Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

शिवसताक्षीमा रास्वपाबाट नगर प्रमुखका १० आकांक्षी, कसको भाग्य चम्केला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिवसताक्षीमा रास्वपाबाट नगर प्रमुखका १० आकांक्षी, कसको भाग्य चम्केला ?
Photo / Coverage: नेपालन्युज

झापा।स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा गर्न र निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गर्न बाँकी रहँदै झापाको शिवसताक्षी नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताबीच आगामी निर्वाचनमा स्थानीय तहको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको हो। यसैबीच, शिवसताक्षी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगर प्रमुख पदका लागि १० जनाले आकांक्षा व्यक्त गरेका छन्। उनीहरूले पार्टीले सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’ मा आफ्नो नाम दर्ता गराएका हुन्। क्यान्डिडेट क्लबमा नाम दर्ता गराउँदैमा सम्बन्धित व्यक्तिले पार्टीबाट उम्मेदवारी पाउने निश्चित भने हुँदैन। उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको विवरण संककलन गर्ने, उनीहरूको योग्यता, क्षमता, पृष्ठभूमि र नेतृत्वदायी भूमिकाको मूल्याङ्कन गर्ने उद्देश्यले पार्टीले यो व्यवस्था गरेको पार्टीका एक नेताले बताए। रास्वपाका प्रतिनिधिसभा सदस्य शम्भु ढकाल ‘सुस्केरा’ का अनुसार क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका व्यक्तिहरूमध्येबाटै नगर प्रमुखको उम्मेदवार छनोट गरिनेछ। आकांक्षीहरूले पेस गरेका आवेदनमाथि छानबिन गरी प्राप्त अंकका आधारमा पार्टीले उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउने उनले बताएका छन्। उनका अनुसार उम्मेदवार छनोट प्रक्रियामा १५ प्रतिशत केन्द्रीय कमिटीको सुझबुझ र सल्लाह समेत समेटिने प्रावधान छ। आवेदन दिएका १० जनाको योग्यता, क्षमता तथा अन्य आवश्यक मापदण्ड पूरा नभए पार्टीले वैकल्पिक उम्मेदवार खोज्न सक्ने उनले बताए। यद्यपि नगर प्रमुख पदका लागि आकांक्षा व्यक्त गर्ने व्यक्तिहरू कमजोर हुनु नहुने उनको भनाइ छ। प्राप्त जानकारीअनुसार वडा नम्बर १ बाट सबैभन्दा बढी ३ जनाले नगर प्रमुख पदमा इच्छा व्यक्त गरेका छन्। पूर्णबहादुर लकान्द्री, चन्द्रवीर नेम्बाङ र टंक बास्तोलाले क्यान्डिडेट क्लबमा नाम दर्ता गराएको समाचार श्रोतले बताएको छ। वडा नम्बर २, ३, ४ र ५ बाट भने हालसम्म कसैले पनि नगर प्रमुख पदका लागि इच्छा व्यक्त गरेका छैनन्। त्यस्तै, वडा नम्बर ६ बाट टेकनाथ अधिकारी, वडा नम्बर ७ बाट उद्धव अधिकारी र वडा नम्बर ८ बाट अग्निबहादुर कार्कीले आवेदन दिएका छन्। वडा नम्बर ९ बाट तुलसीराम खनाल र सञ्जोग बराइली तथा वडा नम्बर ११ बाट कालीप्रसाद रिजाल र गंगाराम कडरियाले नगर प्रमुख पदका लागि आकांक्षा देखाएका छन्। को हुन् आकांक्षीहरू ? वडा नम्बर १ का पूर्णबहादुर लकान्द्री लामो समयदेखि संस्थागत शिक्षा क्षेत्रमा क्रियाशील अनुभवी शिक्षासेवी हुन्। स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन गरेका उनी २०६२ सालमा तेह्रथुमबाट झापाको बिर्तामोड आएका थिए। हाल उनी शिवसताक्षी नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। उनले स्थानीय लक्ष्मीनारायण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै आएका छन्। लकान्द्री रास्वपाको नगर सचिव समेत हुन्। उनी लोकतान्त्रिक विचार, स्वच्छ छवि र इमानदार कार्यकर्ताका रूपमा परिचित छन्। उनी झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको सचिवालय सदस्य समेत हुन्। उनी सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गराएका निवृत्त शिक्षक हुन्। सोही वडाका अर्का आकांक्षी चन्द्रवीर नेम्बाङ पुराना राजनीतिकर्मी हुन्। नेपाली कांग्रेसको सिफारिसमा उनी तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको उपाध्यक्ष समेत बनेका थिए। नेपाली कांग्रेस परित्याग गरेपछि नेम्बाङ नेपाल सुशासन पार्टीका संस्थापक केन्द्रीय उपाध्यक्ष बनेका थिए। पार्टी अध्यक्ष रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएपछि उनी पनि रास्वपामा प्रवेश गरेका हुन्। नेम्बाङले आफ्नो जीवनको लामो समय नेपाली कांग्रेसको राजनीतिमा बिताएका छन्। कांग्रेसमा रहँदा पटक–पटक पार्टी नेतृत्वबाट उपेक्षित भएको महसुस गरेका उनी कांग्रेस छाडेपछि नेपाल सुशासन पार्टीमा आबद्ध भएका थिए। पछिल्लो समय रास्वपामा प्रवेश गरेसँगै उनी नगर प्रमुखका बलियो आकांक्षीका रूपमा देखिएका छन्। सोही वडाका टंक बास्तोला शैक्षिक उद्यमी हुन्। उनी संस्थागत विद्यालयका सञ्चालक समेत हुन्। उनको स्थायी बसोबास शिवसताक्षी नगरपालिका–१ मा भए पनि शैक्षिक संस्था कञ्चनजंङगा वोर्डिङ स्कूल भने वडा नम्बर ५ स्थित जनतामा रहेको छ। वडा नम्बर ६ का टेकनाथ अधिकारी हार्डवेयर व्यवसायी हुन्। हल्दारचोकमा उनको हार्डवेयर पसल सञ्चालनमा छ। वडा नम्बर ७ का उद्धव अधिकारी वैदेशिक रोजगारीबाट फर्किएपछि चन्द्रडाँगी क्षेत्रमा व्यवसाय गर्दै आएका छन्। वडा नम्बर ८ का अग्निबहादुर कार्की कानुन व्यवसायी हुन्। वडा नम्बर ९ का तुलसीराम खनाल रास्वपाका संस्थापक नगर सभापति हुन् भने सोही वडाका सञ्जोग बराइली सामाजिक सञ्जालमा चर्चित कन्टेन्ट क्रिएटरका रूपमा परिचित छन्। वडा नम्बर ११ का कालीप्रसाद रिजाल राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका सेवा निवृत्त प्रधानाध्यापक हुन्। सोही वडाका गंगाराम कडरिया भने रास्वपाका बहालवाला नगर सभापति हुन्। पुराना राजनीतिक पृष्ठभूमिका आकांक्षी शिवसताक्षीमा नगर प्रमुख पदका लागि आकांक्षा व्यक्त गरेका १० जनाकै आ–आफ्नै राजनीतिक, सामाजिक तथा व्यावसायिक पृष्ठभूमि छ। उनीहरूमध्ये कोही लामो समयदेखि राजनीतिमा सक्रिय छन् भने कोही शिक्षा, कानुन, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन्। पुराना राजनीतिक दल र तिनको सत्ता सञ्चालनप्रति असन्तुष्टि जनाउँदै आएका मतदाता माझ नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढिरहेको चर्चा छ। स्थानीय तहमा यसअघि रास्वपाले नगर नेतृत्वको अवसर पाएको छैन। त्यसैले आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिलाई मतदाताले कसरी लिन्छन् भन्ने विषय पनि चासोको केन्द्रमा छ। तर रोचक पक्ष के छ भने रास्वपाबाट नगर प्रमुख बन्न आकांक्षा व्यक्त गरेका १० जनामध्ये अधिकांशको राजनीतिक तथा सामाजिक पृष्ठभूमि पुरानै राजनीतिक शक्ति वा संस्थासँग जोडिएको छ। पुराना दलमा राजनीति गरेका तथा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरू नयाँ राजनीतिक शक्तिमा आबद्ध भएर नेतृत्वको दौडमा देखिएका छन्। नगरका शिवगञ्ज, झिलझिले, पाराबारी, मङ्गलबारे र बोलोचोक क्षेत्रका स्थानीयसँग गरिएको कुराकानी तथा संकलित अभिमतमा १० जनाकै नाम उत्तिकै चर्चामा रहेको पाइएको छ। शिक्षा, राजनीति, व्यवसाय, सामाजिक गतिविधि र पार्टीभित्रको जिम्मेवारीका आधारमा सबै आकांक्षीले आ–आफ्नो पहिचान बनाएका छन्। अब क्यान्डिडेट क्लबमा नाम दर्ता गराएका १० जनाको आवेदनमाथि हुने छानबिन, मूल्याङ्कन र प्राप्त अंकका आधारमा रास्वपाले कसलाई नगर प्रमुखको उम्मेदवार बनाउँछ र कसको भाग्य चम्कन्छ भन्ने विषय प्रतीक्षाको विषय बनेको छ। अन्तिम निर्णय भने पार्टीको छनोट प्रक्रियाले नै गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)
Latest NewsJust now

एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबिच खेल भइरहेको छ । जारी तेस्रो संस्करणमा दुवै टोलीको यो छैटौँ खेल हो । जनकपुरले २ खेल जित्दा... ...

रातोपाटी
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार
Latest NewsJust now

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

• विदेशमा रहेका नेपाली दाजुभाइले तिहार मनाउन सामाजिक सञ्जाल र फोनको माध्यमबाट दिदीबहिनीलाई टिका लगाउने योजना बनाएका छन्। • तिहारको अवसरमा परिवारसँगको भेट्न नसक्दा उनीहरू भावुक हुँदै तिहारको सम्झना गर्दैछन् र विभिन्न तरिकाले एक अर्कालाई शुभकामना साटासाट गर्ने प्रयासमा छन्। • परदेशमा रहेका नेपालीहरूले चाडपर्व मनाउनका लागि नयाँ तरिकाहरू अपनाउँदै, साथीभाइ र चेलिबेटीहरूसँग टिका ग्रहण गर्ने र शुभकामना साटासाट गर्ने ...

नेपालबहस
सवारी दुर्घटनामा दश जना घाइते
Latest NewsJust now

सवारी दुर्घटनामा दश जना घाइते

बिन्द्र वाम्बुले राईउदयपुर, कात्तिक २४ गते । उदयपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play