काठमाडौं। नेपालमा पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे आगन्तुक चराहरूको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ। बर्ड कञ्जरभेसन नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुकसहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्। हिउँद छल्न साइबेरियालगायत हजारौँ किलोमिटर टाढाका क्षेत्रबाट रुद्र चखेवा, नाडेउरी हाँस, सुरेउरी हाँस, नकटा, सुनजघे हाँस, लालसिर हाँस र गोन्डरजस्ता प्रजाति नेपाल आउने गर्छन्। यसबाहेक जलेवा, खोया हाँस, लक्ष्मण सारस तथा स्टेप्प इगल, इर्सियन मार्स ह्यारियर र हिमाली बजार्डजस्ता सिकारी चराहरू पनि जाडोयाममा नेपाल भित्रिन्छन्। यी चराहरूले कीरा नियन्त्रण र पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। श्रेष्ठका अनुसार सिमसार क्षेत्रको ह्रास, प्रदूषण, अत्यधिक सिकार र कीटनाशक औषधिको प्रयोगले यी चराहरूको अस्तित्वमाथि खतरा बढाएको छ। चरा गणनाको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “काठमाडौँ उपत्यकाको टौदह पोखरीमा हिउँदका समयमा पहिले ४०० देखि ५०० को सङ्ख्यामा हाँसहरू आउने गरेकामा अहिले घटेर जम्मा १०० देखि १५० मा सीमित भएका छन्।” त्यस्तै, जगदीशपुर जलाशयमा पनि कुनै समय दसौँ हजार पानीचरा आउने गरेकामा हाल दुई हजारदेखि तीन हजारको हाराहारीमा मात्र चरा देखिने गरेका छन्। नेपाल केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत पर्ने भएकाले यहाँ कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा राखिएको छ। घुमन्ते चराले अन्तर्राष्ट्रिय सीमा पार गर्ने भएकाले उनीहरूको संरक्षणका लागि उडान मार्गमा पर्ने सम्पूर्ण देशहरूबीच आपसी सहकार्य आवश्यक रहेको श्रेष्ठले बताए। बिग्रिएका सिमसारको पुनःस्थापना, प्राकृतिक नदी प्रणालीको जगेर्ना र दिगो कृषि अभ्यासले मात्र चराहरूको सुरक्षित बासस्थान सुनिश्चित गर्न सकिने उनको भनाइ छ।
सिमसार क्षेत्र नासिँदा घट्दै हिउँदे आगन्तुक चराको सङ्ख्या

Read Complete Original Article
Published originally on नेपालन्युज






