काठमाडौँ। रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब ९ः१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान तथा गोली प्रहारको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






