सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग काठमाडौंमा भएको उच्चस्तरीय द्विपक्षीय बैठकको भिडियो तथा तस्बिर व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरेको विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्रोतका अनुसार श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएपछि १२ घण्टे स्पष्टीकरण सोध्ने विषयमा छलफल भइरहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले यसबारे उच्चपदस्थ अधिकारीहरूसँग परामर्श गरिरहेका छन्। गत कात्तिक ११ देखि १३ गतेसम्म काठमाडौंमा नेपाल सशस्त्र प्रहरी बल र भारतको एसएसबीबीच १०औँ द्विपक्षीय समन्वय बैठक भएको थियो। बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखसहित उच्च अधिकारी सहभागी थिए। सशस्त्र प्रहरीको सीमा सुरक्षा विभागका निमित्त प्रमुखसमेत रहेका श्रेष्ठले बैठकको एउटा भिडियो र ११ वटा तस्बिर व्यक्तिगत फेसबुक खाताबाट सार्वजनिक गरेका थिए। विवाद भएपछि उनले ती सामग्री हटाएका थिए। दुई देशबीचको संवेदनशील सुरक्षा बैठकका दृश्य व्यक्तिगत सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु संगठनको आचरणविपरीत भएको भन्दै प्रधान कार्यालयले स्पष्टीकरण सोधेको हो। सशस्त्र प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्थायी आदेश, २०७५ ले संगठनको नीतिविपरीत सुरक्षा गतिविधि र संवेदनशील सूचना सार्वजनिक गर्न निषेध गरेको छ। नियम उल्लंघन गरे नसिहतदेखि बढुवा रोक्का र सेवाबाट हटाउनेसम्मको विभागीय कारबाही हुन सक्छ। श्रेष्ठ यसअघि पनि विवादमा पर्दै आएका अधिकारी हुन्। उनीमाथि ललितपुरको ऐतिहासिक राणाकालीन मानभवन भत्काउँदा मौज्दातमा राखिएको करोडौँ मूल्यको काठ दुरुपयोग गरेको आरोपमा विभिन्न सरकारी निकायमा उजुरी परेको थियो। उक्त विषयमा वन कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि प्रक्रिया अघि बढाएका थिए। त्यस्तै, पशुपति बाहिनीको प्रमुख हुँदा कार्यालयका कर्मचारीलाई परिचालन गरी छोराको जन्मदिन मनाएको, रासन व्यवस्थापनमा अनियमितता गरेको तथा मातहतका अधिकृतलाई दुर्व्यवहार गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ।
संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी

Read Complete Original Article
Published originally on पर्दाफास






