Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सडकमा इभीको अनियन्त्रित रफ्तार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकमा इभीको अनियन्त्रित रफ्तार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ । कम सञ्चालन खर्च, पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने सुविधा र वातावरणमैत्री प्रविधिका कारण निजी तथा सार्वजनिक दुवै क्षेत्रमा इभीप्रतिको आकर्षण बढेको हो । तर, इभीको प्रयोगसँगै सडक दुर्घटना र सवारीमा आगलागीका घटनाले चिन्ता पनि थपिरहेका छन् । पछिल्लो समय भएका केही गम्भीर दुर्घटनाले इभीको सुरक्षा, चालकको दक्षता, सवारीको प्राविधिक अवस्था र नेपालको सडक पूर्वाधारबारे प्रश्न उठाएका छन् । कतै यात्रुवाहक इभी माइक्रो सडकबाट खसेर यात्रुको ज्यान गएको छ भने कतै गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा चालकले ज्यान गुमाएका छन् । घटना-१गत कात्तिक अन्तिमतिर मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको इभी माइक्रोबस दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्यायो । काठमाडौंबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट तल खसेर दुर्घटनाग्रस्त भयो । दुर्घटनामा १४ जनाको मृत्यु भयो । दुर्घटनामा एकै परिवारका ६ जनाले ज्यान गुमाएका थिए । घटना-२यही मंसिर पहिलो साता मकवानपुरकै भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो भने सातजना घाइते भए । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । घटना-३गत भदौ अन्तिम साता चितवनको भरतपुर महानगरपालिका-९ गोन्द्राङनजिक वसन्त चोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भयो । हेटौँडाबाट टाँडी हुँदै भरतपुरस्थित घर फर्किरहेका ५६ वर्षीय अमर पराजुलीले उक्त घटनामा ज्यान गुमाए । बा प्र ०१-०३० च ५५७९ नम्बरको जिएसी आयोन वाई प्लस विद्युतीय कारमा बिहान करिब ६ बजे आगलागी भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुरुमा कारको पछाडिको भागमा आगो लागेको थियो । त्यसपछि गाडी सडकको मुख्य लेन पार गर्दै सर्भिस लेनमा पुग्यो र एउटा खोल्सोमा कोल्टे परेर अडियो । त्यतिबेलासम्म आगो अगाडिको भागसम्म फैलिइसकेको थियो । आगो नियन्त्रणमा लिँदासम्म चालकको मृत्यु भइसकेको थियो । घटना-४गत साउन पहिलो साता काठमाडौंको चोभारमा गुडिरहेको निजी कारमा अचानक आगलागी हुँदा चालकसहित गाडीभित्र रहेका यात्रु आगलागीमा परेका थिए । बा ५ च ३०३८ नम्बरको निजी कारमा आगलागी भएको थियो । प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिक प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिन सफल भए पनि चालक गाडीभित्रै जलेको अवस्थामा फेला परेका थिए । गाडीको ढोका खुल्न नसकेको र भित्र धुवाँ भरिएका कारण त्यसबेला यात्रुको संख्या यकिन हुन सकेको थिएन । इभीमा किन आगलागी हुन्छ ?विज्ञहरूका अनुसार विद्युतीय गाडीमा आगलागी हुनुका कारणलाई मुख्यतः दुई भागमा हेर्न सकिन्छ । पहिलो, ब्याट्रीभित्र हुने आन्तरिक खराबी र दोस्रो, गाडीको अन्य विद्युतीय प्रणाली वा बाह्य कारणबाट हुने आगलागी । अधिकांश विद्युतीय गाडीमा लिथियम-आयन ब्याट्री प्रयोग हुन्छ । उत्पादनका क्रममा भएको सूक्ष्म त्रुटि, ब्याट्रीको आन्तरिक खराबी वा अनुचित चार्जिङका कारण पनि आगलागी हुनसक्छ । ब्याट्रीको तापक्रम असामान्य रूपमा बढ्दै गएपछि त्यसमा रासायनिक प्रतिक्रिया सुरु हुनसक्छ । एउटा सेलमा सुरु भएको तापक्रम वृद्धि अर्को सेलमा फैलिँदै जान्छ । थर्मल रनअवे सुरु भएपछि ब्याट्रीभित्रको तापक्रम तीव्र गतिमा बढ्दा त्यसले आगलागी र विस्फोट जस्ता जोखिम निम्त्याउन सक्छ । तर, ब्याट्री नै आगलागीको एक मात्र स्रोत होइन । गाडीको तार, १२ भोल्टको विद्युतीय प्रणाली, चार्जिङ पोर्ट, अन्य विद्युतीय उपकरण र बाह्य प्रज्वलन स्रोतबाट पनि आगो लाग्नसक्छ । अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड र नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले पनि क्षतिग्रस्त इभीको ब्याट्रीमा उच्च भोल्टेज, विषालु ग्यास र पुनः आगलागीको जोखिम रहने चेतावनी दिएका छन् । त्यसैले इभीमा आगलागी हुँदा तालिमप्राप्त जनशक्ति, उपयुक्त सुरक्षात्मक उपकरण, पर्याप्त पानी, तापक्रम निगरानी गर्ने थर्मल इमेजिङ क्यामेरा र विशेष उद्धार प्रक्रियाको आवश्यकता पर्छ । दुर्घटना किन बढिरहेका छन् ?इभी दुर्घटनाको चर्चा बढ्दै गए पनि दुर्घटनाको संख्या मात्र हेरेर इभीलाई अन्य सवारीभन्दा बढी असुरक्षित भन्न मिल्दैन । त्यसका लागि सडकमा गुडिरहेका कुल इभीको संख्या, तिनले तय गरेको दूरी, दुर्घटनाको प्रकृति र क्षतिको अनुपात तुलना गर्नुपर्छ । मेकानिकल इञ्जिनियरहरूका अनुसार इभीमा प्रयोग हुने मोटरले तत्कालै उच्च टर्क उत्पादन गर्छ । त्यसैले एक्सिलेटर थिच्नेबित्तिकै गाडीले तीव्र गति लिनसक्छ । परम्परागत पेट्रोल वा डिजेल गाडीमा इञ्जिनको गति क्रमशः बढ्दै गियरबक्समार्फत पांग्रासम्म शक्ति पुग्छ । तर, इभीमा मोटरले तुरुन्तै शक्ति उपलब्ध गराउने भएकाले चालकले एक्सिलेटरमा दिएको दबाबअनुसार गाडीले तत्काल प्रतिक्रिया दिन्छ । एक्सिलेटरमा बढी दबाब पर्दा गाडी अपेक्षाभन्दा तीव्र गतिमा अघि बढ्न सक्छ । चालकले त्यसलाई समयमै नियन्त्रण गर्न नसके दुर्घटना हुनसक्छ । नेपालको भौगोलिक बनावट इभी सञ्चालनका लागि चुनौती र अवसर दुवै हो । इभीले थोरै गतिमा पनि उच्च टर्क दिने भएकाले उकालो सडकमा राम्रो प्रदर्शन गर्नसक्छ । ओरालोमा रिजेनेरेटिभ ब्रेकिङ प्रणालीमार्फत केही ऊर्जा पुनः ब्याट्रीमा सञ्चित गर्न पनि सकिन्छ । तर, पहाडी सडकका साँघुरा घुम्ती, तीव्र ओरालो, कच्ची सडक, खाल्डाखुल्डी र कमजोर सडक संरचनाले जोखिम बढाउन सक्छन् । इभी दुर्घटनाका घटनापछि सवारी उत्पादक र आयातकर्ताको उत्पादन गुणस्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ । तर, प्रत्येक दुर्घटनाको प्राविधिक परीक्षण नगरी उत्पादनकै कमजोरी हो वा चालकको लापरबाही भन्ने निष्कर्ष निकाल्न सकिँदैन । जोखिम न्यूनीकरणका लागि अब के गर्ने ?इभी दुर्घटना र आगलागीको जोखिम घटाउन सरकार, उत्पादक, आयातकर्ता, चालक र उपभोक्ता सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । आयातअघि गुणस्तर परीक्षण । नेपाल भित्रिने इभीको ब्याट्री सुरक्षा, ब्रेकिङ प्रणाली, विद्युतीय वायरिङ, थर्मल म्यानेजमेन्ट र अण्डरबडी प्रोटेक्सनको प्रभावकारी परीक्षण गर्नुपर्छ । नेपालको भूगोल र सडकअनुसार सवारीको उपयुक्तता पनि जाँच्नुपर्छ । चालकलाई अनिवार्य प्रशिक्षण दिनुपर्छ । इभी चलाउनुअघि चालकलाई यसको एक्सिलेटर प्रतिक्रिया, ब्रेकिङ प्रणाली, रिजेनेरेटिभ ब्रेकिङ र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे व्यावहारिक प्रशिक्षण दिनुपर्छ । सार्वजनिक यातायातका चालकका लागि यस्तो प्रशिक्षण झनै आवश्यक छ । यस्तै, ब्याट्री, ब्रेक, टायर, सस्पेन्सन र विद्युतीय प्रणालीको नियमित परीक्षण गर्नुपर्छ । दुर्घटना वा खाल्डाखुल्डीमा गाडीको तल्लो भाग ठोक्किएको अवस्थामा प्राविधिक जाँच नगरी गाडी चार्ज गर्नु हुँदैन । इभीले नेपालको यातायात क्षेत्रमा नयाँ सम्भावना खोलेको छ । पेट्रोलियम पदार्थको आयात घटाउने, सञ्चालन खर्च कम गर्ने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने यसको सम्भावना महत्त्वपूर्ण छ । तर, नयाँ प्रविधिको विस्तारसँगै त्यसको सुरक्षाका लागि आवश्यक पूर्वाधार, मापदण्ड र जनशक्ति तयार पार्नु पनि उत्तिकै आवश्यक हुन्छ । यद्यपि, दुर्घटनाका केही घटनालाई आधार बनाएर सबै इभीलाई असुरक्षित भन्नु वैज्ञानिक हुँदैन । सरकारले विद्युतीय सवारीसाधनको आयात, बिक्री र सञ्चालनसम्बन्धी सुरक्षा मापदण्ड पुनरावलोकन गर्नुपर्ने आवाज उठेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो
Latest NewsJust now

बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१... ...

रातोपाटी
कोसी, वाग्मती र गण्डकी, तराईमा हुस्सु लाग्ने
Latest NewsJust now

कोसी, वाग्मती र गण्डकी, तराईमा हुस्सु लाग्ने

काठमाडौं । देशको हिमाली क्षेत्रमा शनिबार (मंसिर १२) दिउँसो आंशिक बादलको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ । यस दिन राति कोसी, मधेस र ...

केन्द्रबिन्दु
अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?
Latest NewsJust now

अमेरिकी डलरको भाउ बढ्यो अन्य विदेशी मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी सबैजसो मुद्राको मूल्य बढेको थियो। आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा छ। हिजो अमेरिकन डलर १ को ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement