काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को ‘च्याम्पियन्स ट्रफी टुर’ अन्तर्गत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा प्रमुख धार्मिक र पर्यटकीय स्थलमा ट्रफी प्रदर्शन गरिने भएको छ। मङ्सिर १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने ट्रफी टुरको विस्तृत तालिका सार्वजनिक भएको छ। आठ दिनसम्म चल्ने उक्त अभियानमा प्रदेशका नौवटै जिल्लाका विभिन्न स्थानमा र्याली, पूजा तथा ट्रफी प्रदर्शनका कार्यक्रम आयोजना गरिनेछन्। सार्वजनिक तालिकाअनुसार मङ्सिर १३ गते अछाम र बाजुराबाट ट्रफी टुर सुरु हुनेछ। बिहान ८:३० बजे वैजनाथ मन्दिरमा दर्शन गरिनेछ भने बिहान ९:३० देखि ११:३० बजेसम्म वैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्याली निकालिनेछ। त्यसैगरी, अपराह्न ४ देखि ५:३० बजेसम्म बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ। मङ्सिर १४ गते डोटी र डडेलधुरामा कार्यक्रम तय गरिएको छ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा पूजा तथा दर्शनपछि १० देखि १२ बजेसम्म मन्दिरदेखि दिपायल बजारसम्म र्याली निकालिनेछ। अपराह्न ४ देखि ६ बजेसम्म डडेलधुरा बजारमा र्याली र साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिनेछ। त्यस्तै, मङ्सिर १५ गते बैतडी र दार्चुलामा ट्रफी पुर्याइनेछ। बिहान ८:३० बजे निङ्लासैनी मन्दिरमा दर्शन तथा बिहान ९:३० देखि ११:३० बजेसम्म बैतडीको गोठालापानीमा र्याली हुनेछ। मङ्सिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८:३० बजे पूजा तथा दर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म खलङ्गा बजारमा र्याली आयोजना हुनेछ। मङ्सिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म ट्रफी र्याली निकालिनेछ भने मङ्सिर १८ गते डडेलधुरास्थित परशुराम धाममा मध्याह्न १२:३० बजे ट्रफी प्रदर्शन गरिने कार्यक्रम छ। मङ्सिर १९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा ट्रफी भ्रमण गराइनेछ। बिहान ८:३० बजे टीकापुर पार्क, १० बजे चिसापानी, ११:३० बजे लम्की र मध्याह्न १२:३० बजे घोडाघोडी तालमा ट्रफी पुर्याइनेछ। त्यसैगरी, अपराह्न २ बजे अत्तरिया र ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्याली निकालिनेछ। ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा विशेष कार्यक्रम आयोजना हुनेछ। अपराह्न ३ देखि ५ बजेसम्म धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्याली निकालिनेछ भने साँझ ५ बजे महोत्सव मैदानमा कन्सर्ट आयोजना गरी ट्रफी टुर समापन गरिनेछ।
सुदूरपश्चिममा एनपीएल ट्रफी टुर

Read Complete Original Article
Published originally on नेपालन्युज






