नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् ।

सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने भन्ने कुरा सरकारकै प्रभावमा हुन सक्ने भन्दै उनले यस्ता सामग्रीका आधारमा पार्टी नेतृत्वमाथि आरोप लगाउनु उचित नभएको जिकिर गरे ।

‘असम्बन्धित व्यक्ति, कहिल्यै उठबसै नभएको व्यक्ति, जो आज सरकारको नियन्त्रणमा छ, के रेकर्ड गराउने, कति गराउने सरकारको हातमा छ । अनि सरकार किस्ता–किस्तामा अनेक चिजहरू बाहिर लिएर आइरहेको छ र हाम्रो नेतृत्वलाई बदनाम गर्ने प्रयास गरिरहेको छ’, शर्माले भने ।

कांग्रेसमाथि लगाइएका आरोप तथा सार्वजनिक भइरहेका कथित अडियो र बयानहरू निराधार, कपोलकल्पित र नियोजित भएको उनको दाबी छ । यस्ता गतिविधिपछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने उनले बताए ।

शर्माले कांग्रेसमाथि उठेका प्रश्नबाट पार्टी नभाग्ने स्पष्ट पार्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरे ।

‘नेपाली कांग्रेस आफूमाथि उठ्ने, आफ्नो नेतृत्वको बारेमा उठ्ने प्रत्येक प्रश्नहरूलाई सामना गर्न र जस्तोसुकै छानबिन गर्नका लागि तयार छ’, उनले भने ।

उनका अनुसार पार्टीले विशेष बैठक बसेर पछिल्लो समय उठेका सबै प्रसङ्गको निष्पक्ष छानबिनको माग गर्ने निर्णय गरेको छ । कांग्रेसको वैधानिकता र नेतृत्वमाथि उठाइएका प्रश्नहरूको निरूपण राजनीतिक आरोप–प्रत्यारोपबाट नभई निष्पक्ष अनुसन्धानबाट हुनुपर्नेमा शर्माले जोड दिए ।

विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’

Read Complete Original Article
Published originally on पर्दाफास