काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन उनीहरूको वास्तविक आय, कामको प्रकृति र आर्थिक क्षमताका आधारमा व्यावहारिक नीति बनाउनुपर्ने बताएका छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षामा श्रमिकको दर्ता सङ्ख्या बढाउनु मात्र पर्याप्त नहुने बताउँदै उनीहरूको योगदान गर्नसक्ने अवस्था र रोजगारीको निरन्तरतासमेत ध्यानमा राख्नुपर्ने बताएका हुन । उनकाअनुसार रोजगारदाता पनि विभिन्न आर्थिक चुनौतीबाट गुज्रिरहेका छन् । व्यवसायको लागत, बैंक ब्याजदर, कर प्रशासनका प्रक्रिया, बजारको अनिश्चितता, मागमा हुने उतारचढाव, विद्युत तथा उत्पादन लागत र कार्यशील पुँजीको अभावले व्यवसाय सञ्चालन कठिन बन्दै गएको छ । त्यसैले सामाजिक सुरक्षा प्रणालीको कार्यान्वयन सहज, सरल र व्यावहारिक हुनुपर्छ । लामिछानेले श्रमिकको सुरक्षा र रोजगारदाताको आर्थिक क्षमतालाई एकअर्काको विरोधी विषयका रूपमा हेर्न नहुने बताए । दुवै पक्षलाई सन्तुलित बनाएर अगाडि बढ्नु नै दिगो सामाजिक सुरक्षा प्रणालीको आधार भएको बताउँदै उनले नेपाल चेम्बर अफ कमर्स सामाजिक सुरक्षा प्रणालीको विस्तार, श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल र जिम्मेवार रोजगार सम्बन्धको पक्षमा रहेको बताए । सामाजिक सुरक्षा प्रणाली बलियो हुँदा कर्मचारीको संस्थाप्रतिको विश्वास, दीर्घकालीन संलग्नता, श्रम उत्पादकत्व र संस्थागत स्थायित्वमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । यद्यपि यसको कार्यान्वयन गर्दा विशेषगरी सूक्ष्म, साना तथा मझौला उद्यमहरूको आर्थिक क्षमतालाई ध्यान दिनुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले नोभेम्बर २०२६ मा प्रकाशित गरेको यातायात क्षेत्रसम्बन्धी अध्ययनलाई उद्धृत गर्दै उनले नेपालको यातायात क्षेत्रमा करिव ७३ प्रतिशत रोजगारी अनौपचारिक रहेको जानकारी दिए । अध्ययनमा सर्वेक्षण गरिएका १६० श्रमिकमध्ये कसैसँग पनि लिखित रोजगारी सम्झौता नभएको र तीन जना मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको उल्लेख गरिएको उनले बताए । व्यवसाय दर्ता हुनु र श्रमिकको रोजगार सम्बन्ध औपचारिक हुनु फरक विषय रहेको उल्लेख गर्दै उनले कानुनी व्यवस्था मात्र बनाएर सामाजिक सुरक्षा प्रणाली प्रभावकारी हुन नसक्ने उल्लेख गरे । त्यसका लागि सरल प्रक्रिया, पर्याप्त जानकारी र रोजगारदाता तथा श्रमिक दुवैका लागि विश्वसनीय प्रणाली आवश्यक रहेको उनको भनाइ छ । लामिछानेले सामाजिक सुरक्षा कोषले रोजगारदाता तथा श्रमिकका अनुभव, समस्या र सुझाव नियमित रूपमा सुन्ने संस्थागत संयन्त्र बनाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रका संस्थाहरूसँग सहकार्य गरी आबद्धता प्रक्रिया सरल बनाउने, योगदान गणना तथा भुक्तानी सहज गर्ने, दाबी भुक्तानी छिटो गर्ने र योजनाबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्ने उनले बताए । सामाजिक सुरक्षा प्रणालीलाई केवल कानूनी बाध्यता वा प्रशासनिक प्रक्रियाका रूपमा सिमित गर्न नहुने उल्लेख गर्दै उनले श्रमिक र रोजगारदाता दुवैले यसलाई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा अनुभव गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे।
सामाजिक सुरक्षा प्रणालीलाई व्यावहारिक बनाउन लागौँः लामिछाने

Read Complete Original Article
Published originally on टक्सार






