येको एक भन्दै कथा, अभिनय र सस्पेन्सको प्रशंसा गरे। ‘हरेक दृश्यपछि अब के हुन्छ भन्ने कौतूहलता जागिरहन्छ । नेपाली चलचित्रमा यस्तो खालको सस्पेन्स र थ्रिलरको अनुभव विरलै गरेको थिएँ,’ उनले भने । फिल्म हेरेपछि नेपाली चलचित्रको स्तर हलिउड र बलिउडसम्म पुग्न सक्ने विश्वाससमेत जागेको उनको प्रतिक्रिया थियो । अर्का दर्शकले फिल्मको सिनेम्याटोग्राफीलाई असाध्यै उत्कृष्ट बताए । नेपाली चलचित्रमा कमै देखिने गुफा तथा हिमाली क्षेत्रका दृश्यलाई पर्दामा उतारिएको शैलीले आफूलाई प्रभावित पारेको उनको भनाइ थियो । फिल्ममा प्रयोग गरिएको ठेट नेपाली भाषा र स्थानीय लवजले पनि दर्शकको ध्यान खिचेको छ । यद्यपि, केही दर्शकले संवादमा प्रयोग भएको भाषा अलि कडा लागेको प्रतिक्रिया दिएका छन् । विशेषगरी दिवंगत अभिनेता सुनिल थापाको संवाद र चरित्र आफूले विगतमा देख्दै आएको भूमिकाभन्दा फरक र अप्रत्याशित लागेको उनीहरूको भनाइ छ । चलचित्रमा सुनिल थापाको अभिनयलाई दर्शकले विशेष रूपमा सम्झिएका छन् । उनको संवाद शैली र चरित्र चित्रणले आफूलाई आश्चर्यचकित बनाएको एक दर्शकले बताए । यो फिल्म सुनिल थापाले अभिनय गरेको अन्तिम चलचित्रसमेत भएकाले उनको भूमिका थप चासोको विषय बनेको छ । ‘हिमालयन गोल्ड’ले यार्सागुम्बाको विषयलाई आधार बनाएर त्यससँग जोडिएका सामाजिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत प्रस्तुत गरेको दर्शकको बुझाइ छ । यार्सागुम्बाबारे सामान्य जानकारी भए पनि त्यसको खोजी र संकलनसँग जोडिएका तीन दशकअघिका घटनाक्रम तथा त्यसपछाडिको कथाबारे फिल्मबाट नयाँ कुरा थाहा पाएको उनीहरूले बताएका छन् । एक युवती दर्शकले फिल्मलाई यार्सागुम्बाको कथामा मात्र सीमित नरहेको भन्दै मानवीय मनोविज्ञानको समेत गहिरो खोजी गरेको प्रतिक्रिया दिइन् । विशेषगरी सुनको खोजीमा लाग्दा मानिसको व्यवहार र सोचमा आउने परिवर्तनलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको उनको भनाइ थियो । त्यस्तै, फिल्मको अभिनयलाई स्वाभाविक र संवादलाई बनावटीपनरहित पाएको दर्शकको प्रतिक्रिया छ । नेपाली संस्कृति, हिमाली भूगोल र स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास पनि उनीहरूले रुचाएका छन् । धीराज राजवंशीको लेखन तथा निर्देशनमा बनेको ‘हिमालयन गोल्ड’मा कर्मा, सुनिल थापा, धीरज राजवंशी लगायतका कलाकारको अभिनय छ । दर्शकका प्रतिक्रियाले ‘हिमालयन गोल्ड’लाई सामान्य नेपाली चलचित्रभन्दा फरक अनुभवका रूपमा हेरिएको देखाउँछन्। ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ । धीराज राजवंशीको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा दीपेन्द गौचन र धीराज राजवंशीले तयार पारेका हुन् । मीनबहादुर भाम निर्माता रहेको फिल्ममा सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् । फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले प्रदर्शन गराएको छ । यसअघि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता चर्चित फिल्म वितरण गरिसकेको कम्पनीले ‘हिमालयन गोल्ड’लाई भारतमा वितरण गर्न लागेको हो । नेपालमा एप्पल इन्टरटेनमेन्ट र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् भने मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गराएको छ ।
‘हिमालयन गोल्ड’: हलिउडको झल्को दिने नेपाली फिल्म भन्दै प्रशंसा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






