जनकपुरधाम । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको भोजपुरी छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गरी निर्माण गरिएको गीतमा मधेश प्रदेशको कला, संस्कृति र धार्मिक महत्त्व झल्काइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको गीतको निर्माण चलचित्र निर्मात्री तथा समाजसेवी शर्मिला थापाले गर्नुभएको हो । उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियो जनकपुरधामस्थित जानकी मन्दिर, राजदेवी मन्दिर र गंगासागरमा छायांकन गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गर्दै मधेसको कला, संस्कृति र धार्मिक परम्पराको प्रवर्द्धनमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता जनाउनुभयो । शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो निर्देशन कमलेश सिंह (काम ली)ले गर्नुभएको हो । भिडियोमा शर्मिला थापा, निभा यादव, सिमरन साह, अमृता साह, सिमरन सोनीलगायत कलाकारको अभिनय छ । निर्मात्री थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई गीतसंगीत तथा चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले आफू निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले निर्माण गरेको छोरीहरूप्रति समर्पित चलचित्र ‘मायाजाल’ छिट्टै प्रदर्शनमा आउने र नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा रिलिज हुने जानकारीसमेत दिनुभयो ।
शर्मिलाले ल्याइन छठ गीत ‘करिले परबिया’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






