बेनी । दर्शकले भरिभराउ खुलामञ्चमा ‘नैनाताल’ गीत गाए पछि, नेपथ्यका गायक अमृत गुरुङले त्यो गीत सिर्जना गर्ने लाहुरे परम्पराबारे बोले । ‘उहिले हाम्रा काका, मामा र फुपाजुहरूले भर्तीमा गएर लड्दै गर्दा मनका भावनालाई यसरी गीतमा उतारेर ल्याएका थिए,’ अहिले पनि ठूलो सङ्ख्यामा बिदेसिनेहरूको जिल्ला म्याग्दीमा उनी भन्दै गए, ‘हिजोआज सबै उमेरका मानिसदेखि अझ डरलाग्दो गरी हाम्रा छोरीहरू पनि बिदेसिन बाध्य छन् ।’ यो उदेकलाग्दो सामाजिक अवस्थालाई नियन्त्रणमा ल्याउन राज्यले मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए । ‘धौलागिरिको काख अनि कालीगण्डकीको किनारमा जन्मेकाहरूले पनि यति सुन्दर थातथलो छाडेर अनिश्चित गन्तव्यमा जानुपर्ने बाध्यता कहिलेसम्म ?’ अमृतले अगाडि थपे, ‘देशका लागि केही गर्छु भनेर आउने राजनीतिज्ञहरूलाई यी तन्नेरीहरू आफ्नै ठाउँमा रमाएर बस्न सक्ने गरी रोजगारीको बन्दोबस्त मिलाउन आग्रह गर्छु ।’ दर्शकले ठूलो ताली र आवाजसाथ उनको धारणालाई स्वागत गरे । कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ ले पनि पूर्वी नेपालको उस्तै व्यथालाई समेटेर ‘आमाको कोखमा बास मात्र पाएँ नि, कुन देशको मरण हौ हजुर’ भनेको थियो । यसरी विचार र सङ्गीतको सम्मिश्रणसँगै बुधबार बेलुकी नेपथ्य बेनीमा प्रस्तुत भएको छ । गीत र भावको लय समात्दै अमृतले कन्सर्ट अघि बढाइरहँदा त्यसै भूभागको ‘शिरफूल शिरैमा’ गीत तयार पार्दाको प्रसङ्ग पनि सम्झिए । ‘यतैका साथीहरूको सल्लाहअनुसार भाका टिप्न भनेर हामी डेढ दशकअघि उत्तरी रुकुमसम्म पदयात्रामा निस्केका थियौँ,’ उनले सुनाए, ‘भाका सुनाउनेहरू रित्तिसकेका ती गाउँबाट फर्कँदै गर्दा मैले आफैँ गुनगुनाएर यो गीत तयार पारेको हुँ ।’ आफ्ना गाउँठाउँका रोचक बयान सुनेर बेनीका दर्शक हर्षविभोर देखिन्थे । म्याग्दीकै शिखाबाट बिदेसिएकी तारा पुन कन्सर्ट हेर्नकै निम्ति फ्रान्सेली पति एन्टोनीका साथ आएकी थिइन् । ‘पतिले नेपथ्यबाटै नेपाली कार्यक्रमको आनन्द लिऊन् भनेर पोखरादेखि आइपुग्यौँ,’ कन्सर्ट हेरिसकेपछि ताराको प्रतिक्रिया थियो, ‘भाषा नबुझे पनि आवाज र छेउछाउमा उत्साही दर्शकको प्रतिक्रिया देखेरै उनी असाध्यै रमाएकामा खुसी लागिरहेको छ ।’ आफैँले तयार पारेको अमृत गुरुङको चित्र बोकेर विशाल ठकुरी कन्सर्टमा सहभागी थिए । बागलुङको धौलागिरि स्कुलमा कलाकै शिक्षक ठकुरीले यसैका लागि आफू बेनी आइपुगेको बताए । ‘म चित्र कोर्ने बेला नेपथ्यकै गीत बजाउने गर्थें,’ गायक अमृतलाई आफ्नो आदर्श बताउँदै उनले सुनाए, ‘यस्तो जादुमय साङ्गीतिक साँझ अनुभव गर्न पाएकामा आफूलाई भाग्यमानी ठानिरहेको छु ।’ ललितपुरबाट बेनी आएर सेवा प्रदान गरिरहेकी दन्तचिकित्सक सुरुचि प्रधानका लागि यो पहिलो कन्सर्ट अनुभव थियो । ‘स्थानीय भाका, संस्कृति र भाषालाई नेपथ्यले यो रूपमा प्रस्तुत गरेको मलाई असाध्यै मनपर्यो,’ उनी भन्दै थिइन्, ‘एउटा परिपूर्ण कन्सर्ट अनुभव गर्न पाएकामा आनन्द लागिरहेको छ ।’ आफ्नो थलोमा भएको नेपथ्य प्रस्तुतिलाई लिएर बेनीका नगरप्रमुख सुरज केसीले समेत प्रशन्नता व्यक्त गरे । ‘दर्शकको अनुशासित र उत्साहपूर्ण सहभागिताले सिङ्गो बजारकै चहलपहल र रौनक बढायो,’ केसीले भने, ‘यो कन्सर्टले गर्दा निकै टाढादेखिका दर्शक बेनीसँग जोडिए । यहाँको यातायात, पर्यटन र स्थानीय व्यापारमा पनि उत्साहजनक वृद्धि भएको देखियो । हामी नेपथ्यप्रति आभारी छौँ ।’ कन्सर्ट आयोजना गर्न पाएकामा स्थानीय आयोजकले पनि कृतज्ञता प्रकट गरेका छन् । ‘आफ्नो थातथलोमा अत्याधुनिक किसिमको भव्य आयोजना गरौँ भन्ने सोचाइसाथ हामीले नेपथ्यलाई निम्त्याएका थियौँ,’ स्थानीय आयोजक शोभन श्रेष्ठ भन्छन्, ‘मैले सकेसम्मको कोसिस गरेपछि यो परिणाम देख्दा नेपथ्य प्रस्तुतिकै कारण आफूलाई भाग्यमानी महसुस गर्दै छु ।’ कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । अबको कन्सर्ट तनहुँको बेलचौतारामा हुनेछ । यो पाला ग्रामीण तथा मझौला सहरहरूलाई प्राथमिकतामा राखेर गरिएको मुलुक यात्राको यो अन्तिम प्रस्तुति पनि हुनेछ । बेलचौतारामा यही शनिबार ब्यान्डको प्रस्तुति राखिएको छ । भानुभक्त क्याम्पसको मैदानमा आयोजित कन्सर्टका लागि अपराह्न ठीक ४ बजे ढोकाहरू खुला गरिनेछन् ।यो कन्सर्टलगत्तै ब्यान्ड शृङ्खलाबद्ध यात्रा गर्न अस्ट्रेलियातर्फ लाग्नेछ । डिसेम्बर पहिलो साताबाटै उक्त मुलुकमा लोकरक घन्काउने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । अस्ट्रेलियाको यात्रामा यो पाला एडिलेड, मेलबर्न, सिड्नी र पर्थ सहर छनोट गरिएका छन् । पहिलो प्रस्तुति एडिलेडको हिन्डले स्ट्रिट म्युजिक हलमा डिसेम्बर ७ का लागि तय गरिएको छ । नेपथ्यले गत वर्ष पनि त्यसै हलमा आफूलाई प्रस्तुत गरेको थियो ।
लाहुरे परम्पराको गीत सुनाउँदै नेपथ्यले माग्यो युवालाई रोजगारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






