काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक गृहकार्य पूरा गरी संशोधन विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग प्रस्तावित विधेयकबारे छलफल गरेकी छन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ। प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव छ। बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि संशोधनमा समेटिएका छन्। स्वास्थ्य बीमालाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य रहेको मन्त्री मेहताले बताएकी छन्। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनको भनाइ छ।
स्वास्थ्य बीमा विधेयक संसद्मा लैजाने प्रक्रिया अघि बढ्यो

Read Complete Original Article
Published originally on नेपालन्युज






