Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

लेबनानबाट राष्ट्रसंघीय सेना फिर्ता हुने समय नजिकिँदै, सुरक्षा शून्यताको चिन्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
लेबनानबाट राष्ट्रसंघीय सेना फिर्ता हुने समय नजिकिँदै, सुरक्षा शून्यताको चिन्ता
Photo / Coverage: केन्द्रबिन्दु

बेरुत । लेबनानको सीमावर्ती सहर नाकुरामा लगातारको इजरायली आक्रमणबाट थोरैमात्र भवन बच्न सफल छन् । ठडिएका थोरै भवनहरूमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) को मुख्यालय रहेको कम्पाउन्ड एक हो । कुनै समय निकै रमणीय रहेको यो समुद्री तटीय सहर अहिले भग्नावशेषमा परिणत भएको छ । यहाँका सडकहरू सुनसान छन्, कहिलेकाहीँ सैन्य गस्ती वा सर्वसाधारण र खाद्यान्न ओसार्ने शान्ति सैनिकका सवारी लस्कर मात्र देखिन्छन् । युनिफिल शान्ति मिसनको झन्डै ५० वर्ष लामो कार्यादेश समाप्त हुन अब झन्डै एक महिना समय मात्र बाँकी छ । तर, त्यसपछि के हुन्छ भन्नेबारे अझै कुनै ठोस योजना बनिसकेको छैन । एकातिर शान्ति सैनिकहरूको आसन्न बहिर्गमन, अर्कोतिर इजरायली सेनाको बिस्तारवाद, अर्कोतर्फ हिजबुल्लाह लडाकु समूहको निःशस्त्रीकरणबारेको विवादले दक्षिणी लेबनानको भविष्यलाई अन्योलमा धकेलेको छ । राष्ट्रसंघीय सेना यहीं रहोस् भन्ने लेबनानको चाहना छ । तर, अमेरिका र उसको निकट सहयोगी इजरायलको दबाबमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत वर्ष सन् २०२६ को अन्त्यसँगै युनिफिलको कार्यादेश समाप्त गर्ने पक्षमा मतदान गरेको थियो । वर्षौंसम्म हिजबुल्लाहले सैन्य शक्ति सञ्चय गरेको भन्दै इजरायलले यो मिसन असफल भएको दाबी गरेको छ । उता, सन् २०२३ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी क्षेत्रीय द्वन्द्व भड्काउनुअघि आफूहरूले १७ वर्षसम्म शान्ति कायम राख्न मद्दत गरेको शान्ति सैनिकहरूको भनाइ छ । ‘मेरो कार्यादेश हिजबुल्लाहलाई निःशस्त्र बनाउनु होइन,’ युनिफिलका कमान्डर मेजर जनरल डियोडाटो अबाग्नाराले एसोसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा भने, ‘मेरो कार्यादेश लेबनानी सशस्त्र बललाई सहयोग गर्नु र यहाँको दक्षिण क्षेत्रमा पूर्ण नियन्त्रण लिन उनीहरूका लागि उत्तम वातावरण तयार पार्नु हो । हिजबुल्लाहविरुद्ध लड्नु होइन ।’ युनिफिलले आगामी जनवरी १ देखि आफ्ना ७ हजार ५ सय शान्ति सैनिकहरूलाई क्रमिक रूपमा फिर्ता बोलाउन सुरु गर्नेछ । त्यसपछि दक्षिणमा सुरक्षा शून्यता हुन नदिनु निकै महत्वपूर्ण रहेको अबाग्नाराले बताए । हालैका दुई युद्धमा युनिफिलले न हिजबुल्लाहलाई क्षेप्यास्त्र प्रहार गर्नबाट रोक्न सक्यो, न त इजरायललाई हवाई आक्रमण गर्नबाट नै रोक्न सक्यो । तैपनि, दक्षिणी लेबनानका धेरै बासिन्दा यसको उपस्थितिले आफूहरूलाई सुरक्षित महसुस हुने बताउँछन् । हल्ता गाउँका मोहम्मद औनले यस वर्ष आफ्नो जैतुन बाली टिप्न ढिलो सुरु गरे । यसै महिनाको सुरुमा बाली टिप्न सुरु गरेकै दिन जब युनिफिलको गस्ती टोली उनको खेतमा रोकियो, तब आकाशमा इजरायली ड्रोन घुमिरहेको थियो र उपत्यकामा टाढा कतै भएको हवाई आक्रमणको आवाज गुन्जिरहेको थियो । इजरायली कब्जामा रहेको क्षेत्रसँग सीमा जोडिएको आफ्नो जमिनमा बाली टिप्न औनलाई सहज थिएन । तर, अघिल्ला दुई वर्षको बाली गुमाइसकेकाले उनी बाध्य थिए । युनिफिल फौज भएकै कारण सुरक्षा प्रत्याभूति महसुस भएर उनले यस्तो काम गरेका थिए । यसको बहिर्गमनप्रति उनी निकै चिन्तित छन् । ‘गस्ती टोलीहरू आउजाउ गरेको देख्दा पक्कै पनि हामी बढी सुरक्षित महसुस गर्छौं । यो एक प्रकारको सुरक्षा कवच हो,’ उनले भने, ‘सुरक्षा अवस्थाका हिसाबले उनीहरूको उपस्थिति महत्वपूर्ण छ । उनीहरू गएपछि के हुन्छ, हामीलाई थाहा छैन ।’ इजरायलले दक्षिणी लेबनानमा आक्रमण गरेपछि सन् १९७८ मा संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) को स्थापना गरिएको थियो । त्यसयता, दक्षिण लेबनानमा असुरक्षा देखिएका कारण लगातार यो क्षेत्रमा युनिफिलको उपस्थिति रहदैं आएको छ । इजरायलले सन् १९८२ मा पुनः त्यहाँ आक्रमण गर्‍यो । यतिबेला इजरायलले कब्जा गरेका दक्षिण लेबनानका भूभाग सन् २००० सम्म फिर्ता भएन । सोही अवधिमा इरान समर्थित हिजबुल्लाह एक गुरिल्ला शक्तिका रूपमा उदायो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच एक महिना लामो युद्ध भएपछि, युद्ध अन्त्य गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ को उल्लंघन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी युनिफिललाई दिइयो । सन् २०२४ मा इजरायल–हिजबुल्लाह युद्धविरामको कार्यान्वयन अनुगमन गर्ने संयन्त्रमा युनिफिल सामेल थियो । राष्ट्रसंघीय सेनाको बहिर्गमनपछि दक्षिणी लेबनानको सुरक्षा जिम्मा लेबनानी सेनाले लिने तय भएको थियो । तर, इरान युद्धसँग जोडिएर गत मार्चमा इजरायल र हिजबुल्लाहबीच अर्को युद्ध भड्कियो । इजरायलले अहिले दक्षिणी लेबनानको ठूलो भूभाग कब्जा गरेको छ, जहाँ उसका सैनिकहरूले दर्जनौं गाउँ खाली गराएर ध्वस्त पारेका छन् । कब्जा गरिएको क्षेत्रका केही इसाई बाहुल्य गाउँहरूमा अझै करिब ११ हजार मानिस बसोबास गरिरहेको कमान्डर अबाग्नाराले बताए । उनीहरुले देशका अन्य भागसँग सम्पर्कमा यस क्षेत्रको सम्पर्क स्थापित गराउन सहयोग गरिरहेका छन् । खाद्यान्न तथा अन्य सामग्री ओसार्ने लस्करलाई सुरक्षा दिने कार्य पनि युनिफिलले गरिरहेको छ । सन् २०२४ मा भएको पछिल्लो युद्धविराम सम्झौतामा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने र इजरायली सेना दक्षिण लेबनानबाट फिर्ता हुने उल्लेख थियो । तर, यो युद्धविराम भंग भइसकेको छ । दुई देशबीच पछिल्लो समय वार्ता पनि भएको छैन । शान्ति सेनालाई राख्नेगरी प्रस्ताव गरेका छौं : प्रधानमन्त्री सलाम दक्षिणी लेबनानमा शान्ति सैनिकलाई काम जारी राख्न दिने गरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा एक नयाँ प्रस्ताव ल्याउन लागिएको लेबनानका प्रधानमन्त्री नवाफ सलामले बताएका छन् । ३१ डिसेम्बरमा शान्ति सेनाको कार्य अवधि समाप्त हुँदैछ । त्यसपछि पनि सैनिकहरुलाई सक्रिय रुपमा काममा लगाउन मिल्नेगरी नयाँ प्रस्ताव अघि बढाइएको उनले बताए । प्रधानमन्त्री सलामले शुक्रबार एसोसिएटेड प्रेस (एपी) सँगको विशेष अन्तर्वार्तामा शान्ति सेनाले ३१ डिसेम्बरपछि पनि आफ्ना केही कार्यहरू निरन्तरता दिने र त्यसबीचमा सुरक्षा परिषद्ले यसको विकल्पबारे बहस गर्ने योजना बनिरहेको जानकारी दिए । उनका अनुसार फ्रान्सले सुरक्षा परिषद्मा एउटा प्रस्ताव पेस गर्ने तयारी गरिरहेको छ, जसले शान्ति सैनिकको कार्यादेश सकिएपछिको फिर्ती अवधिमा पनि दक्षिणी लेबनानमा बारुदी सुरुङ पन्छाउने, मानवीय सहायताका लस्करलाई सुरक्षा दिने र युद्धविराम उल्लंघनको अनुगमन गर्नेजस्ता कार्य जारी राख्न अनुमति दिनेछ । सलामले उल्लेख गरेको प्रस्तावबारे फ्रान्सले सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । तर, यस विषयका जानकार एक पश्चिमा कूटनीतिज्ञले शक्ति शून्यता हुन नदिन फिर्ती प्रक्रिया सुस्त बनाउने र युनिफिलका केही निश्चित मिसन कायम राख्ने विकल्पमाथि छलफल भइरहेको बताए । उनले नाम नखुलाउने सर्तमा यो जानकारी दिएका हुन् । अमेरिकी अधिकारीहरूले समेत यस्तो व्यवस्थामाथि विचार गर्न वासिङ्टन सकारात्मक रहन सक्ने संकेत दिएको उनले बताए । ‘यसले ‘पोस्ट–युनिफिल’ भनिने शान्ति सेनापछिको समस्या पूर्ण रूपमा समाधान त गर्दैन । तर दक्षिणी लेबनानमा नयाँ सुरक्षा संरचनाबारे सहमति जुटाउन हामीलाई केही अतिरिक्त समय भने पक्कै दिनेछ,’ बेरुतस्थित सरकारी दरबारमा एपीसँग कुरा गर्दै सलामले भने । हाल दक्षिणी लेबनानमा तैनाथ ७ हजार ५ सय शान्ति सैनिकहरू कार्यादेश सकिएपछि करिब ६ महिनाको अवधिमा क्रमिक रूपमा फिर्ता हुने अपेक्षा गरिएको छ । मिसनलाई आफ्ना सम्पूर्ण गतिविधि पूर्ण रूपमा बन्द गर्न एक वर्षको समय दिइएको छ । लेबनानी अधिकारीहरूले युनिफिलको कार्यादेश थप्न वा त्यो सम्भव नभए राष्ट्रसंघकै कार्यादेश प्राप्त नयाँ फौज गठन गर्न आह्वान गरेका छन् । अमेरिकी अधिकारीहरूले कुनै न कुनै प्रकारको अन्तर्राष्ट्रिय फौज रहिरहने कुरामा लचकता देखाए पनि हालको स्वरूपमा भने अस्वीकार गरेका छन् । उनीहरूले त्यो फौज नागरिक संयन्त्र वा निजी सुरक्षा ठेकेदार हुन सक्ने सुझाव दिएका छन् । प्रधानमन्त्री सलामले भने तैनाथ गरिने जुनसुकै फौजलाई सुरक्षा परिषद्को अनुमोदन आवश्यक पर्ने स्पष्ट पारे । ‘म यसमा निकै स्पष्ट छु,’ उनले भने, ‘दक्षिणमा रहने कुनै पनि फौजको उपस्थितिलाई सुरक्षा परिषद्ले अनुमोदन गर्नैपर्छ ।’ एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जङ्गलमै बास बसेर पाँच किलोमिटर पदमार्ग बनाए स्थानीयले
Latest NewsJust now

जङ्गलमै बास बसेर पाँच किलोमिटर पदमार्ग बनाए स्थानीयले

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण गरेका छन् । रघुगङ्गा गाउँपालिकाको नौ लाख रुपैयाँ बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहबाट तीन हजार ८४०... ...

रातोपाटी
नेपालमा हुण्डी काराेबारका आठ कार्यशैली, कम साक्षर र अस्थिर आम्दानी भएका युवाका खाता प्रयोग
Latest NewsJust now

नेपालमा हुण्डी काराेबारका आठ कार्यशैली, कम साक्षर र अस्थिर आम्दानी भएका युवाका खाता प्रयोग

काठमाडाैँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले “रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६: हुन्डी” सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार हुन्डी परम्परागत व्यापार र रेमिट्यान्सको साधनबाट अपराधजन्य रकम शुद्धीकरणको सङ्गठित, सीमापार र डिजिटल रूपमा समन्वय हुने माध्यम बनेको छ। प्रतिवेदनमा २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्मको तथ्याङ्क विश्लेषण गरिएको छ। यस अवधिमा एफआईयूमा कुल १५ हजार ८१५ एसटीआर/एसएआर प्राप्त ...

टक्सार
सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा बैजनाथ धामबाट सुरु
Latest NewsJust now

सुदूरपश्चिम रोयल्सको ट्रफी यात्रा बैजनाथ धामबाट सुरु

तारामान खड्काअछाम, मङ्सिर १३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ ।सुदूरपश्च... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement