काठमाडौं- विश्व जलवायु (कोप-३१) सम्मेलन सकिएको छ। टर्कीको आन्तल्यमा भएका सम्मेलन निर्धारित समयभन्दा दुई दिन बढी लम्बियो। तथापि यसमा कुनै सहमति हुन सकेन। नोभेम्बर २० मा सकिनु पर्ने सम्मेलन दुई दिन बढी लम्बिएपछि नोभेम्बर २२ का दिन कोप ३१ औपचारिक रूपमा सकियो। सभाध्यक्ष एवम् टर्किएका वातावरणमन्त्री मुराट कुरुमले कुनै सहमति हुन नसकेको घोषणा गरे। तयार पारिएका ड्राफ्टमा ग्रिनहाउस र जलवायु परिवर्तनको सबैभन्दा ठुलो समस्या जीवाश्म इन्धनका विषयमा कुनै कुरा समावेश नभएको भन्दै युरोपेली युनियन, पनामा, नर्वे र अन्य धेरै टापुजन्य देशहरूले यसलाई अस्वीकार गरे। यो सम्मेलन टर्किएको आन्तल्यमा भएको थियो। यो भूमध्य सागर र टाउरस हिमालको बीचमा छ। बिच, रिसोर्ट र अन्य सांस्कृतिक रूपले परिचित छ। यस सुन्दर स्थानमा भएको यो सम्मेलनले अन्तिममा धेरैलाई निराशा नै दियो। निराशाका बीच एउटा महत्त्पूर्ण सम्मेलन विनानिष्कर्ष सकिएको छ। सम्मेलनमा सहमति हुनुपर्ने विषयमा क्याफे र रेस्टुरेन्टमा छलफल हुने गरेका छन्। भूमध्य सागरको क्षेत्रलाई जलवायु सम्मेलनका लागि महत्त्वपूर्ण मानिएको छ। तापक्रम बढिरहेको छ। खडेरी, डढेलो र पानीको समस्या बढिरहेको छ। यसकारण टर्किएकै लागि यो सम्मेलन बढी महत्त्वपूर्ण थियो। टर्किए आफैंले केही नगरेको होइन। ऊर्जा संरचना, भौतिक संरचना, पानी जम्मा गर्ने उपायको बारे कार्यक्रममा विशेष प्रस्तुति थियो। यसरी धेरै विषय देखाइए पनि सबै कुरा सहज भने थिएन। इन्टरनेशनल सोलार एलायन्सका महानिर्देशक आशिष खन्नाले सोलार प्यानलको रिसाइक्लिङका बारे बताए। उनका अनुसार अबको पाँच वर्षको समयमा १५ बिलियन अमेरिकी डलर थप लगानी आवश्यक छ। नोभेम्बर ९ का दिन कोप ३१ को उद्घाटन भएको थियो। टर्किस राष्ट्रपति रेचेप तैयप एर्दोआनले नोभेम्बर ११ मा आयोजित नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै जलवायु कार्यलाई विकास, अन्तर्राष्ट्रिय सहकार्य र सरकारहरूको जिम्मेवारीसँग जोडेर प्रस्तुत गरे। सम्मेलनमा करिब १०० जना राष्ट्रप्रमुख, सरकार प्रमुख तथा वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनको अध्यक्षता गरिरहेका देशहरूले यसलाई ‘कार्यान्वयनमुखी कोप’ को संज्ञा दिएका थिए। यसको उद्देश्य यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नु थियो। टर्किले ‘३५ बाई ३५’ नामक पहल अघि सारेको थियो। यस पहलको लक्ष्य सन् २०३५ सम्ममा विश्वको कुल अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा हालको २० प्रतिशतभन्दा केही बढीबाट बढाएर ३५ प्रतिशत पुर्याउनु हो। यसअन्तर्गत पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गर्ने, विद्युतीय ताप प्रणालीको विस्तार गर्ने र उद्योगहरूलाई विद्युतीय प्रविधि अपनाउन प्रोत्साहित गर्ने योजना समेटिएको थियो। वातावरणीय संस्थाहरूले विद्युतीकरणले मात्रै कार्बन उत्सर्जन घटाउन नसक्ने बताएका थिए। उनीहरूका अनुसार थप आवश्यक पर्ने विद्युत् कोइला वा ग्यासबाट उत्पादन गरिएमा विद्युतीकरणको वातावरणीय लाभ निकै सीमित हुन्छ। त्यसैले उनीहरूले विद्युतीकरणका लक्ष्यलाई नवीकरणीय ऊर्जाको विस्तार र जीवाश्म इन्धनको प्रयोग घटाउने योजनासँग स्पष्ट रूपमा जोड्न माग गरेका थिए। ग्रिन पिस अस्ट्रेलिया प्यासिफिकका साइमन ब्राडशाले वार्ताको सुरुवाती चरणमै यो विषय उठाएका थिए। नोभेम्बर १६ मा सार्वजनिक गरिएको वार्ताको पहिलो प्रमुख मस्यौदामा १४४ वटा अनुच्छेद थिए। सो दस्तावेज सहमति भइसकेको आधिकारिक पाठ नभई विभिन्न सहभागी पक्षले प्रस्तुत गरेका प्रस्तावहरूको सङ्कलन थियो। त्यसमा जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने विषयमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने फरक–फरक प्रस्तावहरू समावेश थिए। त्यसैगरी विकासशील देशहरूका लागि सन् २०३५ सम्ममा वार्षिक जलवायु अनुकूलन वित्तीय सहायता बढाएर १२० अर्ब डलर पुर्याउने प्रस्ताव पनि मस्यौदामा राखिएको थियो। नोभेम्बर १९ मा सार्वजनिक गरिएको परिमार्जित तथा छोटो मस्यौदाबाट कोइला, तेल र प्राकृतिक ग्यासको प्रयोगबाट बाहिरिने विषयमा गरिएका स्पष्ट उल्लेखहरू हटाइए। साथै जलवायु अनुकूलनका लागि वार्षिक १२० अर्ब डलर उपलब्ध गराउने प्रस्ताव पनि हटाइएको थियो। यसपछि धेरै देशहरूमा असन्तुष्टि बढेको थियो। यो असन्तुष्टिको मूल कारण नै ग्यास, तेल र कोइलाको विषयमा एजेन्डामा मुख्य डिल नभएको भन्ने हो। यसरी सबैभन्दा ठुलो विरोध गर्नेमा युरोपेली युनियन, बेलायत र प्यासिफिक देश रहे। यस समस्याको मूल कारण साउदी अरेबिया र रुस जस्ता देश पनि थिए। उनीहरू ग्यास र तेल जस्ता ऊर्जाका स्रोतलाई पूर्ण रूपमा हटाउन चाहँदैन थिए। उनीहरूले यसैका कारण आफ्नो देशमा गरिबी बढ्दै जाने तर्क अघि सारेका थिए। अहिलेको मूल समस्या गरिब र धनी देशबीचको विवाद पनि हो। जलवायु परिवर्तन र अहिले आएको समस्यामा धनी देशहरूको बढी भूमिका छ। ग्रिन हाउस ग्यास उत्सर्जन पनि यी नै देशले गरेका छन्। यसको असर संसारका गरिब देशले पनि सहेका छन्। यसकारण धनी देशले गरिब देशलाई सहयोग र उत्थान गर्नुपर्छ भन्ने आवाज विगतदेखि नै आएको छ। टर्किएमा भएको सम्मेलनमा यस विषयमा पनि कुनै सहमति हुन सकेन। यसरी विनाकुनै सहमति जलवायु सम्मेलन सकिएको सन् २००९ पछि पहिलो पटक हो। कोप १५ को रूपमा कोपनहेगनमा भएको सो सम्मेलनमा पन कुनै सहमति भएको थिएन। यस असफलतापछि विभिन्न देशमा प्रतिक्रिया बाहिर आइसकेका छन्। क्यानडाले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। त्यहाँका वातावरणमन्त्री जुली डबरसिनले यस सम्मेलनले निराशा दिलाए पनि पेरिस सम्झौतालाई लागू गर्न आफू कटिबद्ध रहेको प्रतिक्रिया दिए। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटिरेजले पनि आफू निराश भएको बताए । संसारमा अहिले धेरै समस्या जलवायु परिवर्तनकै कारण बढेका कुरामा विमति हुन सक्दैन। यसका बाबजुद पेरिस सम्झौताले केही आशा दिलाएको थियो । अन्ततः टर्किए सम्मेलनले निराशा थपेको छ। यो निराशा तेस्रो विश्वको लागि अझ बढी हो। -सीएनएन, सीबीसी न्युजलगायतको सहयोगमा
विश्वमा जलवायु परिवर्तनकै कारण अधिक समस्या, टर्किए सम्मेलनले थप्यो निराशा

Read Complete Original Article
Published originally on विश्वखबर






