काठमाडौं। १२१ रनको सामान्य लक्ष्य दिएको सुदूरपश्चिम रोयल्सले उत्कृष्ट बलिङ गर्दै जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चौथो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै अलआउट भयो। जितसँगै ६ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको जनकपुर चार खेलमा पराजित हुँदै पाँचौँ स्थानमा छ। सामान्य योगफल बनाए पनि सुदूरपश्चिमका बलरले सुरुदेखि नै जनकपुरमाथि दबाब कायम राखे। स्कट कुग्गेलिन र हेमन्त धामीले पावरप्लेमै जनकपुरका शीर्ष क्रमका ब्याटरलाई दबाबमा राखेका थिए। कुग्गेलिनले तीन विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए। जनकपुरका लागि तृतराज दास र जिमी निसामले सर्वाधिक योगदान गरे। तृतराजले २१ तथा निसामले २० रन बनाए। अन्य ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा जनकपुर लक्ष्यबाट टाढिँदै गयो। ओपनर अनिल साह दुई र आदित्य महता १० रनमा आउट भए। एनपिएलमा डेब्यु गरेका आयरल्यान्डका ह्यारी टेक्टर पनि एक रनमै पभेलियन फर्किए। पावरप्लेमा जनकपुर २८ रनमा तीन विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरीले रयान बर्ललाई आठ रनमा बोल्ड गरे। १० ओभर सकिँदा जनकपुर ४२ रनमा चार विकेट गुमाएर खेलमा दबाबमा थियो। जनकपुरका लागि त्यसपछि पनि विकेट पतन रोकिएन। तृतराज दास रनआउट भए भने विशाल सुस्लिङ दुई रनमै रनआउट भए। ११.२ ओभरमा जनकपुर ४७ रनमा सात विकेट गुमाएको अवस्थामा पुगेपछि खेल पूर्णरूपमा सुदूरपश्चिमको नियन्त्रणमा आएको थियो। कप्तान हरमीत सिंह र जिमी निसामले इनिङ सम्हाल्ने प्रयास गरे। तर १४औँ ओभरमा थरिन्दु रत्नायकेले हरमीतलाई चार रनमा आउट गरेपछि जनकपुरको सम्भावना कमजोर बन्यो। त्यसपछि अभिषेक तिवारी दुई रनमा आउट भए। १४.६ ओभरमा जनकपुर ६१ रनमा आठ विकेट गुमाएको अवस्थामा थियो। निसाम क्रिजमा रहेकाले जनकपुरका समर्थकमा केही आशा बाँकी थियो। तर अन्तिम दुई ओभरमा ३९ रन आवश्यक भएपछि उनले आक्रामक खेल्ने प्रयास गरे। १९औँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने क्रममा उनी बाउन्ड्री नजिक क्याच आउट भएपछि सुदूरपश्चिम जितनजिक पुगेको थियो। निसामले २५ बलमा एक चौका र एक छक्कासहित २० रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२१ रन बनाएको थियो। ब्रेन्डन म्याकमुलनले २३ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाए। थरिन्दु रत्नायके २८ बलमा एक चौका र दुई छक्कासहित २७ रनमा नटआउट रहे। सुदूरपश्चिमको सुरुआत भने सहज थिएन। विनोद भण्डारी १० रनमा रनआउट भए भने सइफ जैब पनि १० रनमा आउट भए। पावरप्लेमा दुई विकेट गुमाएर सुदूरपश्चिमले ३५ रन मात्र बनाएको थियो। ईशान पाण्डे तीन, कप्तान दीपेन्द्रसिंह ऐरी एक तथा म्याकमुलन ३३ रनमा आउट भए। म्याकमुलनलाई ह्यारी टेक्टरले बोल्ड गरेका थिए। आरिफ शेखले ११ रन बनाए। कुग्गेलिन ६, अनिल खरेल चार र हेमन्त धामी शून्यमा आउट भए। जनकपुरका कप्तान हरमीत सिंहले चार विकेट लिए। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए। जनकपुरले सात बलर प्रयोग गरेको थियो। सामान्य योगफल बनाए पनि त्यसलाई रक्षा गर्दै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ। उता, सामान्य लक्ष्यसमेत पूरा गर्न नसक्दा जनकपुरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ। एनपिएलमा बुधबार कुनै खेल हुने छैन।
सामान्य लक्ष्य रक्षा गर्दै सुदूरपश्चिमको रोमाञ्चक जित

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





