Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सडकपेटीमा बिरुवा बेच्दै सुरु भएको यात्रा, ३७ वर्षदेखि माटोसँगै रमाइरहेका हरिशरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकपेटीमा बिरुवा बेच्दै सुरु भएको यात्रा, ३७ वर्षदेखि माटोसँगै रमाइरहेका हरिशरण
Photo / Coverage: विश्वखबर

चार हजार रुपैयाँको लगानीबाट सुरु भएको गौतम नर्सरीको यात्रा अहिले १५ लाखभन्दा बढीको पुँजी र वार्षिक १५ देखि २० लाख रुपैयाँको कारोबारसम्म पुगेको छ । विदेशको आकर्षक कमाइभन्दा आफ्नै माटो रोजेका हरिशरण गौतम अहिले हेटौँडामा नर्सरी व्यवसायका परिचित नाम बनेका छन् । काठमाडौं – सडकको छेउमा एउटा टोकरी थियो । टोकरीमा थिए तरकारीका साना–साना बिरुवा । विद्यालयबाट फर्किएपछि किशोर हरिशरण गौतम त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्थे । दिउँसो ४ बजे विद्यालय छुट्थ्यो, त्यसपछि सुरु हुन्थ्यो उनको अर्को पाठशाला–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला । यो विसं २०४५ सालतिरको कुरा हो । हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बस चल्थे । सडकमा मानिसको चहलपहल बढ्दै जान्थ्यो । हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घरअगाडि सडकपेटीमा बसेर बिरुवा बेचिरहेका हुन्थे । ग्राहकको प्रतीक्षामा राति अबेरसम्म बस्नुपर्ने अवस्था थियो । जाडोका दिनमा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किएका तीतामीठा सम्झना उनीसँग अझै ताजा छन् । त्यतिबेला नर्सरी व्यवसाय अहिले जस्तो सहज थिएन । तर हरिशरणले बोटबिरुवामै आफ्नो भविष्य देखिसकेका थिए । आफूले बेचेको बिरुवाबाट कसैले फल प्राप्त गर्थे, कसैले घरआँगन हरियो बनाउँथे त कसैले खेतबारीमा आम्दानीको स्रोत तयार पार्थे । यही काममा जीवनका ३७ वर्ष बिताएका हरिशरण अहिले ‘गौतम नर्सरी’का सञ्चालकका रूपमा परिचित छन् । सडकपेटीबाट सुरु भएको उनको यात्रा आज स्थापित व्यावसायिक पहिचानमा परिणत भएको छ । पाँच वटा बिरुवा एक रुपैयाँमा बेच्दाको समय मकवानपुरको हाडीखोलामा हरिशरणको पुख्र्यौली परिवार कृषि कर्ममा निर्भर थियो । पछि परिवार हेटौँडा बजारतर्फ सरे पनि खेतीपाती र बोटबिरुवासँगको सम्बन्ध टुटेन । सानैदेखि बिरुवा स्याहार्न सिकेका उनले विद्यालय पढ्दै गर्दा उत्पादन र बिक्रीमा समेत चासो राख्न थाले । त्यतिबेला उनका बुबाले दुईवटा कागतीका बिरुवा पाँच रुपैयाँमा बेच्थे । हरिशरण भने पाँचवटा तरकारीका बिरुवा एक रुपैयाँमा बिक्री गर्थे । अहिले सुन्दा सामान्य लाग्ने यही सानो कारोबारले उनको व्यावसायिक यात्राको जग बसाल्यो । उनी विगतका दिन सम्झँदै भन्छन्, बुबाले ग्राहकलाई तीन वर्षपछि फल्छ भन्दै बेच्ने गरेका कागतीका बिरुवामध्ये कतिपय अहिले ३० देखि ३५ वर्ष पुराना भएका छन् । एउटै बोटमा ७०–८० किलोदेखि एक क्विन्टलसम्म कागती फल्ने गरेको उनी सम्झन्छन् । उनलाई अझ रमाइलो लाग्ने कुरा के छ भने त्यतिबेला बिरुवा किन्ने परिवारका सन्तान र नातिनातिनासमेत अहिले गौतम नर्सरीमा बिरुवा किन्न आइपुग्छन् । एउटा बिरुवाबाट सुरु भएको विश्वास पुस्तान्तरण हुँदै गएको छ । हरिशरणको सफलतामा पारिवारिक सहकार्यको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । उनका बुबा तरकारीका बिरुवाको काम गर्थे भने उनी फूल तथा अन्य बिरुवाको हेरचाह र बिक्रीमा लाग्थे । बुबाले बिरुवा सार्दा उनी पानी हाल्थे, बुबाले बिरुवा मिलाउँदा उनी टोकरीमा प्याक गर्थे । “कसैले कसैलाई अह्राउनु पर्दैनथ्यो । आ–आफ्नो काम स्वतन्त्र भएर गर्थ्यौं”, उनी पुराना दिन सम्झन्छन् । विदेशको कमाइभन्दा आफ्नै माटो रोजे घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडामा विसं २०५०/५१ तिर उनको व्यवसाय दर्ता भयो । त्यसपछि २०५२ सालमा स्थायी लेखा नम्बर लिएर नर्सरीलाई औपचारिक व्यावसायिक स्वरूप दिए । तर व्यवसायलाई औपचारिक बनाउनु र निरन्तरता दिनु सहज थिएन । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । रोजगारीका अवसर सीमित थिए । विदेश जाने लहर बढिरहेको थियो । उनलाई पनि धेरैले विदेश जान सुझाउँथे । “यहाँ बुबाले धानिहाल्नुहुन्छ । विदेश गए मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ”, चिनजानका मानिसले उनलाई भन्ने गर्थे । तर हरिशरणलाई विदेश जानेभन्दा आफ्नै ठाउँमा केही गर्ने इच्छा थियो । विदेश गए पैसा कमाउन सकिए पनि वृद्ध बाबुआमा, दिदीबहिनी र आफन्तबाट टाढा हुनुपर्ने अवस्था आउँथ्यो । दसैँ, तिहार र तीजजस्ता चाडपर्व परिवारसँग मनाउने अवसरसमेत छुट्थ्यो । त्यसैले उनले विदेशको आकर्षक कमाइभन्दा आफ्नै माटो रोजे । मेहनत गर्न सके आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास उनमा थियो । समयक्रममा यही निर्णय उनको व्यावसायिक पहिचानको आधार बन्यो । चार हजारको लगानीबाट २० लाखसम्मको कारोबार हेटौँडा–१० मेनरोडमा रहेको गौतम नर्सरीमा अहिले दैनिक औसत ५० देखि ६० जना ग्राहक पुग्छन् । हरिशरण बिरुवा बिक्री गरेर मात्रै बस्दैनन् । किसान तथा सेवाग्राहीलाई बिरुवासम्बन्धी समस्या परे उनी आफैँ खेतबारी र घरआँगनमा पुगेर आवश्यक सल्लाह दिन्छन् । कुन ठाउँमा कुन बिरुवा उपयुक्त हुन्छ, कसरी रोप्ने, कसरी हुर्काउने र कसरी उत्पादन लिने भन्ने विषयमा उनी आफ्नो अनुभव बाँड्छन् । उनका अनुसार गौतम नर्सरीबाट वार्षिक करिब १५ देखि २० लाख रुपैयाँको कारोबार हुन्छ । विगतमा भाडामा लिएको डेढ कठ्ठा जग्गा अहिले आफ्नै स्वामित्वमा छ । त्यहाँ उनले घरसमेत बनाएका छन् । व्यवसाय सुरु गर्दाको चार हजार रुपैयाँको लगानी अहिले १५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । उनको नर्सरीमा मौसमी तथा सदाबहार फूल, फलफूल, जडीबुटी, तरकारी र सजावटका बिरुवा पाइन्छन् । फूलतर्फ सयपत्री, गोदावरी, लाहुरे, पिटुनिया र सेतोचाँप छन् । फलफूलमा सधैँ फल्ने आँप, काजु, जामुन, सपाट, लिची, मलेसियाबाट आउने रामबुतान, थाइल्यान्डबाट आउने क्यान्सर किलर, ब्ल्याकबेरी र कम चिसोमा पनि फलाउन सकिने स्याउका बिरुवा छन् । त्यस्तै रक्तचन्दन, ल्वाङ, जायफल, अश्वगन्धा, सर्पगन्धा र दालचिनीजस्ता जडीबुटीका बिरुवा पनि नर्सरीमा उपलब्ध छन् । तरकारीतर्फ काउली, बन्दा, गोलभेँडा, भन्टा, लसुन, प्याज र आलुका बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् । घर, कार्यालय तथा बगैँचा सजावटका लागि एरिका पाम, चाइना पाम, चाइना डल, लक्मी, बेम्बो, सेफलेरिया, सिमोनी, एग्लोनेमा, फिलोडेन्ड्रन र क्रिसमस ट्रीलगायतका बिरुवा पनि राखिएका छन् । हरिशरणका अनुसार हेटौँडाका करिब १० वटा नर्सरीले समग्रमा वार्षिक तीनदेखि चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छन् । उनको अनुभवमा नर्सरी व्यवसायमा एकैपटक ठूलो आर्थिक लाभ नहुन सक्छ, तर निरन्तर मेहनत गर्न सके परिवार चलाउन र आत्मनिर्भर बन्न सकिन्छ । १७ हजार माछाबाट ५२५ जातका जडीबुटीसम्म हरिशरणको व्यावसायिक यात्रा बिरुवा उत्पादन र बिक्रीमा मात्र सीमित रहेन । उनले हेटौँडाको पुष्पलाल स्मृति पार्कलाई पनि नयाँ पहिचान दिने सपना देखेका थिए । विसं २०६२र६३ देखि २०६५/६६ सम्म उनले हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल स्मृति पार्कको पोखरी व्यवस्थापनको जिम्मेवारी लिए । पोखरीमा वर्षभरि पानी जमाउने, डुङ्गा चलाउने, माछापालन गर्ने र त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको योजना थियो । त्यही योजनाअनुसार उनले पोखरीमा १७ हजार मागुर माछाका भुरा हाले । तर बर्खामा पोखरीको पानी ओभरफ्लो हुँदा सबै माछा बगेर गए । माछापालनबाट आम्दानी गर्ने उनको सपना पनि पानीसँगै बग्यो । त्यसपछि उनले अर्को महत्वाकाङ्क्षी योजना अघि सारे । पोखरी आसपासको क्षेत्रमा वर्णानुक्रमअनुसार ५२५ जातका दुर्लभ जडीबुटी रोपे । प्रत्येक बिरुवामा नेपाली, संस्कृत, अङ्ग्रेजी र वैज्ञानिक नाम लेखिएका एल्युमिनियमका प्लेट राखिएका थिए । उनको परिकल्पना त्यो क्षेत्रलाई नयाँ पुस्ता, वन विज्ञान र कृषि अध्ययन गर्ने विद्यार्थीका लागि खुला हर्बेरियम सङ्ग्रहालयका रूपमा विकास गर्नु थियो । तर उनले सोचेजस्तो संस्थागत सहयोग पाएनन् । सुरक्षाकर्मीको सरसफाइ अभियानका क्रममा जडीबुटीका बिरुवालाई झाडी ठानेर काटियो । उनको वर्षौंको मेहनत र अध्ययनबाट तयार भएको योजना अलपत्र पर्‍यो । यद्यपि त्यहाँ बचेको रक्तचन्दनको एउटा रुख देख्दा उनी अहिले पनि खुसी हुन्छन् । काटिएर ठुटो बनेको त्यो बिरुवा फेरि पलाएर हुर्किएको छ । तराई–मधेसको भूगोलमा पनि रक्तचन्दनजस्तो वनस्पति हुर्कन सक्छ भन्ने प्रमाणका रूपमा उनी त्यसलाई लिन्छन् । मकवानपुरका गाउँमा नयाँ खेतीको सम्भावना हरिशरणको सोच आफ्नै नर्सरीमा सीमित छैन । उनी मकवानपुरका विकट गाउँमा रोजगारी र आम्दानीका नयाँ विकल्प खोजिरहेका छन् । कैलाश, राक्सिराङ र मनहरीका केही क्षेत्रमा क्षणिक लाभका लागि गाँजा तथा अफिम खेतीमा मानिस लाग्ने गरेकोप्रति उनलाई चिन्ता छ । त्यस्ता क्षेत्रमा व्यावसायिक रूपमा फलफूल तथा बहुमूल्य वनस्पति खेती गर्न सके स्थानीयले दीर्घकालीन आम्दानी लिन सक्ने उनको बुझाइ छ । “यदि त्यही जमिनमा दीर्घकालीन आम्दानी दिने वनस्पति र फलफूल लगाउन सकिन्छ भने किन जोखिमपूर्ण बाटो रोज्ने रु” उनी प्रश्न गर्छन् । उनले मकवानपुरको कैलाश क्षेत्रमा बुद्धचित्त खेतीको सम्भावना देखेका छन् । एउटै बोटबाट ११ लाख रुपैयाँसम्मको उत्पादन भएको उदाहरणसमेत आफूले देखेको उनी बताउँछन् । राक्सिराङ र मनहरीमा काजु खेतीको सम्भावना रहेको उनको भनाइ छ । चार–पाँच वर्षपछि एउटा काजुको बोटबाट करिब २० किलो उत्पादन लिएर वार्षिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको अनुमान छ । त्यस्तै, मनहरी र राक्सिराङमा रातो केराको खेती गर्न सकिने उनी बताउँछन् । करिब १८ महिनामै उत्पादन लिन सकिने भएकाले किसानका लागि यो उपयोगी हुन सक्ने उनको बुझाइ छ । १५ देखि २० वर्षमा तयार हुने रक्तचन्दन र अगरउडजस्ता बहुमूल्य वनस्पतिलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्ने उनको सुझाव छ । सिम्भञ्ज्याङ र चुनियाँजस्ता चिसा लेकाली क्षेत्रमा किबी तथा तल्लो भेगमा ड्रागन फ्रुटको व्यावसायिक सम्भावना रहेको उनी बताउँछन् । अनुदानभन्दा सीप, ऋण र बजारको आवश्यकता सरकारले किसानलाई परम्परागत शैलीमा सिसौ, खयर वा केही आँप र लिचीका बिरुवा बाँडेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्न नहुने हरिशरणको धारणा छ । उनका अनुसार किसानलाई अनुदान वितरण गर्नुभन्दा निब्र्याजी ऋण, व्यावहारिक तालिम र व्यावसायिक खेती गर्न चाहनेलाई प्रारम्भिक आर्थिक सहयोग दिनु आवश्यक छ । स्थानीय भूगोल र हावापानीअनुसार उपयुक्त बाली छनोट, उत्पादन प्रविधि र बजारको सुनिश्चिततामा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । “त्यसो गर्न सके आफ्नै गाउँठाउँको माटो मलिलो हुन्थ्यो, हरिया बोटबिरुवाले गाउँघर हरियाली बन्थ्यो भने रोजगारीका लागि कुनै पनि नेपाली युवा बाध्य भएर विदेश जानु पर्दैनथ्यो”, उनी भन्छन् । हरिशरणका लागि नर्सरी व्यवसाय मौसमी व्यापार होइन । उनका अनुसार यो वर्षभरि चल्ने पेसा हो । जन्मदेखि मृत्युसम्म, विवाहदेखि नयाँ घर निर्माणसम्म, उत्सवदेखि सरकारी कार्यालयको सजावटसम्म फूल र हरियालीको आवश्यकता पर्छ । त्यसैले उनी बिहान उठेदेखि बेलुका नसुतुञ्जेल बिरुवाकै स्याहारसुसारमा व्यस्त हुन्छन् । जिल्ला प्रशासन कार्यालय, मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयमा समेत गौतम नर्सरीबाट बिरुवा आपूर्ति र बगैँचा व्यवस्थापनको काम हुँदै आएको उनी बताउँछन् । सडकपेटीमा पाँच वटा बिरुवा एक रुपैयाँमा बेच्दै सुरु भएको उनको यात्रा आज व्यावसायिक पहिचानमा पुगेको छ । बीचमा माछा बगे, जडीबुटी काटिए र केही सपना अधुरा रहे । तर माटोप्रतिको मोह घटेन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’
Latest NewsJust now

‘हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो’

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानद्ववारा संयुक्त रूपमा आयोजित ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर्स, क्रायोस्फियर एन्ड रिजिलियन्स अन्डर ओभरसुट, शेयर्ड रिस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमालमा देखिएको […] ...

लोकपथ
एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो
Latest NewsJust now

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा... ...

रातोपाटी
मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?
Latest NewsJust now

मातृत्वको भारी मूल्य : बच्चा जन्माएको २० वर्षपछि पनि किन घट्दैन महिलाको पीडा ?

पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् । बच्चा जन्माउने क्रममा महिलाको ज्यान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play