काठमाडौं । एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको यो प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुने भएको छ । एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यस प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण आयोजना मध्येको यो एक खण्ड हो । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइनका रूपमा निर्माण हुनेछ । आयोजना सम्पन्न भएपछि नेपालको विद्युत् प्रसारण सञ्जाल थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले देशभित्र उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहयोग पुर्याउनुका साथै ऊर्जा सुरक्षालाई बलियो बनाउने एमसीए–नेपालको विश्वास छ । नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत्को प्रसारण तथा वितरणका लागि उच्च क्षमताका पूर्वाधार आवश्यक छन् । प्रस्तावित प्रसारण लाइनले विद्युत् प्रवाह क्षमता विस्तार र राष्ट्रिय प्रसारण ग्रिडको सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






