Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/वरुण ग्रहभन्दा पर रहस्यमय वस्तु फेला, नयाँ ‘ड्वार्फ प्लानेट’ हुन सक्ने वैज्ञानिकको अनुमान

वरुण ग्रहभन्दा पर रहस्यमय वस्तु फेला, नयाँ ‘ड्वार्फ प्लानेट’ हुन सक्ने वैज्ञानिकको अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
वरुण ग्रहभन्दा पर रहस्यमय वस्तु फेला, नयाँ ‘ड्वार्फ प्लानेट’ हुन सक्ने वैज्ञानिकको अनुमान

शक्तिशाली भेरा रुबिन वेधशालाले वरुण ग्रह अर्थात् नेप्च्युनभन्दा पर सूर्यको चिसो क्षेत्रमा परिक्रमा गरिरहेको बौना ग्रह हुन सक्ने एउटा वस्तु फेला पारेको छ। वैज्ञानिकहरूका अनुसार २०२६ ईडी१३८ नाम दिइएको यो हिउँयुक्त वस्तुको व्यास ६०० देखि १ हजार ५०० किलोमिटर (३७३ देखि ९७२ माइल) सम्म हुन सक्छ। यसको आफ्नै गुरुत्वाकर्षणले यसलाई गोलाकार आकार दिन पर्याप्त हुन सक्ने अनुमान गरिएको छ। यही विशेषताले ड्वार्फ प्लानेट अर्थात् पुड्के ग्रहलाई क्षुद्रग्रह र अन्तरिक्षका अन्य साना चट्टानबाट छुट्याउँछ। यदि २०२६ ईडी१३८ वास्तवमै पुड्के ग्रह भएको पुष्टि भएमा यो महत्त्वपूर्ण खोज हुनेछ। हालसम्म वैज्ञानिकहरूले प्लुटो, सेरेस, एरिस, हाउमिया र माकेमाके गरी पाँचवटा पुड्के ग्रहको मात्रै पुष्टि गरेका छन्। स्पेस डटकमका अनुसार २०२६ ईडी१३८लाई हार्वर्ड तथा स्मिथसोनियनको सेन्टर फर एस्ट्रोफिजिक्स (सीएफए) मा कार्यरत म्याथ्यु होलम्यानले पत्ता लगाएका हुन्। अक्टोबर १३ मा उनले सीएफएमै कार्यरत आफ्ना सहकर्मी केभिन नेपियरसँग मिलेर विकास गरेको खोज प्रणालीमा रुबिन वेधशालाबाट यसअघि सङ्कलन गरिएको तथ्याङ्क राखेर विश्लेषण गरिरहेका बेला यो वस्तु फेला परेको थियो। उक्त खोजबाट नेप्च्युनको कक्षाभन्दा पर एउटा रहस्यमय वस्तु रहेको पत्ता लाग्यो। सूर्यबाट निकै टाढा भए पनि यो वस्तु तुलनात्मक रूपमा चम्किलो देखिएको थियो। यसले अन्य ट्रान्स-नेप्च्युनियन वस्तुको औसत आकारभन्दा यो ठूलो हुन सक्ने सङ्केत गरेको थियो। २०२६ ईडी१३८को खोजबारे अक्टोबर २७ मा घोषणा गरिएको दिन होलम्यानले एक विज्ञप्तिमा भने, “मेरो पहिलो प्रतिक्रिया उत्साह र अविश्वासको मिश्रण थियो। यस्ता वस्तु निकै दुर्लभ हुन्छन्। त्यसैले मैले तुरुन्तै आफूबाट वा प्रयोग गरिएको कोडबाट कुनै गल्ती भएको छ कि भनेर जाँच्न थालेँ।” यसका लागि रुबिन वेधशालाको सूचीमा रहेका तथ्याङ्कको विस्तृत अध्ययन गरिएको थियो। रुबिन वेधशाला सञ्चालनमा आएको धेरै समय नभए पनि यसले ठूलो परिमाणमा तथ्याङ्क सङ्कलन गरिसकेको छ। भेरा रुबिन वेधशाला चिलीको उत्तरी क्षेत्रमा रहेको २ हजार ६८२ मिटर अग्लो सेरो पाचोन पर्वतको टुप्पोमा अवस्थित छ। यसमा ८.४ मिटर चौडाइको मुख्य ऐना जडान गरिएको छ। उक्त वेधशालाले सन् २०२५ को अप्रिलमा पहिलोपटक आकाशको अवलोकन गरेको थियो। यस वर्षको जुनदेखि यसले अन्तरिक्ष तथा समयको १० वर्षे सर्वेक्षण (एलएसएसटी) सुरु गरेको हो। यस सर्वेक्षणअन्तर्गत रुबिन वेधशालाले ३.२ अर्ब पिक्सेल क्षमताको क्यामेरा प्रयोग गरी प्रत्येक केही दिनमा दक्षिणी आकाशको सम्पूर्ण भागको तस्बिर लिन्छ। यो खगोल विज्ञानका लागि अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो डिजिटल क्यामरा हो। यसबाट प्राप्त तस्बिरले अन्तरिक्षको उच्च रिजोल्युसनयुक्त समयक्रमिक दृश्य तयार गर्छ, जसले ब्रह्माण्डबारे धेरै जानकारी दिन सक्छ। उदाहरणका लागि, रुबिन वेधशालाले ब्रह्माण्डको अधिकांश पिण्ड र ऊर्जाको हिस्सा ओगट्ने मानिएका रहस्यमय पदार्थ डार्क इनर्जी र डार्क म्याटरबारे थप जानकारी दिने वैज्ञानिकहरूको विश्वास छ। यसको अवलोकनले सौर्यमण्डलका वस्तुको विस्तृत सूची तयार गर्न पनि सहयोग गर्नेछ। यसबाट वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलको नक्साङ्कन पहिलेभन्दा विस्तृत रूपमा गर्न सक्नेछन्। रुबिन वेधशालाले अहिलेसम्म ११ हजारभन्दा बढी नयाँ क्षुद्रग्रह पत्ता लगाइसकेको छ। आगामी दिनमा अझ धेरै क्षुद्रग्रह फेला पर्ने अपेक्षा गरिएको छ। एलएसएसटीअन्तर्गत तयार हुने सूचीमा नयाँ पुड्के ग्रह पनि समावेश हुन सक्नेछन्। २०२६ ईडी१३८ पनि त्यसमध्ये एक हुन सक्छ। यो वस्तु वास्तवमै अस्तित्वमा रहेको भने पुष्टि भइसकेको छ। होलम्यान र वासिङ्टन विश्वविद्यालयमा कार्यरत तथा रुबिन सौर्यमण्डलका प्रमुख वैज्ञानिक मारियो जुरिचले गरेको अध्ययनअनुसार रुबिन वेधशालाले यस वर्षको मार्च ४ देखि जुलाई ११ सम्म २० रातमा ३० पटक २०२६ ईडी१३८को अवलोकन गरेको थियो। थप अध्ययन गर्दा चिलीस्थित सेरो टोलोलो अन्तर-अमेरिकी वेधशालाको भिक्टर एम. ब्लान्को चार मिटर टेलिस्कोपमा जडान गरिएको डार्क इनर्जी क्यामराले पनि २०२६ ईडी१३८को अवलोकन गरेको पाइएको थियो। उक्त क्यामेराबाट यस वस्तुको अवलोकन सन् २०१६ सम्मै भएको तथ्याङ्कमा देखिएको छ। तथ्याङ्कअनुसार २०२६ ईडी१३८को कक्षा सौर्यमण्डलको समतलको तुलनामा करिब २५ डिग्री झुकेको छ। वैज्ञानिकहरूका अनुसार नेप्च्युनसँगको गुरुत्वाकर्षण अन्तरक्रियाका कारण यसको कक्षा झुकेको हुन सक्छ। हाल २०२६ ईडी१३८ सूर्यबाट करिब ४६ खगोलीय एकाइ (एयू) टाढा छ। एक खगोलीय एकाइ भनेको पृथ्वी र सूर्यबीचको दूरी हो, जुन करिब १५ करोड किलोमिटर हुन्छ। यसअनुसार यो वस्तु सूर्यबाट प्लुटोको औसत दूरीभन्दा पनि टाढा छ। प्लुटो सूर्यबाट औसतमा करिब ४० खगोलीय एकाइ टाढा छ। यद्यपि यस वस्तुबारे अझै धेरै कुरा पत्ता लगाउन बाँकी छ। उदाहरणका लागि, यसको वास्तविक आकार निश्चित नभएसम्म यो पुड्के ग्रह हो वा होइन भन्ने पुष्टि गर्न सकिँदैन। यसको आकार पत्ता लगाउन अवरक्त प्रकाशमा अवलोकन गर्नुपर्ने हुन्छ। नासाको जेम्स वेब अन्तरिक्ष दूरबिनले यही प्रकाशको तरङ्गदैर्ध्यमा अवलोकन गर्न विशेष क्षमता राख्छ। त्यसैले २०२६ ईडी१३८बारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ। आगामी महिना र वर्षमा रुबिन वेधशालाले यसजस्तै अन्य खगोलीय वस्तु पनि पत्ता लगाउन सक्छ। होलम्यानले भने, “यदि ईडी१३८ पुड्के ग्रह भएको पुष्टि भयो भने यो निकै सानो सङ्ख्यामा रहेका खगोलीय पिण्डको समूहमा सामेल हुनेछ। रुबिनले १० वर्षसम्म दक्षिणी आकाशको सम्पूर्ण भागको पटक-पटक तस्बिर लिनेछ। त्यसैले यसअघिका सर्वेक्षणमा छुटेका अन्य वस्तु पनि अब पत्ता लगाउन सकिनेछ।” The post वरुण ग्रहभन्दा पर रहस्यमय वस्तु फेला, नयाँ ‘ड्वार्फ प्लानेट’ हुन सक्ने वैज्ञानिकको अनुमान appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
प्रविधिJust now

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...

आइसिटी फ्रेम
नि:शुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्दै IEDI, कात्तिक ३० सम्म आवेदन दिन सकिने
प्रविधिJust now

नि:शुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्दै IEDI, कात्तिक ३० सम्म आवेदन दिन सकिने

काठमाडौं । आफ्नै व्यवसाय सुरु गर्न चाहने युवालक्षित गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले एक हप्ते नि:शुल्क उद्यमशीलता विकास तालिम (EDP) सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ ।प्रतिष्ठानका अनुसार तालिममा सहभागीलाई आफ्नो व्यक्तिगत क्षमता मूल्याङ्कन गर्ने, उपयुक्त व्यवसाय छनोट गर्ने तथा व्यावसायिक योजना तयार गर्ने विषयमा प्रशिक्षण दिइनेछ । व्यवसाय ...

आइसिटी समाचार
नेपालको पर्यटन विश्वभर चिनाउन कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन माग
प्रविधिJust now

नेपालको पर्यटन विश्वभर चिनाउन कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन माग

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई अभियानमा सहभागी गराउने भएको छ ।बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली क्षेत्र, मौलिक कला–संस्कृति, परम्परा तथा कम प्रचारमा रहेका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन इच्छुक सिर्जनाकर्मीबाट आवेदन आह्वान गरेको हो ।अभियानअन्तर्गत सहभागीहरूले नेपालको पर्यटकीय सम्भावना झल्किने भिडियो, तस्बिर तथा अन्य डिजिटल सामाग्री तयार गर्नेछन् ...

आइसिटी समाचार
रूसी अखबार नोवाया गजेटा बन्द
प्रविधिJust now

रूसी अखबार नोवाया गजेटा बन्द

रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ । अधिकारीहरूले यसै महिना अखबारका प्रधान सम्पादक सर्गेइ सोकोलोभको घरमा खानतलासी गरेका थिए भने यस वर्ष पत्रकार ओलेग रोल्डुगिनलाई पक्राउ गरेका थिए । सोकोलोभले शुक्रबार युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो वक्तव्यमा रूसी अधिकारी र सुरक्षा निकायले सम्पादकीय टोलीलाई काम बन्द गर्न बाध्य पारेको बताए। ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play