Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

विषाक्त हावाको सहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
विषाक्त हावाको सहर
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। काठमाडौँको बिहान अब स्वच्छ हावाबाट होइन, धुलो र धुवाँबाट सुरु हुन थालेको छ। घरबाहिर निस्कनेबित्तिकै नाक पोल्ने, घाँटी खसखसाउने, आँखा चिलाउने र श्वास फेर्न असहज हुने समस्या उपत्यकावासीका लागि सामान्यजस्तै बन्दै गएको छ। सडकमा गुड्ने सवारीसाधनको धुवाँ, निर्माणस्थलबाट उड्ने धुलो, उद्योग तथा इँटाभट्टाको उत्सर्जन र प्रतिकूल मौसमी अवस्थाले काठमाडौँको हावालाई दिनदिनै प्रदूषित बनाइरहेका छन्। अन्तर्राष्ट्रिय वायुगुणस्तर अनुगमन संस्था आईक्यूएयरले सार्वजनिक गरेको तथ्याङ्कले पनि काठमाडौँको प्रदूषण अवस्था चिन्ताजनक रहेको देखाउँछ। मङ्सिर २ गते बिहान ११ बजे सार्वजनिक तथ्याङ्कअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित प्रमुख सहरको सूचीमा तेस्रो स्थानमा थियो। त्यसबेला यहाँको वायुगुणस्तर सूचकाङ्क १८३ पुगेको थियो। काठमाडौँको हावा प्रदूषित हुनु केवल वातावरणीय समस्या होइन। यो नागरिकको स्वास्थ्य, सहरी व्यवस्थापन, सार्वजनिक यातायात र सरकारी जवाफदेहितासँग जोडिएको विषय हो। उक्त सूचीमा पाकिस्तानको लाहोर ३९८ सहित पहिलो र बङ्गलादेशको ढाका २२० सहित दोस्रो स्थानमा थिए। काठमाडौँको वायुगुणस्तर सूचकाङ्क १८३ पुग्नु भनेको हावा अस्वस्थकर तहमा पुगेको सङ्केत हो। यस्तो अवस्थामा संवेदनशील समूह मात्र नभई स्वस्थ व्यक्तिले समेत प्रदूषणको असर अनुभव गर्न सक्छन्। काठमाडौँको हावा प्रदूषित हुनु केवल वातावरणीय समस्या होइन। यो नागरिकको स्वास्थ्य, सहरी व्यवस्थापन, सार्वजनिक यातायात र सरकारी जवाफदेहितासँग जोडिएको विषय हो। प्रदूषणको मात्रा बढिरहँदा यसको स्रोत नियन्त्रणमा सरकारको प्रयास कति प्रभावकारी छ भन्ने प्रश्न पनि उठेको छ। स्वयम्भूबाट धमिलो काठमाडौँ नियाल्दै मानिसहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी अस्वस्थकर हावाको जोखिम अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने वायुगुणस्तर सूचकाङ्कअनुसार शून्यदेखि ५० सम्मको अवस्था राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थकर र १५१ देखि २०० सम्म अस्वस्थकर मानिन्छ। त्यस्तै, २०१ देखि ३०० सम्म अति अस्वस्थकर र ३०१ भन्दा माथिको अवस्था जोखिमपूर्ण मानिन्छ। यस वर्गीकरणअनुसार काठमाडौँको सूचकाङ्क १८३ पुग्नु सामान्य अवस्था होइन। यस्तो हावामा लामो समय बिताउँदा खोकी लाग्ने, घाँटी खसखसाउने, आँखा पोल्ने तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। दम, दीर्घकालीन फोक्सोको रोग र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा जोखिम थप बढ्न सक्छ। काठमाडौँमा पटकपटक देखिने उच्च प्रदूषणले उपत्यकाको हावा सुधारका लागि दीर्घकालीन र प्रभावकारी उपाय आवश्यक रहेको देखाउँछ। बालबालिका, वृद्धवृद्धा र गर्भवती महिला प्रदूषणबाट बढी प्रभावित हुन सक्ने समूह हुन्। बालबालिकाको फोक्सो विकासकै क्रममा हुने भएकाले प्रदूषित हावाको लामो सम्पर्कले उनीहरूको श्वासप्रश्वास प्रणालीमा असर पार्न सक्छ। वृद्धवृद्धा तथा पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिमा पनि जोखिम बढी हुन्छ। वायुगुणस्तरको अवस्था दिन र समयअनुसार परिवर्तन हुने भएकाले कुनै एक समयको तथ्याङ्कलाई सधैँको अवस्था मान्न मिल्दैन। तर काठमाडौँमा पटकपटक देखिने उच्च प्रदूषणले उपत्यकाको हावा सुधारका लागि दीर्घकालीन र प्रभावकारी उपाय आवश्यक रहेको देखाउँछ। फाइल तस्बिर फोक्सोदेखि मुटुसम्म असर वायु प्रदूषणलाई सामान्य खोकी, रुघाखोकी वा घाँटी दुख्ने समस्याका रूपमा मात्र बुझ्नु हुँदैन। प्रदूषित हावामा रहेका सूक्ष्म कण श्वासप्रश्वाससँगै शरीरभित्र प्रवेश गर्छन्। विशेषगरी अत्यन्त साना कण फोक्सोको गहिराइसम्म पुग्न सक्छन्। यस्ता कणको सम्पर्कले शरीरमा सुजन गराउने र विभिन्न स्वास्थ्य समस्या निम्त्याउने जोखिम हुन्छ। लामो समयसम्म प्रदूषित हावामा बस्दा फोक्सोको कार्यक्षमता कमजोर हुने, दम बढ्ने र दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्छ। वायु प्रदूषण फोक्सोको क्यान्सरको जोखिमसँग पनि सम्बन्धित छ। प्रदूषणको असर फोक्सोमा मात्र सीमित हुँदैन। सूक्ष्म प्रदूषित कणले रक्तनलीमा असर पार्न, सुजन बढाउन र मुटुसम्बन्धी रोगको जोखिम बढाउन सक्छन्। यसले हृदयाघात र मस्तिष्कघातको जोखिमसमेत बढाउन सक्ने विभिन्न वैज्ञानिक अध्ययनले देखाएका छन्। उपत्यकाको भौगोलिक बनावट, सवारीसाधनको चाप, निर्माण गतिविधि, उद्योगधन्दा, इँटाभट्टा र फोहोर जलाउने प्रवृत्तिलगायतका कारणले प्रदूषण बढाइरहेका छन्। प्रदूषणको असर सधैँ तत्काल देखिँदैन। लामो समयसम्म प्रदूषित हावाको सम्पर्कमा रहँदा शरीरमा क्रमशः असर पर्दै जान सक्छ। त्यसैले केही दिनको मौसमी असहजता ठानेर यसलाई बेवास्ता गर्नु उचित हुँदैन। उपत्यकालाई घेरेको प्रदूषण वातावरण विभागका सूचना अधिकारी कञ्चनकुमार नायकका अनुसार काठमाडौँको वायु प्रदूषण बढ्नुमा एउटै कारण जिम्मेवार छैन। उपत्यकाको भौगोलिक बनावट, सवारीसाधनको चाप, निर्माण गतिविधि, उद्योगधन्दा, इँटाभट्टा र फोहोर जलाउने प्रवृत्तिलगायतका कारणले प्रदूषण बढाइरहेका छन्। चारैतिर पहाडले घेरिएको काठमाडौँ उपत्यकामा हावाको आवागमन कमजोर हुँदा प्रदूषित कण लामो समयसम्म जमिननजिकै रहन सक्छन्। विशेषगरी चिसो मौसममा तापक्रम उल्टिने अवस्था सिर्जना हुँदा माथिल्लो तहको न्यानो हावाले तल्लो तहको चिसो हावालाई थिचेर राख्न सक्छ। यस्तो अवस्थामा धुवाँ र प्रदूषित कण माथिल्लो वायुमण्डलमा फैलिन नपाई उपत्यकाभित्रै जम्मा हुन्छन्। इँटाभट्टा, सिमेन्ट उद्योग तथा अन्य कारखानाबाट निस्कने धुवाँ, घरायसी इन्धनको प्रयोग र प्लास्टिक तथा फोहोर जलाउने गतिविधिले पनि प्रदूषण बढाउँछन्। सुक्खा मौसममा वन डढेलोबाट निस्कने धुवाँले समेत वायुगुणस्तरमा असर पार्न सक्छ। सवारीसाधनबाट निस्कने धुवाँ प्रदूषणको अर्को प्रमुख स्रोत हो। काठमाडौँमा सवारीसाधनको चाप बढ्दै गएको छ। पुराना तथा नियमित मर्मत नगरिएका सवारीसाधनबाट निस्कने धुवाँले हावामा प्रदूषक थप्छ। सडकमा हुने लामो जामले पनि सवारीसाधनको उत्सर्जन बढाउन सक्छ। त्यस्तै, सडक विस्तार, भवन निर्माण, सडक भत्काउने तथा मर्मत गर्ने कामबाट निस्कने धुलोले वायुगुणस्तर बिगारिरहेको छ। निर्माण सामग्री खुला रूपमा राख्ने, ढुवानी गर्दा नछोप्ने र निर्माणस्थलमा धुलो नियन्त्रणका उपाय नअपनाउने प्रवृत्तिले समस्या थप जटिल बनाएको छ। इँटाभट्टा, सिमेन्ट उद्योग तथा अन्य कारखानाबाट निस्कने धुवाँ, घरायसी इन्धनको प्रयोग र प्लास्टिक तथा फोहोर जलाउने गतिविधिले पनि प्रदूषण बढाउँछन्। सुक्खा मौसममा वन डढेलोबाट निस्कने धुवाँले समेत वायुगुणस्तरमा असर पार्न सक्छ। फाइल तस्बिर हिउँदमा बढ्दो जोखिम नेपालमा विशेषगरी हिउँद र सुक्खा मौसममा वायु प्रदूषणको समस्या चर्किने गरेको छ। वर्षायाममा पानी पर्दा हावामा रहेका केही प्रदूषित कण जमिनमा झर्न सहयोग पुग्छ। तर वर्षा कम हुन थालेपछि सडक, निर्माणस्थल र खुला जमिनबाट धुलो उड्ने सम्भावना बढ्छ। चिसो मौसममा बिहान र राति हावाको गति कम हुन सक्छ। उपत्यकाको भौगोलिक बनावट र तापक्रम उल्टिने अवस्थाले प्रदूषित हावा बाहिर फैलिन कठिन बनाउँछ। सवारीसाधन, उद्योग र अन्य स्रोतबाट निस्कने प्रदूषक एकै क्षेत्रमा जम्मा हुँदा प्रदूषणको मात्रा थप बढ्न सक्छ। मौसमले प्रदूषण बढाउन सहयोग गरे पनि समस्या मौसमी मात्रै होइन। प्रदूषण उत्पादन गर्ने स्रोत नियन्त्रण नगरेसम्म हरेक वर्ष उस्तै समस्या दोहोरिने जोखिम रहन्छ। वर्षमा २६ हजारको ज्यान नेपालमा वायु प्रदूषणको असर कति गम्भीर छ भन्ने बुझ्न विश्व बैङ्कले सन् २०२५ मा सार्वजनिक गरेको प्रतिवेदन महत्त्वपूर्ण छ। उक्त प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष करिब २६ हजार मानिसको समयअगावै मृत्यु हुने अनुमान गरिएको छ। प्रदूषणका स्रोत नियन्त्रण गर्न सरकारी निकायले गरेका कामको परिणाम नागरिकले अनुभव गर्न सकेका छन् कि छैनन् भन्ने मुख्य प्रश्न हो। प्रतिवेदनले खराब वायुगुणस्तरका कारण औसत नेपालीको आयु ३.४ वर्षले घट्ने र नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढीबराबरको आर्थिक लागत पर्ने अनुमानसमेत गरेको छ। यसले प्रदूषणको असर अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने विषयमा मात्र सीमित नरहेको देखाउँछ। बिरामी हुँदा काम गर्ने दिन घट्छ, उपचार खर्च बढ्छ र परिवारको आम्दानीमा असर पर्छ। बालबालिकाको पढाइ प्रभावित हुन सक्छ भने श्रमिकको उत्पादकत्व घट्न सक्छ। प्रदूषणले पर्यटन क्षेत्रलाई समेत असर गर्न सक्छ। हिमाल, प्राकृतिक दृश्य र स्वच्छ वातावरणका लागि परिचित नेपालमा वायु प्रदूषणका कारण दृश्यता घट्दा पर्यटकको अनुभव प्रभावित हुन सक्छ। यसरी प्रदूषण स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन र समग्र अर्थतन्त्रसँग जोडिएको राष्ट्रिय चुनौती बनेको छ। नीति बने, परिणाम खोइ? वायु प्रदूषण नियन्त्रणका लागि नेपालमा कानुनी तथा नीतिगत व्यवस्था नभएका होइनन्। वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ र राष्ट्रिय वातावरण नीतिले प्रदूषण नियन्त्रणका लागि आधार तयार गरेका छन्। राष्ट्रिय परिवेशीय वायुगुणस्तर मापदण्ड पनि लागू छ। सरकारले सन् २०२५ अगस्ट २९ मा राष्ट्रिय वायुगुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण प्रक्रिया अघि बढाएको थियो। तर नीति र कानुन निर्माण हुनु एउटा पक्ष हो भने तिनको प्रभावकारी कार्यान्वयन हुनु अर्को पक्ष हो। प्रदूषणका स्रोत नियन्त्रण गर्न सरकारी निकायले गरेका कामको परिणाम नागरिकले अनुभव गर्न सकेका छन् कि छैनन् भन्ने मुख्य प्रश्न हो। सरकारले सन् २०२५ अगस्ट २९ मा राष्ट्रिय वायुगुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण प्रक्रिया अघि बढाएको थियो। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा बेलायतको सहयोगमा यो प्रक्रिया अगाडि बढाएको हो। कार्ययोजनाको उद्देश्य प्रदूषणका स्रोत पहिचान गर्ने, नियन्त्रणका प्राथमिकता निर्धारण गर्ने, सरकारी निकायबीच समन्वय गर्ने र दीर्घकालीन रणनीति तयार पार्ने हो। तर कार्ययोजनाको अन्तिम अवस्था, बजेट, कार्यान्वयनको समयसीमा र जिम्मेवार निकायबारे सरकारले स्पष्ट जानकारी सार्वजनिक गर्न आवश्यक छ। अत्यधिक प्रदूषण गर्ने टायर, प्लास्टिक र पेट्रोलियम कोकजस्ता इन्धनको प्रयोगमा रोक लगाउने तथा सिमेन्ट उद्योगलाई प्रदूषण नियन्त्रण गर्ने उपकरण जडान गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। उद्योग तथा इँटाभट्टाबाट निस्कने प्रदूषण नियन्त्रणका लागि मापदण्ड संशोधन गरिएको छ। सन् २०२६ अप्रिलमा सार्वजनिक विवरणअनुसार इँटाभट्टा, सिमेन्ट उद्योग तथा अन्य औद्योगिक भट्टीका लागि संशोधित मापदण्ड लागू गरिएको छ। नयाँ इँटाभट्टामा प्रदूषण कम गर्ने जिगज्याग प्रविधि अनिवार्य गरिएको छ भने पुराना इँटाभट्टालाई निर्धारित समयभित्र प्रविधि परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको छ। अत्यधिक प्रदूषण गर्ने टायर, प्लास्टिक र पेट्रोलियम कोकजस्ता इन्धनको प्रयोगमा रोक लगाउने तथा सिमेन्ट उद्योगलाई प्रदूषण नियन्त्रण गर्ने उपकरण जडान गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यी मापदण्ड प्रभावकारी रूपमा लागू भए उद्योगबाट निस्कने प्रदूषण घटाउन सहयोग पुग्न सक्छ। तर नियमित अनुगमन, उत्सर्जन मापन र नियम उल्लङ्घन गर्नेमाथि कारबाही नभएसम्म नीतिगत व्यवस्था कागजमै सीमित हुने जोखिम रहन्छ। फाइल तस्बिर चेतावनीले मात्रै पुग्दैन प्रदूषण नियन्त्रणको जिम्मेवारी सङ्घीय सरकारमा मात्र सीमित छैन। स्थानीय तहको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि नागरिक तथा उद्योग व्यवसायीलाई विभिन्न निर्देशन दिँदै आएको छ। रेडियो नेपालले २०२६ नोभेम्बर ५ मा प्रकाशित गरेको विवरणअनुसार महानगरले सवारीसाधन नियमित मर्मत गर्न, निर्माणस्थलमा धुलो नियन्त्रण गर्न, सडकमा निर्माण सामग्री थुपारेर नराख्न र प्लास्टिक तथा अन्य फोहोर खुला रूपमा नजलाउन आग्रह गरेको थियो। उद्योग, कारखाना तथा अन्य प्रतिष्ठानलाई प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्न पनि निर्देशन दिइएको थियो। प्रदूषणको स्रोत नियन्त्रण गर्नु सरकारको मुख्य जिम्मेवारी हो। तर प्रदूषित हावाबाट आफ्नो स्वास्थ्य जोगाउन नागरिकले पनि सावधानी अपनाउन सक्छन्। तर सूचना जारी गरेर मात्रै प्रदूषण नियन्त्रण हुँदैन। निर्माणस्थलमा धुलो उडिरहने, मापदण्ड पालना नगर्ने र अत्यधिक धुवाँ फाल्ने सवारीसाधन निर्बाध रूपमा चलिरहने हो भने नागरिकलाई सचेत गराउने अभियान पर्याप्त हुँदैन। नियमित अनुगमन, प्रभावकारी कारबाही र जिम्मेवार निकायबीच समन्वय आवश्यक छ। नागरिकको स्वास्थ्य कसरी जोगाउने? प्रदूषणको स्रोत नियन्त्रण गर्नु सरकारको मुख्य जिम्मेवारी हो। तर प्रदूषित हावाबाट आफ्नो स्वास्थ्य जोगाउन नागरिकले पनि सावधानी अपनाउन सक्छन्। वायुगुणस्तर अस्वस्थकर भएको समयमा अनावश्यक रूपमा लामो समय बाहिर नबस्ने, सडककिनारमा व्यायाम नगर्ने र अत्यधिक शारीरिक गतिविधि कम गर्ने गर्नुपर्छ। बाहिर निस्कनैपर्ने अवस्थामा अनुहारमा राम्रोसँग मिल्ने एन–९५ वा सोसरहको मास्क प्रयोग गर्न सकिन्छ। सामान्य कपडाको मास्कले अत्यन्त सूक्ष्म प्रदूषित कणबाट पर्याप्त सुरक्षा दिन सक्दैन। घरभित्र धुलो कम राख्ने, बाहिर प्रदूषण धेरै भएको समयमा झ्यालढोका बन्द गर्ने र सम्भव भए हावा सफा गर्ने उपयुक्त उपकरण प्रयोग गर्न सकिन्छ। फाइल तस्बिर वरिष्ठ फोक्सोरोग विशेषज्ञ डाक्टर रामनारायण शाहका अनुसार दम तथा श्वासप्रश्वासका दीर्घरोग भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्छ। सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा गम्भीर असहजता देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ। बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलालाई प्रदूषणको उच्च सम्पर्कबाट जोगाउन विशेष ध्यान दिन आवश्यक छ। काठमाडौँको चुनौती अन्तर्राष्ट्रिय प्रदूषित सहरको सूचीबाट आफ्नो नाम हटाउनु मात्र होइन, नागरिकले हरेक दिन स्वच्छ हावा सास फेर्न पाउने अवस्था सिर्जना गर्नु हो। प्रदूषण बढेपछि मास्क लगाउन र घरभित्र बस्न आग्रह गर्नु तत्कालीन सावधानी हुन सक्छ, स्थायी समाधान होइन। प्रदूषणको अवस्था सार्वजनिक गर्नु मात्र सरकारको दायित्व पूरा हुनु होइन। प्रदूषणका स्रोत नियन्त्रण गरेर नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो। स्थायी समाधानका लागि सवारीसाधनको धुवाँ नियन्त्रण, सार्वजनिक यातायातको सुधार, उद्योगलाई जवाफदेही बनाउने व्यवस्था, निर्माणस्थलको धुलो नियन्त्रण र फोहोर व्यवस्थापनमा प्रभावकारी काम आवश्यक छ। उपत्यकाभरिका स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वित योजना र त्यसको कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरेको छ। त्यसैले प्रदूषणको अवस्था सार्वजनिक गर्नु मात्र सरकारको दायित्व पूरा हुनु होइन। प्रदूषणका स्रोत नियन्त्रण गरेर नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो। काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा कुन स्थानमा छ भन्नेभन्दा ठूलो प्रश्न नागरिकले हरेक दिन कस्तो हावा सास फेरिरहेका छन् भन्ने हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड
Latest NewsJust now

असोजमा भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, बन्यो नयाँ रेकर्ड

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा ठूलो रेमिट्यान्स रकम हो । यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोजमा चाडपर्वका कारण विदेशमा रहेका नेपालीले स्वदेशमा बढी रकम पठाएको र रसुवामा आएको बाढीले समेत रेमिट्यान्स आप्रवाह ...

केन्द्रबिन्दु
ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?
Latest NewsJust now

ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा छिमेकी मुलकको राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री शाहको भ्रमण योभन्दा... ...

रातोपाटी
मधेसलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएका छौँ : मन्त्री लम्साल
Latest NewsJust now

मधेसलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएका छौँ : मन्त्री लम्साल

जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको जानकारी […] ...

लोकपथ
केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग
Latest NewsJust now

केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग

भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play