काठमाडौं, मंसिर ३ । रुपन्देहीमा ट्याङ्करको सिल नतोडी पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा प्रहरीले दुई ट्याङ्करसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले साँझ पौने ८ बजे चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार लु२ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करबाट इन्धन चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७ मंगलापुरका ४६ वर्षीय तिलबहादुर फुलाल पक्राउ परेका हुन् । पक्राउ परेका फुलाल र दुवै ट्याङ्करलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मंगलापुरमा बुझाइएको छ । यस घटनाले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा अपनाइने सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । ट्याङ्करको मुख्य ताला वा सिल नतोडी माथिल्लो भागको ढक्कनमा रहेको प्राविधिक संरचनाको दुरुपयोग गरेर इन्धन निकाल्ने गरिएको आशंका गरिएको छ । यसअघि पनि चालक, सहचालक तथा केही पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा ढुवानीका क्रममा इन्धन हिनामिना हुने गरेको घटना सार्वजनिक हुँदै आएका छन् । रुपन्देहीमा केही महिनाको अन्तरालमा यस्ता घटना दोहोरिनुले पेट्रोलियम पदार्थको ढुवानी, अनुगमन र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
सिल नतोडी ट्याङ्करबाट इन्धन चोरी, दुई ट्याङ्करसहित एक जना पक्राउ

Read Complete Original Article
Published originally on जनताटाइम्स





_TU9KdnjKKJ.jpg)
