काठमाडाैँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनकाअनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् । चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उनले जानकारी दिए । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उनको भनाइ छ । उनले भने, “१३ जना व्यक्तिले उजुरी गर्नुभएको छ, त्यो मध्ये डाक्टर रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारुको विरुद्धमा ६ वटा, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरु परेको छ । त्यसमा ५ जनाले सबै जनालाई उजुरी दिनुभएको छ ।” समितिको बैठकले उजुरीकर्तालाई शुक्रवार समितिमा बोलाएर उजुरीको पुष्टि तथा औचित्यबारे छलफल गर्ने र त्यसपछि प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाई गर्ने कार्यतालिका पारित गरेको छ । पारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रवार बिहान उजुरीकर्तासँग छलफल गरिनेछ । उजुरीकर्तासँगको छलफलपछि प्रश्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ । त्यस्तै, कात्तिक २१ गते शनिवार प्रश्तावित न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाई गर्ने र आवश्यक निर्णय गर्ने समितिको तयारी छ । संसदीय सुनुवाईका लागि तोकिएको ४५ दिनको समयसीमा नजिकिँदै गएको र दशैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुनसक्ने भएकाले तिहार अगाडी नै सुनुवाई सक्नेगरि समितिले कार्यतालिका तय गरेको हो । संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १५ बमोजिम सचिवालयले प्रश्ताव गरेको कार्यतालिका समितिले परिमार्जनसहित पारित गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । समितिको बैठक शुक्रवार विहान ९ः३० बजेलाई बोलाइएको छ ।
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रबारदेखि सुनुवाई थाल्ने

Read Complete Original Article
Published originally on टक्सार





![प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]](https://hamrakura.com/uploads/news/images/journalist--.jpg)
