काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवनमा भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान र संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीबारे पनि चासो राखेका थिए । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए । सो अवसरमा उहाँले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि राष्ट्रपतिलाई जानकारी गराए । त्यस्तै, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुखले जानकारी गराएका थिए । सचिवालयका अनुसार सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए ।
संसद्को अधिवेशन र प्रभावकारी सञ्चालनबारे राष्ट्रपतिसँग सभामुखको छलफल

Read Complete Original Article
Published originally on विश्वखबर






