Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्न : वक्तव्य होइन, परिणाम चाहिन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्न : वक्तव्य होइन, परिणाम चाहिन्छ
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताउनुभएको छ। नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारका पछिल्ला निर्णय र देशमा भएका केही घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको हो। लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै उहाँले सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने बताउनुभयो। ‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन् । लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने नेपाली कांग्रेस चुप लागेर बस्दैन । हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ,’ उहाँले भन्नुभयो। पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिन्छ सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको स्मरण गराएको उहाँको टिप्पणी थियो। उहाँले उक्त घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। घटनाबारे प्रहरीका तर्फबाट आएका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले थप अन्योल सिर्जना गरेको उहाँको भनाइ थियो। थापाले सामान्य वक्तव्य जारी गरेर मात्रै घटनाको जिम्मेवारीबाट सरकार उम्किन नमिल्ने बताउँदै वास्तविकता सार्वजनिक गर्न माग गर्नुभयो। पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँले बताउनुभयो। ‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उहाँले भन्नुभयो, ‘किन भयो, कसले ग¥यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ।’ उहाँले जिम्मेवार व्यक्तिको पहिचान गरी आवश्यक कारबाहीमार्फत सरकारले जवाफदेहिता प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो। सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हुन सक्दैन सभापति थापाले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने बताउनुभएको छ। राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने उहाँको भनाइ थियो। राज्यका निकाय कुनै व्यक्ति वा सरकारमा रहेका पदाधिकारीका निजी आदेश पालना गर्ने संस्था नभएको उल्लेख गर्दै उहाँले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। ‘सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन। राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्,’ उहाँले भन्नुभयो। उहाँले सरकारका कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्ने बताउनुभयो। राम्रा कामको जस लिने, गलत कामको जिम्मेवारीबाट पन्छिन मिल्दैन सभापति थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाउनुभएको छ। सरकारले गरेका राम्रा कामको श्रेय पार्टीले लिने तर विवादित तथा गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने उहाँले बताउनुभयो। सरकारको नेतृत्व गर्ने दलले सरकारका निर्णय र गतिविधिको राजनीतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले सरकारका कामलाई अनुकूलताअनुसार मात्रै पार्टीसँग जोड्न नमिल्ने धारणा राख्नुभयो। ‘सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन। सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ,’ उहाँले भन्नुभयो। सरकारको सफलता र असफलता दुवैको राजनीतिक जवाफदेहिता सत्तारूढ दलसँग जोडिने उहाँले स्पष्ट पार्नुभयो। कर्मचारी पक्राउ प्रकरणमा पनि सरकारको कार्यशैलीमाथि प्रश्न सभापति थापाले सरकारी कर्मचारीलाई कार्यस्थलबाटै प्रहरीले पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको घटनामाथि पनि प्रश्न उठाउनुभएको छ। कर्मचारीले गल्ती गरेको भए प्रचलित कानुन र स्थापित संस्थागत प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही हुनुपर्ने उहाँको भनाइ थियो। प्रशासनिक संरचनाले अवलम्बन गर्दै आएका प्रक्रिया मिचेर प्रहरी परिचालन गरी कर्मचारीलाई पक्राउ गर्नु उचित नभएको उहाँले बताउनुभयो। कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने उल्लेख गर्दै उहाँले सरकारका हरेक गतिविधि विधि र प्रक्रियासम्मत हुनुपर्नेमा जोड दिनुभयो। समग्रमा सरकारको कार्यशैलीमा देखिएको स्वेच्छाचारिताप्रति कांग्रेसको असहमति रहेको स्पष्ट पार्दै सभापति थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि प्रतिपक्षले निरन्तर निगरानी तथा खबरदारी गर्ने बताउनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूउपयोग नीतिमा सुधार
Latest NewsJust now

भूउपयोग नीतिमा सुधार

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले त्रिशूली आसपासका बस्तीमा ठुलो मानवीय र भौतिक क्षति पग्यो । बाढीले कतिपय बस्ती र भौतिक पूर्वाधारको अस्तित्वसमेत नरहने गरी... ...

गोरखापत्र
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । चितवनको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवतजावत गर्ने भागमा गर्डर राख्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने काम सुरक्षित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न ...

विश्वखबर
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै
Latest NewsJust now

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ–कर्णाली र सुदूरपश्चिम–चितवन भिड्दै

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।  पहिलो खेल दिउँसो साढे १२ सुरु हुनेछ। यसपछि साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ। पहिलो... ...

नेपालखबर
मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने
Latest NewsJust now

मलेखु-मुग्लिङ सडकखण्ड आज ३ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।  यो सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।  नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play