तेहरान । इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन् । अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए । प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन् । गालिबफले हर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यसको नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए । अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको उनको भनाइ छ । तर दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उनले उल्लेख गरे । उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे । अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय बेहोर्नुपर्ने चेतावनीसमेत उनले दिए । गालिबफले युद्धपछिको कुनै पनि सम्झौतामा हर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख विषय हुने सङ्केत गरेका छन् ।
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






