काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले शंखधर साख्वालाई नेपाल संवत्का संस्थापकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताइन्। व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उनको भनाइ छ। “शंखधर साख्वा नेपाल संवत्को संस्थापककर्ता मात्र होइन, उहाँलाई समाजप्रतिको उत्तरदायी र परोपकारको प्रतीकका रूपमा लिनुपर्दछ,” उनले भनिन्, “व्यक्तिको महानता जीवनमा कति कमायौँ भन्नेमा भन्दा समाजमा कति दिन सक्यौँ र सकारात्मक परिवर्तनका लागि कस्तो योगदान गर्न सक्यौँ भन्नेमा मापन हुनुपर्छ।” राज्य कर संकलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सीमित हुन नहुने डंगोलले बताइन्। विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उनको भनाइ छ। “राज्य भनेको कर लिने अनि प्रशासन चलाउने मात्र संयन्त्र होइन। राज्य भनेको दिनदुःखी, सीमान्तकृत, पिछडिएको, विपन्न वर्ग र दुःखमा परेका नागरिकको भलो गर्न सक्ने संस्था हो,” उनले भनिन्। लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य, शिक्षा, न्याय, सामाजिक सुरक्षा तथा नागरिकका विभिन्न अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन र कार्यक्रम आवश्यक रहेको बताइन्। “लोककल्याणकारी राज्यमा सदैव केन्द्रबिन्दुमा आम नागरिक हुनुपर्दछ। त्यसैले स्वास्थ्य, शिक्षा, न्याय, सामाजिक तथा नागरिकका विभिन्न अधिकारका विषयमा राज्यले गहन विचार–विमर्श गरी नागरिकमैत्री नीति, कानुन र कार्यक्रम ल्याउन जरुरी छ,” उनले भनिन्। काठमाडौं महानगरपालिकाले पनि लोककल्याणकारी राज्यको भावना र जनभावनाअनुसार काम गरिरहेको उनले बताइन्। नागरिकको सहजताका लागि महानगरले स्वास्थ्य र न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ। महानगरले ‘बाइक एम्बुलेन्स’ सेवा, निःशुल्क कानुनी सहायता कार्यक्रम तथा ‘झिलिमिली सहर’ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिइन्। तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइए पनि प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको उनले बताइन्। आगामी दिनमा ‘झिलिमिली सहर’ अभियानलाई निरन्तरता दिने उनले उल्लेख गरिन्। कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण गर्ने तयारी गरेको जानकारीसमेत दिइन्। उनका अनुसार निवास निर्माणका लागि मंसिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको छ। जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै महानगरले निर्माण प्रक्रिया अघि बढाएको उनले बताइन्। – न्युज एजेन्सी नेपाल
शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





