प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए । ‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नारासहित आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ । कार्यशालामा वित्तीय अपराध अनुसन्धानका क्रममा देखिएका चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई प्रभावकारी बनाउने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ । आईजीपी केसीले वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । उनले सूचनाको प्रभावकारी आदानप्रदानलाई समेत थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा आईजीपी केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए ।
वित्तीय अपराध अनुसन्धानमा प्रविधि प्रयोग बढाउन आईजीपी केसीको जोड

Read Complete Original Article
Published originally on पर्दाफास






