काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले नै लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाइरहेको आरोप लगाएका छन्। सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधि र नेतृत्वको अभिव्यक्ति राज्य सञ्चालनको गरिमाअनुकूल नभएको टिप्पणी गरे। कार्यकारी पदमा रहेका व्यक्तिहरू थप जिम्मेवार र संयमित हुनुपर्नेमा राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेल जस्तो बनाइएको उनको आरोप थियो। पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप बढेको दाबी गरे। लोकतन्त्रमा संगठन खोल्ने, आफ्ना विचार राख्ने र व्यावसायिक गतिविधि सञ्चालन गर्ने अधिकार कुण्ठित गर्न खोजिएको उनको भनाइ थियो। उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी र ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्ने, व्यावसायिक संस्थालाई कार्यक्रम नगर्न निर्देशन दिने तथा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्ने जस्ता घटनाले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए। सरकारको कार्यशैलीले मुलुकको लोकतान्त्रिक प्रणाली र संवैधानिक संस्थाहरूको भूमिका समेत कमजोर बनाएको पोखरेलको टिप्पणी थियो। सरकार बाह्य शक्तिको प्रभावमा परिचालित भइरहेको हो कि भन्ने आशंका पनि बढेको उनले बताए। भूराजनीतिक प्रतिस्पर्धाका बीच सरकारको नेतृत्वले अपनाइरहेको नीतिले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पार्न सक्ने उनको भनाइ थियो। उनले राज्य र सरकार आफ्नो जिम्मेवारीअनुसार सञ्चालन हुन नसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाको भविष्यप्रति चिन्ता व्यक्त गरे।
सरकार सरकार जस्तो भएन : शंकर पोखरेल

Read Complete Original Article
Published originally on नेपालन्युज






