काठमाडौं। सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरे पनि देशभरका राजस्व कार्यालय खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै मातहतका सबै कार्यालयलाई उक्त दिन नियमित सेवा प्रवाह गर्न निर्देशन दिएको हो। राजस्व संकलनलाई प्रभावकारी बनाउनुका साथै करदातालाई सहजीकरण गर्ने उद्देश्यले कार्यालय खुला राख्ने निर्णय गरिएको विभागले जनाएको छ। विभागको राजस्व संकलन, बक्यौता तथा तथ्यांक व्यवस्थापन शाखाले ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालयलाई कात्तिक ३० गते कार्यालय सञ्चालन गर्न पत्राचार गरेको छ। कात्तिक महिनाको मसान्त भएकाले राजस्व परिचालनका दृष्टिले उक्त दिन कार्यालय खुला राख्नुपरेको विभागको भनाइ छ। विभागका अनुसार सार्वजनिक बिदाका दिन करदाताले गत आर्थिक वर्षको आय विवरण दाखिला गर्न, आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट तथा सुविधाको उपयोग गर्न र बक्यौता फरफारक गर्न सक्नेछन्। त्यसैगरी अन्तःशुल्कजन्य वस्तुको निष्कासनसम्बन्धी कामसमेत गर्न सकिनेछ। विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरिएको जानकारी दिएका छन्। त्यस्तै, एनसीएचएल प्रणालीमार्फत हुने राजस्व संकलनमा आवश्यक सहजीकरणका लागि नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसलाई समेत जानकारी गराइएको विभागले जनाएको छ।
सार्वजनिक बिदामा पनि देशभरका राजस्व कार्यालय खुला रहने

Read Complete Original Article
Published originally on अनलाइनपाना






