Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सहकारीमा सर्वश्व गुमाएका वृद्धवृद्धाको आँसु पुछनुभन्दा भूमाफियातिरै देखियो बालेन सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सहकारीमा सर्वश्व गुमाएका वृद्धवृद्धाको आँसु पुछनुभन्दा भूमाफियातिरै देखियो बालेन सरकार
Photo / Coverage: जनताटाइम्स

सहकारीमा जीवनभरको कमाइ डुबाएका वृद्धवृद्धाको आँसु र पीडा सम्बोधन गर्न नसक्ने सरकार भूमाफियाको मागप्रति भने तत्कालै संवेदनशील बन्नु विडम्बनापूर्ण छ । यसले सरकारको प्राथमिकता कसको पक्षमा छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ रुषा थापा दशैंपछि तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो । तिहारमा अन्य चाडपर्वको तुलनामा खर्च पनि बढी हुन्छ । दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर भाइमसलासहित विभिन्न परिकार खुवाउने चलन छ भने दाजुभाइहरूले पनि सोहीअनुसार दक्षिणा दिने परम्परा छ । तर, तिहार सुरु भइसक्दा पनि यस वर्ष सर्वसाधारणको अनुहारमा चाडपर्वको उल्लास देखिएको छैन । बरु उनीहरू चिन्ता र निराशामा देखिन्छन् । यसको मुख्य कारण हो—बढ्दो महँगी र सहकारीमा डुबेको बचत । सहकारीलगायत वित्तीय संस्थाका कारण लाखौँ बचतकर्ताको बिचल्ली भएको छ । जीवनभरको कमाइ, पुख्र्यौली सम्पत्ति तथा जायजेथा बेचेर जम्मा गरेको रकमदेखि विदेशमा पसिना बगाएर कमाएको पैसासमेत सहकारी सञ्चालकहरूले हिनामिना गरेका छन् । सहकारी संस्थाहरू संकटमा परेको वर्षौं बितिसक्दा पनि बचतकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । अर्कोतर्फ, सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारीका सञ्चालक, अध्यक्ष तथा कर्मचारीहरूलाई प्रभावकारी रूपमा कारबाहीसमेत हुन सकेको छैन । सहकारीका कारण यस वर्ष पनि बचतकर्ताहरूको दशैं खल्लो भयो । अहिले तिहारसमेत उल्लासपूर्वक मनाउन नसक्ने अवस्था सिर्जना भएको छ । बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । महँगीले सर्वसाधारणको ढाड सेकिरहेको छ । रोजगारीका अवसर सीमित छन् भने आम्दानीको स्रोतसमेत कमजोर बनेको छ । सहकारीमा पैसा डुबेपछि कतिपय बचतकर्तासँग चाडपर्व मनाउने सामान्य खर्चसमेत छैन । दशैं त जसोतसो ऋणधन गरेर वा खर्च कटौती गरेर मनाएका उनीहरूलाई अब तिहार कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । दिदीबहिनीहरूलाई टीका लगाउन आवश्यक भाइमसलालगायत सामग्री खरिद गर्ने पैसाको अभाव छ भने दाजुभाइहरूलाई दक्षिणाको चिन्ता छ । थोरै सामग्री लिएर जाँदा दाजुभाइले टीका लगाउन अस्वीकार गर्ने वा उपहास गर्ने हुन् कि भन्ने चिन्ता दिदीबहिनीहरूमा देखिन्छ । अर्कोतर्फ, दाजुभाइहरूलाई पनि परम्पराअनुसार दक्षिणा दिन नसक्दा दिदीबहिनीको मन दुख्ने र आगामी वर्ष टीका लगाउने सम्बन्धमै असर पर्ने हो कि भन्ने चिन्ता छ । यसरी सहकारीमा डुबेको बचतले सर्वसाधारणलाई चाडपर्वको सामान्य खुसीसमेत उपभोग गर्न नसक्ने अवस्थामा पुर्याएको छ । तर, सहकारीपीडितहरूको पीडा सम्बोधन गर्नुपर्ने जिम्मेवारीमा रहेकी सहकारीमन्त्री प्रतिभा रावलको प्राथमिकता भने अर्कैतिर केन्द्रित देखिएको छ । हालै सहकारीमन्त्री प्रतिभा रावल सहकारीपीडितका समस्या बुझ्न झापा र चितवन पुग्नुभएको थियो । त्यस क्रममा चितवनमा ८४ वर्षीय एक वृद्धले घरजग्गासहित आफ्नो सम्पूर्ण जायजेथा बेचेर सहकारीमा जम्मा गरेको रकम डुबेको भन्दै मन्त्रीसामु आँसु झार्नुभयो । अन्य स्थानमा पनि बचतकर्ताहरूले आफ्ना पीडा सुनाउँदै रकम फिर्ताको माग गरे । तर, मन्त्रालय फर्किएपछि मन्त्रीको प्राथमिकता पीडितहरूको माग सम्बोधन गर्नेभन्दा पनि जग्गाको कित्ताकाट खुलाउने विषयमा केन्द्रित भएको देखियो । चितवनमा एक व्यक्तिले जग्गाको कित्ताकाट नखुल्दा आफूहरू समस्यामा परेको गुनासो गर्नुभएको थियो । त्यसलगत्तै मन्त्रालय फर्किएपछि मन्त्री रावलले कित्ताकाट खुलाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनुभयो । सहकारीमा जीवनभरको कमाइ डुबाएका वृद्धवृद्धाको आँसु र पीडा सम्बोधन गर्न नसक्ने सरकार भूमाफियाको मागप्रति भने तत्कालै संवेदनशील बन्नु विडम्बनापूर्ण छ । यसले सरकारको प्राथमिकता कसको पक्षमा छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । सहकारी संकट सुरु भएको वर्षौं बितिसक्दा पनि पीडितहरूले आफ्नो साँवा रकमसमेत फिर्ता पाउन सकेका छैनन् । चुनावका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सरकार गठन भएको एक सय दिनभित्र सहकारीपीडितको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । यही आश्वासनका आधारमा जनताले रास्वपालाई १८२ सिटसहित जनादेश दिएका थिए । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा सरकार गठन भएको सात महिना बितिसक्दा पनि सहकारीपीडितहरूको हात भने खाली नै छ । चुनावी प्रतिबद्धता र सरकारको कार्यसम्पादनबीच देखिएको यो अन्तरले पीडितहरूमा थप निराशा पैदा गरेको छ । जुनसुकै सरकार सत्तामा आए पनि सहकारीपीडितलाई आश्वासन बाँड्ने तर ठगीमा संलग्न व्यक्तिहरूमाथि प्रभावकारी कारबाही नगर्ने प्रवृत्ति दोहोरिँदै आएको छ । सहकारीहरूले विभिन्न प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो परिमाणमा निक्षेप संकलन गरेका थिए । २२ प्रतिशतसम्म ब्याज दिने, ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लैजाने, जन्मदिनमा बचतकर्ताको घरमै पुगेर केक काटिदिने तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता आकर्षक कार्यक्रममार्फत उनीहरूको विश्वास जितिएको थियो । यस्ता लोभलाग्दा प्रलोभनमा परेर सर्वसाधारणले सहकारीमा लाखौंदेखि करोडौं रुपैयाँसम्म जम्मा गरे । तर, विश्वासको त्यही आधार अन्ततः उनीहरूका लागि अभिशाप बन्यो । सहकारीको सामान्य उपहार र आकर्षक ब्याजदरको प्रलोभनमा पर्दा सर्वसाधारणले आफ्नो जीवनभरको कमाइ गुमाउनुपर्यो । नाबालकदेखि ज्येष्ठ नागरिकसम्मको बचत सहकारीमा डुबेको छ । विद्यालयमा खाजा नखाई पैसा जोगाएर बचत गर्ने बालबालिकादेखि वृद्धभत्ताबाट केही रकम छुट्याएर जम्मा गर्ने ज्येष्ठ नागरिकसम्म सहकारी ठगीका पीडित बनेका छन् । कतिपयले त आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर सहकारीमा निक्षेप जम्मा गरेका थिए । सहकारी डुबेको खबर सुनेपछि मानसिक तनावका कारण कतिपयको स्वास्थ्यमा गम्भीर असर परेको छ । केहीले हृदयाघातका कारण ज्यान गुमाएका छन् भने कतिपय अझै मानसिक तनाव र अवसादबाट गुज्रिरहेका छन् । सहकारीमा डुबेको रकम फिर्ता नपाउने पीडा सहन नसकेर केहीले आत्महत्यासमेत गरेका छन् । सर्वसाधारणलाई मृत्युको मुखसम्म पुर्याउने यस्तो गम्भीर संकटप्रति राज्यको उदासीनता झनै दुःखद् छ । सरकारले केही बचतकर्ताको सानो रकम फिर्ता गरेर सहकारीपीडितको बचत फिर्ता गर्ने काम भइरहेको दाबी गर्दै आएको छ । तर, सीमित व्यक्तिले केही रकम पाउँदैमा समग्र समस्या समाधान भएको मान्न सकिँदैन । ठूला निक्षेपकर्तादेखि साना बचतकर्तासम्म सबैको रकम कहिले फिर्ता हुन्छ ? सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी सञ्चालक तथा पदाधिकारीहरूमाथि कहिले कारबाही हुन्छ ? पीडितले न्याय पाउने सुनिश्चितता कहिले हुन्छ ? यी प्रश्नको स्पष्ट जवाफ सरकारले दिनुपर्छ । सत्तारूढ दलकै कतिपय नेताहरूमाथि सहकारी ठगीसम्बन्धी आरोप लागिरहेको अवस्थामा सरकारले निष्पक्ष छानबिन र कारबाही गर्न नसकेको हो कि भन्ने आशङ्कासमेत पैदा भएको छ । सहकारीहरूले सर्वसाधारणबाट संकलन गरेको रकम जथाभावी रूपमा घरजग्गा, सवारीसाधन र सेयर बजारमा लगानी गरेका थिए । त्यसमाथि लगानी प्रक्रियामा व्यापक अनियमितता र भ्रष्टाचार भएको आरोप पनि छ । उदाहरणका लागि, ५० लाख रुपैयाँमा निर्माण हुन सक्ने भवनका लागि थप ५० लाख रुपैयाँसम्म अनियमित रूपमा खर्च देखाउने, सहकारीका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरूले कमिसन लिने र व्यक्तिगत स्वार्थका आधारमा ऋण प्रवाह गर्ने प्रवृत्ति देखिएको थियो । कतिपय अवस्थामा १० देखि २० प्रतिशतसम्म कमिसन लिएर घरजग्गा, गाडी तथा सेयरमा जथाभावी कर्जा लगानी गरिएको आरोप छ । यसरी सहकारीको निक्षेप सहकारीकै पदाधिकारी र सञ्चालकहरूको स्वार्थपूर्तिमा दुरुपयोग भयो । घरजग्गा, सवारीसाधन र सेयर बजारमा मन्दी आउन थालेपछि त्यस्ता लगानीमा निर्भर सहकारी संस्थाहरू आर्थिक संकटमा परे । त्यसपछि कतिपय सहकारी सञ्चालकहरू सम्पर्कविहीन भए भने कतिपयले बचतकर्ताको निक्षेप फिर्ता गर्न नसक्ने अवस्था आएको भन्दै पन्छिन थाले । अहिले त कतिपय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्नुको सट्टा घरजग्गा लिन प्रस्ताव गरिरहेका छन् । तर, ती घरजग्गा प्रायः दुर्गम वा ग्रामीण क्षेत्रमा रहेका छन् । शहरमा बसोबास गर्ने बचतकर्तालाई टाढाको गाउँ तथा डाँडाकाँडामा रहेको जग्गा दिएर दायित्व पूरा भएको दाबी गर्नु कत्तिको न्यायोचित हुन्छ ? अर्कोतर्फ, बजार मूल्यअनुसार रोपनीको एक लाख रुपैयाँ पनि नपर्ने जग्गालाई आनाकै २५ लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्याङ्कन गरेर बचतकर्तालाई लिन दबाब दिने गरिएको गुनासो छ । बचतकर्ताले त्यस्तो जग्गा स्वीकार गर्न अस्वीकार गरेमा निक्षेप फिर्ता नहुने भन्दै धम्कीसमेत दिने गरिएको छ । निक्षेप संकलन गर्ने बेला जुनसुकै समयमा रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउने सहकारी सञ्चालकहरू अहिले भने नगदको सट्टा आफूखुसी मूल्याङ्कन गरिएको जग्गा लिन बाध्य पार्न खोजिरहेका छन् । यो व्यवहारले सहकारी ठगीको गम्भीरता र पीडितमाथि भइरहेको अन्यायलाई थप उजागर गर्छ । यति हुँदाहुँदै पनि सहकारीमन्त्रीको प्राथमिकतामा पीडितको निक्षेप फिर्ता र ठगीमा संलग्न व्यक्तिमाथि कारबाही पर्ने स्पष्ट संकेत देखिएको छैन । बरु कित्ताकाट खुलाउने विषयमा देखाइएको सक्रियताले सरकारको प्राथमिकतामाथि थप प्रश्न उठाएको छ । सहकारी क्षेत्रको संकटसँगै बैंक तथा वित्तीय संस्थाप्रति पनि सर्वसाधारणको विश्वास कमजोर हुँदै गएको छ । बैंकहरूले उल्लेख्य नाफा कमाएको दाबी गरिरहँदा बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर भने तुलनात्मक रूपमा न्यून रहेको गुनासो छ । कतिपय बैंकमा सेयरधनीले वर्षौंदेखि अपेक्षित लाभांश पाउन सकेका छैनन् । यदि बैंकहरूले उल्लेख्य नाफा कमाइरहेका छन् भने निक्षेपकर्ताले न्यून ब्याज पाउनु र सेयरधनीले लाभांश नपाउनुको कारण के हो ? बैंकहरूले कुन क्षेत्रमा लगानी गरेर नाफा आर्जन गरिरहेका छन् ? घरजग्गा, सवारीसाधन, सेयर तथा जलविद्युत् क्षेत्रसमेत चुनौतीपूर्ण अवस्थामा रहेको बेला बैंकहरूको नाफाको वास्तविक आधार के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । जनताले आपत्विपत्मा काम लागोस्, भविष्य सुरक्षित होस् र आवश्यक परेको बेला उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामा आफ्नो कमाइको केही अंश बचत गरेका हुन्छन् । तर, वित्तीय संस्थाका पदाधिकारी तथा सञ्चालकहरूले कमिसन र व्यक्तिगत स्वार्थका आधारमा जथाभावी कर्जा प्रवाह गर्दा त्यसको मार अन्ततः सर्वसाधारणले नै खेप्नुपरेको छ । वित्तीय संस्थाको कमजोर सुशासन, अनियमित लगानी र नियामक निकायको प्रभावहीनताले सर्वसाधारणको बचत जोखिममा परेको छ । आज विडम्बना के छ भने सर्वसाधारणको रगत–पसिनाको कमाइ हिनामिना गर्ने सहकारी सञ्चालक तथा ठगीमा संलग्न व्यक्तिहरू खुलेआम मोजमस्ती गरिरहेका छन् । तर, आफ्नो जीवनभरको कमाइ गुमाएका बचतकर्ताहरू भने दशैं र तिहारजस्ता प्रमुख चाडपर्वसमेत सामान्य रूपमा मनाउन नसक्ने अवस्थामा छन् । कसैको घरमा चाडपर्वको खुसी छाएको छ भने कसैको घरमा सहकारीमा डुबेको रकम सम्झेर आँसु झरिरहेको छ । यस्तो अवस्थामा राज्यको भूमिका के हो ? जनताको बचतको सुरक्षा गर्ने, ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने र पीडितको रकम फिर्ता गराउने जिम्मेवारी कसको हो ? सरकारले अब पनि आश्वासन र प्रतिबद्धतामै सीमित रहने हो भने सहकारीपीडितले न्याय कहिले पाउने ? जनताको विश्वास र मत प्राप्त गरेर सत्तामा पुगेको सरकारले यी प्रश्नबाट पन्छिन मिल्दैन । सहकारी ठगलाई कानुनी उन्मुक्ति र पीडितलाई आश्वासन होइन, न्याय र बचत फिर्ता चाहिएको छ । सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ । अन्यथा, जनताको बचत मात्र होइन, राज्यप्रतिको विश्वाससमेत पूर्ण रूपमा गुम्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा विद्युत् खपतले बनायो नयाँ रेकर्ड, राष्ट्रिय माग १ हजार ८१३ मेगावाट पुग्यो
Economy & BusinessJust now

लक्ष्मीपूजामा विद्युत् खपतले बनायो नयाँ रेकर्ड, राष्ट्रिय माग १ हजार ८१३ मेगावाट पुग्यो

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत् खपतले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीमा आन्तरिक माग १ हजार ८१३ मेगावाट पुगेको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो गत वर्षको लक्ष्मीपूजामा कायम भएको १ हजार ७४५ मेगावाटको उच्चतम मागभन्दा ६८ मेगावाट बढी हो। प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत् माग करि… ...

आर्थिक न्यूज
१० वर्षअघिको ‘उज्यालो नेपाल अभियान’ सम्झँदै जनार्दन शर्माले भने– सबैको साझा प्रयासको परिणाम
Economy & BusinessJust now

१० वर्षअघिको ‘उज्यालो नेपाल अभियान’ सम्झँदै जनार्दन शर्माले भने– सबैको साझा प्रयासको परिणाम

काठमाडौँ- पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘उज्यालो नेपाल अभियान’ सुरु भएको १० वर्ष पूरा भएको अवसरमा अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण नेपालीप्रति आभार व्यक्त गरेका छन्। शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ...

आजको अर्थ
सयपत्री फूलबाट वार्षिक ४ लाख आम्दानी
Economy & BusinessJust now

सयपत्री फूलबाट वार्षिक ४ लाख आम्दानी

गुल्मी – बढ्दो बसाइँसराइँका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायिक रूपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । महत्राले विगत ५ वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रूपमा […] ...

काठमाण्डुपाटी
१३ हिमचुचुरा अवलोकन गर्न सकिने मर्दी पदयात्रा
Economy & BusinessJust now

१३ हिमचुचुरा अवलोकन गर्न सकिने मर्दी पदयात्रा

कास्की। छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, जङ्गलै जङ्गल शान्त वातावरणमा पदयात्रा गर्न पाइने र एकै पदमार्गबाट १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग लोकप्रिय बनेको छ। पोखराबाट नजिकै रहेको यो पदमार्गमा अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिम छ। छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिने भएकाले आन्तरिक तथा विदेशी पर्यट… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play