जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभएको छ । मेची–महाकाली पदयात्राका क्रममा बिहीबार जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँगको कुराकानीमा स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको स्पष्ट पार्नुभएको हो । सञ्चारगृहबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गर्नुभयो । उहाँले आफू सधैँ लोकतन्त्र, मानव अधिकार, कानुनको शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पदयात्रा देशमा कुनै पनि किसिमको द्वन्द्व हुनुहुँदैन भन्ने उद्देश्यले गरिएको हो । म छवटा ‘स’को सिद्धान्तअनुसार अघि बढिरहेको छु । धानको सरकारले तोकेको मूल्य किसानले पाइरहेका छैनन् । तरकारीको पनि उचित मूल्य पाउन सकेका छैनन् । म लोकतन्त्रप्रति प्रतिबद्ध छु । लोकतन्त्रको पिलर नै स्वतन्त्र प्रेस हो । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन । म लोकतन्त्र, मानव अधिकार, कानुनको शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा छु ।” सांसद सिंहले पदयात्राको उद्देश्य देशमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भन्ने रहेको दोहोर्याउनुभयो । साथै, किसानले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य समयमै पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन : सांसद अमरेश सिंह

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






