काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सन्देशमा उनले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन्। “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उनले सन्देशमा भनेका छन्, “जहाँ उदाउँदो सूर्यलाई झैं अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।” चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन भोलि बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिइने परम्परा प्रधानमन्त्रीले सन्देशमा स्मरण गरेका छन्। प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् तथा भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामना गरेका छन्। तलाउ समीप षष्टी माताको पूजा गरिएको स्थानको तस्बिर समेत सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्रीले मैथिलीमा लेखेका छन्, “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।”
सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Read Complete Original Article
Published originally on नेपालन्युज






