काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग पराजित भएपछि टोटेनहमले खेलका क्रममा जेयडेन बोगललाई रातो कार्ड नदिएको रेफ्रीको निर्णयविरुद्ध औपचारिक उजुरी गर्ने तयारी गरेको छ । शनिबार भएको खेलको टोटेनहम लिड्ससँग एक शुन्यले पराजित भएको थियो। सो खेलको ७९ औं मिनेमा नोहो ओकाफोरले निर्णायक गोल गरेर लिड्सलाई जित दिलाएका थिए। यता खेलको पहिलो हाफमा लिड्सका डिफेन्डर बोगलले टोटेनहमका फरवार्ड माथिस टेलको गोलीगाँठोमा स्टडले प्रहार गरेका थिए । तर, रेफ्री जोन ब्रुक्सले उक्त घटनामा उनलाई कुनै कारबाही गरेनन् । भिडियो असिस्टेन्ट रेफ्रीले घटनाको विस्तृत समीक्षा गरे पनि रेफ्रीलाई मैदानको छेउमा रहेको मोनिटरमा हेर्न पठाइएको थिएन । त्यसैले बोगल रातो कार्डबाट जोगिएका थिए । टोटेनहमले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै रेफ्रीसम्बन्धी निकाय प्रो रेफसँग स्पष्टीकरण माग्ने भएको छ । पूर्व प्रिमियर लिग सहायक रेफ्री ड्यारेन क्यानले भने बोगल रातो कार्डबाट जोगिनु भाग्यशाली भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार बोगलको ट्याकलले विपक्षी खेलाडीको सुरक्षामा जोखिम पुर्याएकाले त्यो गम्भीर फाउल प्लेको मापदण्डमा पर्छ । उक्त घटनापछि टोटेनहमका खेलाडीको लय र संयम कमजोर बनेको थियो । पहिलो हाफको अन्त्यसम्म खेलमा फर्किन संघर्ष गरेको टोटेनहमले दोस्रो हाफमा पनि घरेलु टोली लिड्सविरुद्ध प्रभाव जमाउन सकेन ।
रेफ्रीको निर्णयविरुद्ध टोटेनहमले औपचारिक उजुरी गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






