काठमाडौं । लोकप्रिय नेपाली हास्य टेलिशृंखला ‘सक्किगोनी’को चौथो सिजन आउने भएको छ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सिजन चाँडै दर्शकमाझ ल्याउन लागिएको घोषणा गर्नुभएको हो । केही समयको प्रतीक्षापछि टेलिशृंखलाको नयाँ सिजन प्रसारण गर्न लागिएको जानकारी दिँदै घिमिरेले थप विवरण केही दिनमै सार्वजनिक गरिने बताउनुभएको छ । ‘केही समयको प्रतीक्षापछि सक्किगोनी सिजन ४ आउँदैछ । थप अपडेटहरू केही दिनमै सार्वजनिक गर्नेछौं’, उहाँले भन्नुभएको छ । घिमिरेले घोषणासँगै नयाँ सिजनको पोष्टरसमेत सार्वजनिक गर्नुभएको छ । ‘जेपिटी क्रियशन प्रिजेन्ट्स’ उल्लेख गरिएको पोष्टरमा ‘सक्किगोनी सिजन ४’ र ‘कमिङ सून’ लेखिएको छ । पोष्टरमा टेलिशृंखलाका चर्चित पात्र पाँडे (अर्जुन घिमिरे) र जिग्री (कुमार कट्टेल) को एनिमेटेड अवतार देखाइएको छ । यसअघि प्रसारण भएका सिजनबाट दर्शकमाझ लोकप्रियता कमाउन सफल ‘सक्किगोनी’को नयाँ सिजनलाई लिएर दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, चौथो सिजनको प्रसारण मिति, प्रसारण हुने माध्यम तथा अन्य प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन ।
‘सक्किगोनी’को चौथो सिजन आउने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






