म्याग्दी । सडक सञ्जालको विस्तार र आधुनिक जीवनशैलीसँगै म्याग्दीका ग्रामीण बस्तीमा रहेका ऐतिहासिक तथा मौलिक सम्पदाहरू क्रमशः हराउँदै जान थालेका छन् । विगतमा यात्रु तथा बटुवाका लागि विश्रामस्थल र आश्रयको माध्यम बनेका पाटीपौवा, धर्मशाला, चौतारी, पँधेरा र ढुङ्गेधाराहरू संरक्षणको अभावमा अस्तित्व संकटमा परेका हुन् । कुनै समय ग्रामीण जीवनशैली, सामाजिक सद्भाव र स्थानीय संस्कृतिका अभिन्न अंगका रूपमा रहेका यी सम्पदाहरू सडकको सहज पहुँच, बसाइँसराइ, बढ्दो सहरीकरण र अव्यवस्थित बस्ती विकासका कारण ओझेलमा पर्दै गएका छन् । परम्परागत सीप, वास्तुकला र मौलिक शैलीमा निर्माण गरिएका यस्ता संरचनाहरू भत्किने र पुरिने क्रम बढे पनि संरक्षणका लागि पर्याप्त पहल हुन नसकेको स्थानीयको गुनासो छ । बेनी नगरपालिका-४ सुर्केमेलाका ६५ वर्षीय शशीधर सापकोटाकाअनुसार पहिले गाउँघरका विभिन्न स्थानमा यात्रुहरूको सुविधाका लागि निर्माण गरिएका पाटीपौवा र धर्मशालाहरू अहिले अधिकांश जीर्ण अवस्थामा पुगेका छन् । कतिपय संरचना भत्किएर नामेट भइसकेका छन् भने बाँकी रहेका संरचनासमेत संरक्षणको पर्खाइमा छन् । सडक तथा होटल र रेस्टुरेन्टको सुविधा नहुँदा लामो दूरी पैदल यात्रा गर्ने बटुवा, तीर्थयात्री तथा अन्य यात्रुहरूका लागि विभिन्न ठाउँमा धर्मशाला, पाटीपौवा र चौतारी निर्माण गर्ने चलन थियो । बाटोमा थकाइ मार्न, रात बिताउन तथा खानेपानीको व्यवस्था गर्न यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्थे । तर अहिले समयसँगै ती परम्परा र संरचना दुवै हराउँदै गएका छन् । एक दशकअघिसम्म पनि ग्रामीण क्षेत्रमा पाटीपौवा र धर्मशालाको प्रयोग व्यापक थियो । तर सडकको पहुँच विस्तार भएसँगै पैदल यात्रुको चाप घटेको छ । यात्रुको आवतजावत कम हुन थालेपछि यस्ता संरचनाको उपयोगिता पनि घट्दै गएको स्थानीय बताउँछन् । प्रयोगविहीन बनेका संरचनाहरूको मर्मतसम्भार र संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक सम्पदा नासिने अवस्थामा पुगेका हुन् । पहिले पैदल यात्रा गर्ने बटुवाहरूलाई लक्षित गरी बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला बनाइन्थ्यो । धर्मशालामा माटोको घैँटो राखेर चिसो पानी पिउने व्यवस्था मिलाउने परम्परासमेत थियो । लामो बाटो हिँडेर थाकेका यात्रुहरूले त्यहीँ विश्राम गर्ने र रात बिताउने गर्थे । बेनी नगरपालिकाका ज्यामरुककोटका बेदप्रसाद उपाध्यायकाअनुसार पहिले यात्राका क्रममा बटुवाहरूलाई बसोबास तथा विश्रामको समस्या हुने भएकाले धर्मशाला निर्माण गर्ने चलन थियो । “पहिले अहिलेको जस्तो होटलहरू थिएनन्, सडकको सुविधा पुगेको थिएन र गाडी पनि चल्दैनथे। एउटा ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभरि हिँड्नुपर्थ्यो । हिँड्दाहिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,” उपाध्यायले भन्नुभयो, “रातभरि त्यही धर्मशालामा बसेर भोलिपल्ट आफ्नो गन्तव्यमा पुगिन्थ्यो । अहिले त सडक सुविधा र सवारीसाधनका कारण एक-दुई दिन लाग्ने ठाउँमा पनि एकै दिनमा पुग्न सकिन्छ ।” सडक विस्तारले यात्रालाई सहज बनाए पनि त्यससँगै ग्रामीण समाजको मौलिक पहिचान बोकेका ऐतिहासिक संरचनाहरू भने संकटमा परेको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा इतिहासका साक्षीका रूपमा रहेका पाटीपौवा र धर्मशालाहरू भत्किने क्रम बढेको छ भने कतिपय स्थानमा तिनका अवशेषसमेत भेटिन छाडेका छन् । ग्रामीण सौन्दर्य र पुरानो जीवनशैलीसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय सरकार तथा सरोकारवाला निकायले पर्याप्त चासो दिनुपर्ने स्थानीयको माग छ । यात्रुको सुविधाका लागि निर्माण गरिएका पाटीपौवा र धर्मशालाको अस्तित्व पछिल्लो समय सडक विस्तारका कारण संकटमा परेको धवलागिरि गाउँपालिका-५ का रेमबहादुर पुन बताउनुहुन्छ । जिल्लाका विभिन्न स्थानमा रहेका दर्जनौँ पाटीपौवा र धर्मशालाहरू संरक्षण तथा उपयोगको अभावमा जीर्ण बन्दै गएको उहाँको भनाइ छ । तर बेनी नगरपालिका-६ ले भने यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा चासो दिँदै आएको जनाएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानियाँकाअनुसार वडाभित्र रहेका पुराना सम्पदाको संरक्षणका लागि वडा कार्यालयले निरन्तर पहल गरिरहेको छ । नगरपालिकाले समेत यस्ता सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो । आफ्नो वडामा रहेका मौलिक सम्पदाहरू क्रमशः हराउँदै जान थालेपछि तिनको संरक्षणका लागि वडा कार्यालय र स्थानीय युवालाई समेत जागरुक बनाइएको अध्यक्ष बानियाँको भनाइ छ ।
सडक विस्तारसँगै हराउँदै म्याग्दीका पुराना पधेँरा र ढुङ्गेधारा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






